नयाँसँग स्टेजमा प्रतिष्पर्धा गर्न पुराना गीत ब्युताउँदै गायक-गायिका

नयाँसँग स्टेजमा प्रतिष्पर्धा गर्न पुराना गीत ब्युताउँदै गायक-गायिका

काठमाडौं : वर्षौंअघि रेकर्ड भएका कालजयी गीतहरू आजकल रि-रेकर्ड भइरहेका छन्। २० वर्ष अघि आएका देखि ३० को दशकमा रेकर्ड भएका गीतहरूलाई सम्बन्धित कलाकार र उनका सन्तानले अहिले रि-रेकर्ड गर्दै निकाल्ने क्रम बढ्दो छ।

पहिलाका तुलनामा अहिले गीतसंगीत व्यावसायिक भएका छन्। मेला, महोत्सवमा कलाकारको माग छ। उनीहरूलाई आयोजकले लाखौं खर्च गरेर देश विदेशमा बाेलाउँछन्। यसका साथै डिजिटल प्लेटफर्मबाट हुने आम्दानीको हिस्सा अलग्गै छ।

टिकटक र रियालिटी शोबाट उदाएका कलाकारलाई मेला महोत्सव र देश विदेशका कार्यक्रममा भ्याइनभ्याइ हुँदा पुराना संगीतकर्मी ओझेलमा पर्दै गएका छन्। यस्तोमा केही पुराना संगीतकर्मीले आम्दानी र चर्चाको मेलो खोजे, रि-रेकर्ड।

कालजयीदेखि कुनै समय राम्रै चर्चामा रहेका गीतलाई संगीतकर्मीहरूले आफैँ रि-रेकर्ड गरेर महँगो खर्चमा भिडियो समेत बनाउने गरेका छन्। सोही गीतबाट पुन: चर्चा बटुलेर स्टेज चढ्ने दाउमा उनीहरू देखिएका छन्। यद्यपि केहीले भने यसलाई पुराना गीत संरक्षणको नाम दिएका छन्।

पुराना र वरिष्ठ कहलिएका संगीतकर्मीले पनि केही वर्षदेखि आफ्नै गीतहरू रि-रेकर्ड गर्दै आएका छन्।

०००

गत मंसिरमा ‘म त खाँदिन कुवाको पानी..’बोलको गीत पुन रेकर्ड गरेर स्रोतामाझ ल्याइयो। यो कालजयी गीतकी गायिका तीर्थकुमारी थापाले ५० वर्षअघि रेकर्ड गरेकी थिइन्। उनकै स्वरमा गतवर्ष गीतलाई भिडियोसहित सार्वजनिक गरियो।

गीतलाई तीर्थ कुमारीकै छोरा तथा संगीतकर्मी सुरज कुमार थापाले पुनः संगीत-संयोजन गरेर स्रोतामाझ लिएर आएका हुन्। यद्यपि गीत सोचेअनुसार चल्न सकेन।

गायिका थापाले मात्र होइन अर्का गायक तथा सर्जक नवीनकिशोर राईले २०२८ सालमा रेकर्ड भइसकेको गीत ‘टिकुली ट्याक’ गत वर्ष रमेश प्रसाईंको स्वरमा पुनः रेकर्ड गराए। गीतमा राईकै शब्द र संगीत सुन्न सकिन्छ।

उमेरले ८० नाघेका सर्जक राईको स्वास्थ्यमा समस्या आएपछि ३० वर्षदेखि उनले कुनै गीत गाएका छैनन्। आफूले गाउन छाडेको लामो समय भइसकेकाले उनले रमेशलाई गीत गाउन लगाएका हुन्।

यता गायक हिमाल सागरले पनि आफ्नो २१ वर्षअघि चर्चामा आएको गीत ‘न मैले लेखेँ, न उनले लेखिन्’ गीत पुनः रेकर्ड गरी भिडियो बनाएर स्रोतामाझ ल्याए। २१ वर्षअघि चर्चामा आएको यहि गीतमार्फत हिमालले देश तथा विदेशका सांगीतिक कार्यक्रममा पुग्ने अवसर पाए।

बागबजारमा डेरा बस्दा गुनगुनाएको गीतले गायक हिमाल सागरलाई महलमा बस्ने बनायो। वि.सं. २०६० सालमा तयार भएको ‘रिलेसन’ एल्बममा समावेश गीतलाई असार १५ गते नयाँ भर्सनमार्फत स्रोतामाझ ल्याएका हुन्।

उनले पुरानो गीतको भिडियो सहित पत्रकार सम्मेलन गरेर शनिबार जमलस्थित विश्वज्योति सिनेप्लेक्समा गीतको भिडियो सार्वजनिक गरे। केकी अधिकारी र गायक आफैँले अभिनय गरेको भिडियो गीति कथामा तयार पारिएको छ।

मानस केसीको शब्द रहेको गीतलाई योगेश काजी शाहले एरेञ्ज गरेका छन्। पहिला गीतको भाव अनुसार भिडियो बन्न नसकेको भन्दै उनले अहिले आफूले सोचेअनुसारको भिडियो बनाएको बताए।

उनले भने, ‘यो गीतलाई अहिलेको मर्म र भाव अनुसार तयार गरेको छु। पहिलाको भन्दा मेलोडी फास्ट छ, कोरस गायन थपिएको छ, एरेञ्जमा फरक गरेका छौँ, यो अहिलेको प्रविधियुक्त आधुनिक शैलीमा तयार गरिए पनि मिठास भने उही नै छ।’

