सानेपामा ओली : कांग्रेस महामन्त्री गगनको हात समातेर आत्मीयता देखाए, विश्वप्रकाशले नमस्कार गर्दा हाँसे मात्र

सानेपामा ओली : कांग्रेस महामन्त्री गगनको हात समातेर आत्मीयता देखाए, विश्वप्रकाशले नमस्कार गर्दा हाँसे मात्र

काठमाडौँ : सोमबार रातभर जागाराम बसेर सत्ता सहयात्राको निर्णय गरेका एमाले अध्यक्ष केपी शर्मा ओली मङ्गलवार गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीमा आयोजित ‘क्रान्ति देखि शान्तिसम्म’ ऐतिहासिक फोटो प्रदर्शनीमा सहभागी हुँदा फरक मुद्रामा देखिए।

हँसिलो देखिएका ओलीसँगै कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका थिए। कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पनि उनलाई स्वागत गर्न लाइनमा थिए।

यी दुवैसँगको जम्काभेटमा ‌ओलीले भिन्न हार्दिकता देखाए। मीन विश्वकर्मासहित रहेका विश्वप्रकाशले नमस्कार गर्दै स्वागत गर्दा ओली बढो मजाले मुस्कुराएका थिए। संसद्मा गिरिबन्धु बगानबारे सबैभन्दा तिखो आलोचना गरेका शर्मा र ‌ओलीको आइकन्ट्याक्ट बढो अर्थपूर्ण देखिएको थियो।

ओलीको आलोचनामा अग्रपङतीमा रहेका अर्का महामन्त्री गगन थापाले उनलाई नमस्कार गर्दा भने बढो हार्दिकता देखाउँदै उनको हातै समातेका थिए ओलीले।

ओली कार्यक्रमस्थलमा जाँदाजाँदै बिचैमा गगनसँग भेट भएको थियो। त्यहीँ उनले ओलीलाई स्वागत गरे। ओलीले बढो आत्मीयता देखाउँदै उनको हात समातेर आफूसँगै हिँडाए।

कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा पार्टी केन्द्रीय कार्यालय ललितपुरमा भएको फोटो प्रदर्शनीमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड पनि सहभागी थिए। कांग्रेससँगको सुविधाजनक गठबन्धन छाडेर एमालेतिर जाँदा धोका पाएको १२ घण्टा पनि नबितेका उनको मुहार उज्यालो हुने कुरै भएन।

उनी कार्यक्रममा सहभागी भएर देउवासँगै बसेका थिए। नजिकै ओली थिए। कार्यक्रम सुरु भएपछि फोटो प्रदर्शनी हेरेर उनी निस्किए। फोटोहरूबारे उनलाई देउवाले समेत ब्रिफ गरेका थिए।

असार १७, २०८१ मंगलबार १९:०६:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।