सुन तस्करीमा भिआइपीको फाइल बन्द, कृष्णबहादुर र दीपेशलाई सिआइबीको ‘सुनपानी’

सुन तस्करीमा भिआइपीको फाइल बन्द, कृष्णबहादुर र दीपेशलाई सिआइबीको ‘सुनपानी’

काठमाडौँ :  हवाइमार्गबाट भैरहवा पुगेर स्थलमार्गहुँदै कपिलवस्तुको पकडीमा पुगेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई प्रहरीले बाटोमा ब्यारिकेट राखेर अवरोध गर्दै चैत पाँच गते पक्राउ गर्यो।

सुन तस्करीको जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन बुझे लगत्तै गृहमन्त्री रवि लामिछानेले प्रतिवेदनले पुन अनुसन्धान गर्न औँल्याएहरुमाथि छानबिन गर्न निर्देशन दिएको भोलिपल्ट महरा काठमाडौँ बाहिर गएका थिए।

उनी भागेर भारत जान सक्ने शङ्का गरेर केन्द्रले जसरी पनि पक्राउ गर्न निर्देशन दिए अनुसार स्थानीय प्रहरीले घेरेर पक्राउ गरी विमानबाट काठमाडौँ ल्यायो। स्वास्थ्य अवस्थालाई कारण देखाएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा नराखी अस्पताल राखिएका उनलाई अदालतले चार दिन हिरासतमा राख्ने म्याद दिए पनि पछि हाजिर जमानीमा छुटेका थिए उनी।

तीन महिनापछि असार १६ गते उही ब्युरोले सुन तस्करी सम्बन्धी पूरक अनुसन्धान विवरण सार्वजनिक गर्दै महरासँगै सुन तस्करीमा जोडिएका हाइप्रोफाइलहरुको संलग्नता नदेखिएको भन्दै ‘क्लिन चिट दियो’ सोमबार।

पक्राउपर्दा महराको मुड।६० किलो सुन तस्करीको अनुसन्धान सुरु गरेर ३० अर्बको सुन तस्करी भएको निष्कर्ष सुनाएका ब्युरोका प्रमुख एआइजी श्याम ज्ञवालीले पूर्व सभामुख तथा माओवादी उपाध्यक्ष महरासँगै पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा तथा माओवादी विद्यार्थी नेता दीपेश पुनलाई पनि आफैँले सफाइ दिए।

‘हाम्रो अनुसन्धानमा कृष्णबहादुर महरा,दीपेश पुन लगायत कसैको पनि संलग्नता देखिएको छैन,’ उनले भने’ कोही कसैको फोन भएकै आधारमा सुनकै कुरा भएको हो भनेर भन्न मिल्दैन।‘

महरा र पुन सुन तस्करीमा तानिएको पहिलो पटक हैन। यस अगाडि नै भेपमा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न चिनिया नागरिकसँगको शङ्कास्पद सम्बन्ध खुल्दा पनि यी दुवै अनुसन्धानको दायरामा तानिएका थिएनन्। यी दुबैसहित महराका छोरा राहुल महरा समेत भेपको आवरणमा भएको सुन तस्करीमा जोडिएका थिए।

पछि पुन पूरक अनुसन्धानबाट राहुल पक्राउ परेर अहिले पुर्पक्षका लागि थुनामा छन्। उत्तिकै प्रमाण भएका कृष्णबहादुर महराको हकमा भने प्रहरीले प्रमाणै नभएको तर्क गर्नु शङ्कास्पद देखिन्छ।

चिनियाँ  नागरिक दावाजिन वाङको नेतृत्वमा २०८०  साउन २ मा ब्रेक सुमा लुकाएर ल्याइएको ६० किलो ७ सय १६ ग्राम र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको ९ किलो सुन तस्करी दुवै एकै ठाउँमा जोडिएको थियो।

सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग महरा बाबुछोराको पटक–पटक टेलिफोन संवाद भएको सरकारी अनुसन्धानबाटै पुष्टि भएको थियो।  चिनियाँ तस्कर र उसको समूहसँग बाबुछोराले २ सय ५६ पटक फोन सम्पर्क गरेको खुले पनि प्रतिवादी बनेका थिएनन्।