अर्का गायक प्रमोद निर्वाणले ‘किन यसरी’ बोलको गीतलाई नयाँ भर्सन भन्दै पुनः सार्वजनिक गरेका छन्। ६० को दशमा रेडियोमा खुब बजेको र युवापुस्तामाझ लोकप्रिय गीतमा प्रेमी-प्रेमिकाबीचको विछोडको शब्दहरू समावेश छ।

दुई वर्षअघि नै भिडियोसहित सार्वजनिक गरेको गीतको बारेमा स्रोताले खासै पत्तै पाएनन्। यद्यपि उनले गीतको भिडियोमा बेजोड खर्च गरेका छन्। भिडियोमा उनले सागर लम्साल ‘बले’सँगै शिक्षा संग्रौला, कुशल विष्ट र सन्जिता पाण्डे ‘सानु’लाई अभिनय गराएका छन्।

हिमाल, प्रमोद र तीर्थकुमारीकै पदचाप पछ्याउँदै गायक तथा नायक यस कुमारले पनि आफ्नो गीतको नयाँ भर्सनमा ल्याएका छन्। यश कुमार र सपनाश्रीले २० वर्ष अघि गाएको गीत ‘तिम्रो मन बदलिएछ’ नयाँ स्वरुपमा २ वर्षअघि श्रोता तथा दर्शकमाझ आयो।

नयाँ भर्सनको गीतमा सपनाश्रीको ठाउँमा गायिका मिलन नेवारले स्वर दिएकी छन्। यशकै शब्द तथा संगीत रहेको गीतको भिडियोमा सागर लम्साल, प्रिज्मा-प्रिन्सी खतिवडाले अभिनय गरेका छन्।

आफ्ना पुराना गीतलाई नयाँ भर्सन भन्दै निकाल्ने अर्का कलाकार हुन् नारायण रायामझी। उनले आफ्ना आधा दर्जनभन्दा बढी गीतलाई पुनः रेकर्ड गरेका छन्।

‘के बर मागी फर्क्यौ भन’, ‘विछोडको करौंतीले’, ‘आगो पिएर बाँच्ने’, ‘नमुछे आमा’, ‘उनको प्रिति पहिले हो कि’, ‘लाइछौ बेसन’ लगायतका गीतहरूलाई पुन रेकर्ड गरि भिडियो बनाएर आफ्नै युट्युब च्यानलमा राखेका छन्।

यी, केही प्रतिनिधि पात्र मात्रै भए, यस्ता थुप्रै सर्जकले आफ्नो पुराना गीतलाई रि-रेकर्ड गरेर स्रोतामाझ पस्किएका छन्। यसको प्रभावकारिता कतिको छ त?

स्रोताले स्वीकार्नै नसकेका नयाँ भर्सन
कलाकारहरूले चर्चा र पैसाका लागि पुराना गीतहरूलाई नयाँ भर्सनमा लिएर आए पनि दर्शकको रोजाइमा भने पुरानै गीत पर्ने गरेका छन्। जतिसुकै नयाँ प्रविधि र भर्सन भनिए पनि नयाँ गीतलाई स्रोताहरूले त्यसलाई स्वीकार्न सकेको पाइँदैन।

संगीकार राजु सिंह, दर्शकले नयाँ भर्सन भनेर निकालिएका पुराना गीतलाई भन्दा सोही समयका ओरिजिनल गीतलाई नै मन पराउने बताउँछन्। त्यस्ता गीतहरूले खासै प्रभाव नपारेको उनको भनाइ छ।

उनले भने ‘पहिलाको जस्तो प्रभावकारिता अहिले हुँदै हुँदैन। समयको कुरा आउँछ, प्रविधिको कुरा आउँछ। त्यो बेस परिवर्तन भएको हो। यसमा म के भन्छु भने वल्ड इज गोल्ड नै हो।’

नारायण गोपालका गीतहरू म्युजिक नेपालले नयाँ भर्सनमा भनेर सार्वजनिक गरे पनि स्रोताले पुरानै गीत सुन्ने गरेको उनी बताउँछन्। यद्यपि नयाँ भर्सन भनेर गीत निकाल्दा पुराना गीतहरूबारे नयाँ पुस्ताले थाहा पाउने र त्यसले केही चर्चा समेत पाउने गरेको उनले स्वीकारे।

उनी थप्छन्, ‘पुराना गीतहरू पुरानै रुपमा स्रोताले सुन्न चाहन्छन्। जस्तै ‘असारे महिनामा’ भन्ने गीत प्रशान्त तामाङले गाउँदा त्यो गीत झन पपुलर भयो। तर स्रोताले के गरे भने नयाँ र पुराना दुवै गीत सुने। पुराना गीतहरूलाई पुरानै रुपमा छोड्दा राम्रो हुन्छ जस्तो मलाई लाग्छ।’

पहिला र अहिलेको म्युजिकको ट्रेन्ड नै परिवर्तन भएको संगीतकार राजु बताउँछन्।

‘पहिलाको र अहिलेका म्युजिकको ट्रेन्ड पनि परिवर्तन भएको छ। सुन्नका लागि प्रविधि पनि परिवर्तन भएको छ। पुराना गीत नयाँ भर्सनमा आउँदा केही न केही परिवर्तन भएरै आउँछ, त्यसले पुरानो गीतको अस्तित्व र मिठास मेटिन जान्छ।’

पुरानो गीतलाई ‘नयाँ भर्सन’ भन्दै ल्याउनुको साटो नयाँ सिर्जना गर्न उनी जोड दिन्छन्। पुराना गीतहरूको मिठासलाई नयाँ भर्सनले मेट्न नसक्ने भन्दै कालजयी गीतलाई कालजयी नै रहन दिन उनको सुझाव छ।

असार १८, २०८१ बुधबार १२:०४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।