एनआईसी एशिया र चन्द्रागिरि नगरपालिकाबीच नवजात शिशुको १८ वर्षे मुद्दती खाता खोल्ने सम्झौता

एनआईसी एशिया र चन्द्रागिरि नगरपालिकाबीच नवजात शिशुको १८ वर्षे मुद्दती खाता खोल्ने सम्झौता

काठमाडौं : चन्द्रागिरि नगरपालिका भित्र जन्मिएका नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्ने गरी चन्द्रागिरि नगरपालिका र एनआईसी एशिया बैंकबीच सम्झौता भएको छ। नगरपालिकाको उक्त कार्यक्रमको बैंकिङ्ग साझेदारको रुपमा एनआईसी एशिया बैंक छनौट भई मुद्दती खाता यस बैंकमा सञ्चालन हुनेगरी नगरपालिका र बैंकबीच सम्झौता भएको हो। 

 सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनिया र चन्द्रागिरि नगरपालिकाको तर्फबाट नगर प्रमुख घनश्याम गिरीले हस्ताक्षर गरे। 

'चन्द्रागिरि नगरपालिकाको निजी उद्यम प्रवर्द्धन, आर्थिक सहायता तथा कार्यक्रम अनुदान सञ्चालन कार्यविधि, २०७८ (संशोधन सहित २०८०) अनुसार नगरपालिकाभित्र मिति २०८० श्रावण १ गते वा सो मिति भन्दा पछि जन्मिएका बालबालिकाहरू १८ वर्ष पुगेपश्चात् परिपक्व हुनेगरी निजहरूलाई आर्थिक सामाजिक सुरक्षा कार्यविधि बमोजिम नगरपालिकाबाट यो सुविधा प्रदान गरिनेछ। नगरपालिकाको कार्यविधि अनुसार यस नगरमा स्थायी बसोबास गर्नुहुने महानुभावहरूका छोराछोरीहरू यो योजनाबाट लाभान्वित हुन सक्नुहुनेछ र यसका लागि जन्मदर्ता अनिवार्य गरिएको छ', बैंकले निकालेको विज्ञप्तिमा उल्लेख छ। 

चन्द्रागिरि नगरपालिकाले सो अवधिपछि नगरमा जन्मिएका नवजात शिशुहरूको ५/५ हजारका दरले प्रत्येक बालबालिकाको नाममा यस  बैंकमा १८ वर्षे मुद्दती निक्षेप खाता खोलिदिनेछ। यस्ता खातामा अभिभावकले चाहेको खण्डमा थप रकम समेत राख्न सक्ने व्यवस्था गरिएको छ। यस योजनामा सामेल हुने ग्राहकको निक्षेपमा बैंकले अधिकतम ब्याजदर प्रदान गर्ने बैंकले जनाएको छ। 

असार १८, २०८१ बुधबार १९:०८:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।