यो जालोमा पूर्व सभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, उनको छोरा राहुल, पूर्व उपराष्ट्रपतिका छोरा दीपेश पुन र परराष्ट्र विज्ञ जीवन गुरुङसमेत जोडिएका थिए। सुन तस्करीमा राहुलको संलग्नताको आधार पनि चिनिया तस्करसँग बाक्लो सम्बन्ध र भन्सारका अधिकारीहरूसँगको भेट नै हो। कृष्णबहादुरको हकमा पनि सुन तस्करीमा संलग्न चिनियाँसँगको बाक्लो फोन सम्बन्ध र भन्सारका अधिकारीलाई फोन गरेर सुन लुकाएको भेप छाड्न दबाब दिएको खुलेकै पक्ष हो।

एकै प्रकृतिको प्रमाणमा छोरा राहुल अभियुक्त बन्दै पुर्पक्षका लागि थुनामा जानु तर बाबु कृष्णबहादुर प्रतिवादी समेत बन्ने प्रमाण नपुग्नु प्रहरीको दाबी आफैँमा विरोधभाषपूर्ण देखिन्छ।

सिआइबीले सुन तस्करीको अनुसन्धान सक्काएर हिजो आइतबारै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा प्रस्तावित राय बुझाइसकेको छ। ब्युरोका अनुसार हालसम्म यो प्रकरणमा २० जना पक्राउ परेका छन्।  २६ जना पक्राउ पर्न बाँकी छ। सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक भएको विवरणमा महरा र पुन प्रतिवादीको सूचीमा छैनन् न त फरार सूचीमै।

सुन तस्करी गर्न पाँच कम्पनीको आवरण

नेपाल विद्युतीय प्राविधिक समाज र त्रिभुवन विश्वविद्यालय, भौतिकशास्त्र केन्द्रीय विभाग, कीर्तिपुर, काठमाडौँ समेतका प्रतिनिधि रहेको विज्ञ टोलीको बनाएको प्रतिवेदन अनुसार अवैध सुन चोरी पैठारीमा संलग्न व्यक्तिहरूले ७ वटा विभिन्न डमी कम्पनी खोलेर ५ वटा डमी कम्पनीबाट विभिन्न इलेकट्रोनिक सामानको आवरणमा भन्सार छलेर सुन भित्र्याउने गरेका थिए।

उनीहरूले ती कम्पनीहरूको आवरणमा कुल ३ हजार १ सय ९४ किलो सुन तस्करी गरेको ब्युरोको दाबी छ। तस्करी गरिएको सुनको बजार मूल्य ३० अर्ब ८२ करोड २२ लाख देखिन्छ।

ती कम्पनीमध्ये भुजेल इलेक्ट्रिक सप्लायर्स प्रालिले १ हजार ३ सय ३ केजी सुन तस्करी गरेर नेपाल ल्याएको देखिन्छ। हावडा इलेक्ट्रिक सप्लायर्स प्रालिले ६ सय ३२ किलो, छुंगाक इलेक्ट्रिक सप्लायर्सले ७ सय १६ किलो, दोलखा इलेकट्रोनिक्स सप्लायर्स प्रालिले १ सय ७ किलो र रेडी ट्रेड प्रालिले ७ किलो सुन तस्करी गरेर नेपाल भित्र्याएको देखिएको ब्युरोको विवरणमा उल्लेख छ।

ब्युरोका अनुसार एकै समूहले ब्रेकसुबाट ३ सय ६२ किलो र इलेक्ट्रोनिक माल वस्तुमा लुकाएर २ हजार ८ सय ३१ किलो सुन नेपालमा तस्करी गरेका थिए।

सुन तस्करीमा तीन देशको कनेक्सन

ब्युरोले सोमबार सार्वजनिक गरेको विवरण अनुसार सुन तस्करीमा नेपाल, भारत र चीनका नागरिकको एकीकृत जालो देखिन्छ। प्रहरीले सोमबार सार्वजनिक गरेका १२ जनामध्ये चार  जना भारतीय र दुई जना चिनियाँ नागरिक छन्।

