‘आरजु पक्राउ गर्न बुढानीलकण्ठ’मा गरिएको धरपकड असत्य भएको सीआईबीको दाबी, समाचारको सत्यतामा विश्वस्त छौँ : उकेरा

‘आरजु पक्राउ गर्न बुढानीलकण्ठ’मा गरिएको धरपकड असत्य भएको सीआईबीको दाबी, समाचारको सत्यतामा विश्वस्त छौँ : उकेरा

काठमाडौं : प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आरजु राणा देउवालाई पक्रन बुढानीलकण्ठमा धरपकड सम्बन्धि उकेरामा प्रकाशित समाचार असत्य र भ्रामक रहेको दाबी गरेको छ।

बुधबार ब्यूरोका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जारी गरेको विज्ञप्तिमा उकेरा डटकम लगायतका केही अनलाइन मिडिया तथा पत्र पत्रिकाहरूमा आधारहीन तवरबाट समाजमा भ्रम तथा अफवाह फैलाउने हेतुले विगत केही दिनदेखि ब्यूरोबाट विभिन्न व्यक्तिहरूको नाम समेत तोकी पक्राउ गर्न प्रहरी खटि गएको भनि असत्य र भ्रामक सामाग्री प्रकाशित गरेको दाबी गरिएको छ।

नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवालाई सादा पोसाकमा रहेका प्रहरी टोली पक्राउ गर्न गएको र उनी नभेटिएपछि रित्तै फर्किएकोबारे उकेराले मंगलबार समाचार प्रकाशित गरेको थियो।

विज्ञप्तिमा ‘ब्यूरो प्रमुख तथा ब्यूरोका सूचना अधिकारीसँग समेत प्रहरी अनुसन्धान तथा कारबाही सम्बन्धमा भएका सत्यता परीक्षण नगरी आफूखुसी आम जनमानसमा भ्रम सृजना गरी, अराजकता फैलाउने उद्देश्यले कपोकल्पित समाचार बनाई अतिरञ्जित तवरबाट प्रकाशन तथा प्रसारण गरेको’ उल्लेख छ।

(विभिन्न स्रोतबाट प्राप्त जानकारीको पुष्टि गरी प्रकाशित समाचारको सत्यताप्रति उकेरा विश्वस्त छ। केही पाठकले पक्राउका लागि पुर्जी जारी भएको वा नभएको, सभामुखलाई जानकारी दिएको वा नदिएकोबारे समेत जिज्ञासा राख्नुभएको छ। फौजदारी संहिता अनुसार कुनै व्यक्ति भागी जाने लगायतका जोखिम भएको अवस्थामा अदालतबाट पक्राउ अनुमति नलिई आपतकालीन पक्राउ पुर्जी दिएर व्यक्ति पक्राउ गरी पछि अदालतलाई जानकारी दिन सक्ने कानूनी प्रावधान रहेको छ। यसैगरी संसद् सम्बन्धी कानूनमा संसद् बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसमम्मको अवधिभर पक्राउ नगरिने तर फौजदारी अभियोगमा कुनै पनि सदस्यलाई संघीय कानून बमोजिम पक्राउ गर्न भने बाधा पुर्याएको नमानिने उल्लेख छ। कुनै सदस्यलाई पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्ने’ उल्लेख छ। -प्रधान सम्पादक)

सम्बन्धित समाचार

असार १८, २०८१ बुधबार १८:४४:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।