प्राविधिक काम नसकिएको भन्दै ‘सतीदेवी’ को प्रदर्शन मिति भदौ ७ मा पुग्यो

प्राविधिक काम नसकिएको भन्दै ‘सतीदेवी’ को प्रदर्शन मिति भदौ ७ मा पुग्यो

काठमाडौँ : पत्रकार तथा लेखक लक्ष्मण सुवेदीको निर्देशनमा बनेको फिल्म ‘सतीदेवी’को प्रदर्शन मिति सरेको छ। फिल्मको प्राविधिक काम नसकिएको भन्दै निर्माण टिमले साउन ४ बाट सारेर भदौ ७ गतेलाई प्रदर्शन मिति तोकेको हो। 

फिल्मका निर्माता समेत रहेका सुवेदीले सोमबार एक पोस्टर सार्वजनिक गर्दै आगामी भदौ ७ गतेलाई फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरिएको जानकारी दिए। यता निर्माण कम्पनी दिलासा क्रिएशनले पनि सोमबारै विज्ञप्ति जारी गर्दै केही प्राविधिक कारणले गर्दा फिल्मको प्रदर्शन मिति हेरफेर गरिएको बतायो।

पोस्टर,टिजर,ट्रेलर र गीत समेत रिलिज गरेको फिल्ममा विशाल सुवेदी र श्रीदेवी सुवेदी निर्माता रहेका छन्। फिल्ममा वंश धान्न छोरा चाहिन्छ भन्ने पितृसत्तात्मक सोचको कथालाई प्रस्तुत गरिएको छ। 

फिल्ममा मालिका महत, हर्षिका वली, मन्जिला बानियाँ, सृजना अधिकारी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, मनीषा सापकोटा, भोलाराज सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ। 

दिलासा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको ‘सतीदेवी’मा बाबु श्रेष्ठले छायाङ्कन,दीपक शर्मा र सुवास भुसालको सङ्गीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। 

असार १७, २०८१ मंगलबार २२:५१:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।