प्रहरीको अनुसन्धानको निष्कर्षमा चिनिया नागरिक तस्करीको मुख्य योजनाकार देखिएका छन्। नेपाली तस्करीको सुन बजारमा फैलाउन सहयोगी भूमिकामा रहेको र भारतीयहरू खरिदकर्ता देखिन्छन्।

चिनिया नागरिकले नेपालीलाई प्रयोग गरेर तस्करीको सुन ल्याउने र भन्सार नाका कटाउने, गालेर निश्चित आकार बनाउनेमा चिनिया र नेपालीसँगै भारतीय नागरिकहरू समेत देखिएका छन्।

उनीहरूले तस्करीको सुन गाल्न आफ्नै मेसिनको प्रयोग गर्थे नै काठमाडौँमा रहेका सुन गालेर गहना बनाउने कारखानाहरूको समेत प्रयोग गर्ने गरेको खुल्यो। प्रहरीको अनुसन्धानमा सुन गाल्ने दुई समूह सक्रिय देखियो।

टोखा र लाजिम्पाटमा सुन गाल्न चिनियाहरु नै संलग्न देखिए। न्युरोडको सङ्कटा मन्दिर र पाटन टंगाल लगायतका स्थानमा टन्च हाउस तथा रिफाईनेरी सञ्चालन गरेकाहरूले समेत तस्करीको सुन गाल्ने गरेको ब्युरोको विवरणमा उल्लेख छ।

पक्राउ परेकामा २० वर्षका भारतीय नागरिक सिद्धार्थ भन्ने सिद्धनाथ अशोक गायकवाड भारतको महाराष्ट्रका हुन्। उनी काठमाडौँ महानगरपालिका वडा नम्बर २२ मा सुन रिफाइनेरी पसल सञ्चालन गरेर बसेका थिए। उनले तस्करीका सुन खरिद गर्ने र गालेर बिक्री गर्ने काम गर्ने गरेको देखिन्छ।

उनले चिनिया नागरिक स्याम भन्ने जोनचिन च्वानको समूहमा रहेर काम गरेको ब्युरोको दाबी छ। उनलाई प्रहरीले वैशाख २३ मा पक्राउ गरेको थियो। उनको साथबाट १ करोड २३ लाख नगद र डिजिटल तराजु फेला परेको प्रहरीको दाबी छ।

२१ वर्षका अर्का भारतीय नागरिक धिरज दिनेश भोईटे समेत पक्राउ परे। महाराष्ट्रकै उनी सिद्धार्थ भन्ने सिद्धनाथ अशोक गायकवाडको समूहमा काम गर्ने गरेको खुलेको छ।

अर्का भारतीय नागरिक प्रंशात गणेश बजबलकार वैशाख २१ मा पक्राउ परे। उनी टंगाल पाटनमा टन्च हाउसमा तस्करीका सुन खरिद गरेर गालेर बिक्री गर्न सक्रिय थिए। उनीबाट प्रहरीले १० लाख ६४ रुपैयाँ बरामद गरेको देखियो।

अर्का भारतीय नागरिक बैजनाथ ब्रह्मादत्त गोयल पनि पक्राउ परे। विशालबजारमा शक्ति क्रियशनका सञ्चालक रहेका उनी तस्करीका सुन खरिदमा संलग्न रहेको प्रहरीको दाबी छ।

यी भए भारतीय नागरिक। चीन छेङ्दुका राजु भनिने चिनिया नागरिक गुडगा जासी काठमाडौँको बौद्धमा बसेर सुन तस्करीमा संलग्न देखिए।

जेठ १२ मा पक्राउ परेका उनी अवैध सुन खरिद बिक्री तथा क्रिप्टोमा संलग्न देखिए। उनले तस्करीका  सुन सिद्धार्थ भन्ने सिद्धनाथ गायकवाडलाई बेच्ने गरेका थिए।

त्यस्तै तिब्बती मूलका हाल शरणार्थी नागरिक सोनाम गुरुङ भन्ने शेराव ग्याल्मो पनि पक्राउ परे। उनी अवैध सुन खरिद बिक्री गर्ने र क्रिप्टोबाट भुक्तानी गर्न सक्रिय देखिए।

