नेपाली कलाकारले ‘ह्रस्व दीर्घ’मा काम गर्न नमानेपछि भारत गएको नीताको तर्क

नेपाली कलाकारले ‘ह्रस्व दीर्घ’मा काम गर्न नमानेपछि भारत गएको नीताको तर्क

काठमाडौं : अभिनेत्री नीता ढुङ्गाना र हरिहर अधिकारीको निर्माणमा फिल्म ‘ह्रस्व दीर्घ’को छायांकन चलिरहेको छ। महंगो लगानीमा बनिरहेको फिल्ममा अधिकांश कलाकार दक्षिण भारतीय फिल्मका छन्।

सोमबार साँझ ६ बजे सानेपास्थित इन्टरनेशनल क्लबमा पुग्दा फिल्मको धमाधम सुटिङ चलिरहेको थियो। जहाँ नीता र हरिहरको राम्रै दौडधुप थियो।

फिल्मको मुख्य भूमिकामा रहेका भारतीय अभिनेताहरू प्रदीप रावत र सुनिल वर्मा अभिनय गरिरहेका थिए। उनीहरू आफ्नो सिनमा मेहनत गरिरहेका थिए।

फिल्ममा अभिनय गरिरहेका प्रदीप र सुनिलले नेपाली फिल्ममा काम गर्न पाउँदा खुशी लागेको बताए। प्रदीपले आफ्नो तारिफ गरेपछि अभिनेत्री ढुङ्गाना निकै उत्साहित देखिइन्।

सोही क्रममा पत्रकारले नेपाली फिल्ममा यतिधेरै राम्रा कलाकारहरू हुँदाहुँदै भारतीय कलाकार किन राखेको भन्ने प्रश्न गरेका थिए। जवाफमा नेपाली कलाकारहरूले आफूलाई नपत्याएको बताइन्।

‘मैले नेपाली कलाकार नभेटिएर छिमेकी राष्ट्रको कलाकार लिएको होइन। आज जुन भूमिका प्रदीप सर, सुनिल सर र ब्रम्हानन्द सरले गर्नुभएको मैले सोही भूमिकाका लागि धेरै कलाकारहरूलाई आग्रह गरेको हुँ। आ–आफ्नो समस्या, व्यस्तता वा के भो उहाँहरूले गर्नुभएन। मेरो पहिलो प्राथमिकता नेपाली कलाकार नै हो।’

एउटा देशको कलाकारले अर्को देशमा पुगेर अभिनय गरेको थुप्रै उदाहरण रहेको स्मरण गर्दै उनले कलाको कुनै देश र कलाकार नभएको उनले बताइन्।

उनले अगाडि भनिन्, ‘कलाको न आफ्नो देश हुन्छ, न जात हुन्छ। हामी कलाकारहरू जुन ठाउँमा गए पनि जुन भाषा काम गर्न सक्छौँ। बलिउडका धेरै कलाकार हलिउड जानुभएको छ। तेलुगु इन्डिस्ट्री छुट्टै छ, तामिल छुट्टैछ। आफ्नो भाषालाई राखेर पनि उहाँहरूले बलिउडमा जानुभएको छ र बलिउडका कलाकार तेलुगुमा आउनुभएको छ भने हामी किन सानो सोच्ने।’

चन्द्र पन्तले निर्देशन गरिरहेको यो फिल्मको छायांकन करिव दुई वर्षदेखि चलिरहेको छ। फिल्म बन्ने र नबन्ने कुरामा दोधार हुँदा हुँदै अन्ततः फिल्मको अन्तिम चरण्को छायांकन भएको हो। फिल्मका लेखक समेत रहेका हरिहर अधिकारीले फिल्म निर्माणमा निकै कष्ट र सामना गर्नुपरेको भन्दै कलाकारको साथको लागि धन्यवाद दिए।

असार १७, २०८१ मंगलबार १२:४२:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।