कुकुर र बिरालोलाई खुवाउन वार्षिक ३ अर्बको नेपाली छुर्पी विदेश पठाइन्छ

कुकुर र बिरालोलाई खुवाउन वार्षिक ३ अर्बको नेपाली छुर्पी विदेश पठाइन्छ

काठमाडौं : कुकुर र बिरालाहरूको आहारका रुपमा विदेश निर्यात हुँदै आएको नेपाली छुर्पी २७ देशमा पुग्ने गरेको तथ्यांक सार्वजनिक भएको छ। नेपालबाट वार्षिक तीन अर्ब रुपैयाँ भन्दा बढीको छुर्पी निर्यात हुँदै आएको छ।

चालु आर्थिक वर्षको ११ महिनासम्ममा १५ लाख ३७ हजार १८६ किलो २ अर्ब ९७ करोड ७५ लाख रुपैयाँ बराबर छुर्पी निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

नेपाली छुर्पी कुकुर र बिरालोको दानाका रुपमा निर्यात हुने गरेको भन्सार विभागले जनाएको छ। नेपालमा वार्षिक करिब ३६ लाख किलो छुर्पी उत्पादन हुने गरेको नेपाल डेरी एसोसिएसनको दावी छ। 

मुख्यगरी अमेरिका र क्यानडामा निर्यात हुँदै आएकोमा हाल ब्राजिल, क्यानडा, चीन, चेक रिपब्लिक, फिनल्यान्ड, फ्रान्स, ग्रीस, हङकङ, भारत, इटाली, जापान, दक्षिण कोरिया, लेबनान, मलेसिया, नेदरल्यान्ड र न्युजिल्यान्ड लगायतका मुलुकमा नेपाली छुर्पी निकासी भइरहेको विभागले जनाएको छ।

फिलिपिन्स, कतार, सिंगापुर, स्लोभाकिया, ताइवान, थाइल्याण्ड, यूएई, बेलायत, भियतनाम र नामिबियामा पनि चालु आर्थिक वर्षमा उल्लेख्य मात्रामा छुर्पी निर्यात भइरहेको विभागको तथ्यांक छ।

नेपालमा विगत लामो समयदेखि छुर्पी उत्पादन हुँदै आएको छ। छुर्पी बिशेषगरी शेर्पाहरूले चौरी गाईको दूधबाट हिमाली भेगमा बनाउने चलन छ। अन्य गाईको दूधबाट पनि छुर्पी व्यवसायीक रुपमा तयार गर्ने गरिन्छ। दूध बिक्री गर्न गाह्रो हुने स्थानमा र दूध बिक्री नहुने समयमा यसको उत्पादन हुने गरेको छ। 

आन्तरिक र बाहिरी पर्यटकले खानको लागि खरिद गर्ने गरेको छुर्पी नेपालमा कोसेलीका रुपमा पनि चर्चित छ। तर, युरोप अमेरिकामा भने कुकुरको आहाराको रुपमा निर्यात हुने गरेको छ। नेपालमा अधिकांश पहाडी र हिमाली जिल्लामा छुर्पी व्यवसायीक रुपमा उत्पादन गर्ने गरिन्छ। मानिसले उपभोग गरी रहेको छुर्पीमाभन्दा अर्को छुर्पी हड्डी जस्तै कडा हुने र कुकुरले मासुको हड्डी सम्झेर खाने गरेको पाइन्छ। 

मानिसले खाने छुर्पीमा बढी फ्याट हुने र कुकुरले खानेमा कम फ्याट हुने गरेको व्यवयायीहरू बताउँछन्। नेपालको छुर्पीमा अत्यधिक प्रोटिन हुने भएकाले कुकुरका लागि पोषिलो मानिन्छ। कुकुरका लागि उत्पादित छुर्पीमा ६७ देखि ७५ प्रतिशतसम्म प्रोटिन हुन्छ। छुर्पीको एउटा ठूलो टुक्रालाई खाइसक्न कुकुरले कम्तीमा पाँच घण्टा लगाउँछ। छुर्पी पशुको हड्डी जस्तै कडा हुने भएकाले कुकुरले लगातार चपाउने गर्छ। 

सन् २०१३ देखि विदेशमा कुकुरका लागि छुर्पी निर्यात हुन थालेको हो।  

असार १६, २०८१ सोमबार २१:१९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।