उनीबाट प्रहरीले साढे पाँच केजी सुन र अवैध नेपाली नागरिकता समेत फेला पारेको थियो।

४४ वर्षका थर्कमान लामा भन्ने कान्छा लामा चिनियाँ नागरिकबाट सुन खरिद गरी राजु खत्रीलाई बेच्न संलग्न देखिए।

पर्साका सुरेन्द्रमान श्रेष्ठले शिव कुमार सर्राफको सहयोगीका रूपमा तस्करीका सुन खरिद बिक्री गर्न सक्रिय रहेको र अर्का सुन तस्करीकै आरोपमा पक्राउ परेका बैजनाथ गोयललाई तस्करीका सुन बेच्ने गरेको खुलेको छ।

भक्तपुरका राजु खत्रीलाई प्रहरीले सुमन खरेलसँग संयुक्त रूपमा अवैध सुनको कारोबारमा संलग्न, कान्छा लामा र चिनियाँ नागरिकसँग सुन खरिद गरी प्रशान्त गणेश बजबलकर समेतलाई बिक्री गरेको आरोप लगाएको छ।

त्यस्तै भरतपुरका मुक्तिनाथ सुनचाँदी पसल सञ्चालन गरी बस्ने मनोजराज श्रेष्ठले सिद्धार्थ भन्ने सिद्धनाथ अशोक गायकवाडसँग अवैध सुन खरिद गरी बिक्री गरेको आरोपमा पक्राउ परे।

त्यस्तै पक्राउ परेका  काभ्रेपलान्चोकका रूपक भण्डारी पनि उनै सिद्धनाथको समूहमा सक्रिय रहेको प्रहरी प्रतिवेदनमा उल्लेख छ।

तस्करीको रकम डिजिटल वालेटबाट कारोबार

ब्युरोले यस अगाडिको सुन तस्करीभन्दा फरक तथ्य फेला पार्यो अवैध सुनको भुक्तानीमा वैध डिजिटल वालेटको प्रयोग। तस्कर समूहले भुक्तानीका लागि पेवेल नेपाल प्रालि र सजिलो पेमेन्ट सर्भिस प्रालीको प्रयोग गरेको खुलाउँदै ब्युरोले प्रमाणहरु समेत सार्वजनिक गर्यो।

दुई कम्पनीले स्थापनादेखि हालसम्म १ खर्व २३ अर्बको कारोबार गरेको देखिएकोमा भौचर डिपोजिटबाट ९६ अर्ब बराबरको कारोबार गरेको देखियो। भौचर डिपोजिटको रकम तस्करीको देखिएपछि ब्युरोले सञ्चालक समिति, कर्मचारी र एजेन्ट गरी ८ जनालाई पक्राउ गर्यो।

उनीहरूले अस्ट्रेलिया, दुबई, कोरिया लगायत विदेशबाट रेमिटेन्सको रूपमा पठाएको रकम वैध प्रक्रियाबाट नेपाल नभित्र्याई त्यो पैसा विदेशबाट अन्यत्र स्थानान्तरण गरेर

डिजिटल वालेटबाट कारोबार भएको सुनको रकमको भौचर।अवैध सुन कारोबारबाट प्राप्त पैसा यता नेपालमा भुक्तानी गर्ने गरेको खुल्यो। प्रहरीले प्रमाणको रूपमा कसरी रकम डिपोजिट गर्ने र कसरी बाँड्ने भनेर शिव कुमार सर्राफसँग राजु खत्रीले ह्यवाट्समा गरेको कुराकानी समेत फेला पारेको देखियो।

पिन्टु उपनाम रहेका अभिजित तानाजी मुलिकले सञ्चालन गरेको रिफाईनेरी पसलबाट पेवेल नेपाल प्राइभेट लिमिटेड मार्फत विभिन्न बैङ्क खाताहरूमा रकम जम्मा गर्ने गरेका समेत खुल्यो।

राजु खत्रीको मोबाइल, प्रशान्त गणेश बजबलकरको मोबाइल, धिरज दिनेश बोईटेको मोबाइल र  सिद्धार्थ अशोक गाइकवाड मोबाईलबाट डिजिटल वालेटमा अवैध रकम डिपोजिट हुने गरेका थिए।

