प्रधानले एक करोड २५ लाख तिरेर यौन दुर्व्यवहारको मुद्दा मिलाएको प्रमाण सुनुवाइ समितिमा

प्रधानले एक करोड २५ लाख तिरेर यौन दुर्व्यवहारको मुद्दा मिलाएको प्रमाण सुनुवाइ समितिमा

काठमाडौँ : निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानले यौन दुर्व्यवहारको मुद्दामा मिलापत्र गरे बापत एक करोड २५ लाख रकम दिएको प्रमाणसहित संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ।

आयोगको आयुक्तमा उनको नाम सिफारिस भएपछि संसदीय सुनुवाइ समितिले १० दिन समय तोकेर उजुरीको आव्हान गरेको थियो। प्रधानमाथि लागेको आरोप र मिलापत्रको विषयमा उकेराले यस अगाडि नै समाचार प्रकाशित गरिसकेको छ।

सुनुवाइ समिति स्रोतका अनुसार मिलापत्रबाट टुङ्ग्याएको घटनाको पीडितसहित उनी विरुद्ध यौन शोषणदेखि बलात्कारसम्म दाबी गरिएका उजुरी आएका छन्।

समितिको बैठक मङ्गलवार बसेको थियो। सो बैठकले प्रधानविरुद्ध परेको उजुरीहरू समितिका सदस्यहरूलाई अध्ययनका लागि दिएको थियो।

उजुरी र प्राप्त प्रमाणबारे जानकार स्रोतले नेपाल कानुन समाजका कार्यकारी निर्देशकको पदमा रहेका प्रधानले जागिरको प्रलोभन देखाएर यौन शोषण गरेको र पछि धम्क्याएर मिलापत्र गर्न लगाएको देखिएको जानकारी दिए।

दबाबमा मिलापत्र गर्दा प्रधानले ती युवतीलाई एक करोड २५ लाख रकम दिएको प्रमाण समेत उजुरीसँगै समितिमा आइपुगेको देखियो।

समितिमा आइपुगेको प्रमाणमा प्रधानको खाताबाट पीडितलाई २५ लाख र ५०-५० लाख गरेर तीन किस्तामा एक करोड २५ लाख रकम दिएको देखिएको एक सांसदले जानकारी दिए।

सम्बन्धित समाचार

असार १७, २०८१ मंगलबार २०:५१:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।