 बिना रकम मौज्दात इ-मनी जारी

पेवेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेजले बिना मौज्दात ई मनी समेत जारी गर्ने गरेको ब्युरोले खुलायो।

ई मनी जारी गर्दा पनि नगद मौज्दात त चाहिन्छ नै। तर अवैध सुन  कारोबारबाट प्राप्त तथा स्रोत नखुलेको रकम पेवेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेजको खातामा निक्षेप, रकमान्तर, स्थानान्तरण, भुक्तानी र फर्स्यौट  भएको १ अर्ब बढीको भौचर फेला पारेको छ।

यी दुई कम्पनीले  नेपाल राष्ट्र बैङ्कको स्वीकृति बिना एजेन्ट मार्फत नगद कारोबार गरेको, राष्ट्र बैङ्कलाई गलत विवरण पठाएको समेत ब्युरोले खुलाएको छ।

पेवेल नेपाल प्रालिले  डिपोजिट गरेको बैङ्क भौचर नै भुक्तानीको उपकरणको रूपमा प्रयोग गरेको पाइएको छ ।  त्यस्तै उनीहरूले सेटलमेन्ट खातामा रहेको भन्दा अधिक इ-मनी जारी गरेको पाइएको  ब्युरोका एआइजी श्याम ज्ञवालीले जानकारी दिए।

सुन तस्करीको रकम वैध बनाउन सक्रिय रहेको आरोपमा पेवेलका अध्यक्ष भीमप्रसाद तिमल्सिना, सहायक प्रमुख अधिकृत प्रज्जवल आचार्य र लेखा प्रमुख सुरज शमशेर जबरा पक्राउ परेका छन्।

त्यस्तै सजिलो पेका  फुन्सुक डाग्पा अथुप्छाङ खम्पा (सदस्य), सुशील जाकिबन्जा (सदस्य)  र  काश्यप मानन्धर  (प्रमुख कार्यकारी अधिकृत), एजेन्ट लाल बहादुर कुँवर र अरुण कुमार यादवसहित २० जना पक्राउ परेका छन्।

चिनियाँ तस्करैपिच्छे नेपाली नागरिकता

सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका चिनियाँ र बेल्जियमका नागरिकसँग यस अगाडि पनि नेपाली नागरिकता फेला परेको थियो।

यसअघि ९ चिनियाँ नागरिक पक्राउ परेकामा ६ जनाको साथमा नेपाली नागरिकता र राहदानी भेटिएको थियो।

चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ, ली नेङकाई र लिवइन टी ले नेपाली नागरिकता र राहदानी दुवै लिएको अनुसन्धानबाट खुलेको थियो।

उनीहरूको नागरिकता र राहदानी निष्क्रिय गराउन कानुनी प्रक्रिया अगाडि बढ्यो तर उनीहरूलाई कसले नेपाली नागरिकता र राहदानी बनाइदियो अनुसन्धानमा कसैले चासो देखाएन। सोमबार पनि यस्तै देखियो।

टासी शेर्पा र सोनाम गुरुङ चिनियाँ नागरिक भए पनि उनीहरूसँग नेपाली नागरिकता र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) फेला पर्यो।

२०३६ को जन्ममिति राखेर टासीले काठमाडौँबाटै ८३७९ नम्बरको नागरिकता लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनको साथबाट २०५८ साल साउनमा लिएको नेपाली सवारी अनुमतिपत्रसमेत छ।

अनुसन्धानका क्रममा उनको साथबाट सिचुवानबाट जारी भएको चिनियाँ राहदानी फेला परेको थियो। सन् २०१५ मा चिनियाँ राहदानी लिएका टासीले नेपालमा भने आङनोर्बु शेर्पाको नाममा नक्कली बाबु खडा गरेर नेपाली नागरिकता लिएको देखिन्छ।

सुन तस्करीकै अर्का आरोपी सोनाम गुरुङका साथबाट पनि नेपाली नागरिकता बरामद भएको छ। ६ किलो सुनसहित पक्राउ परेका सोनाम पनि चिनियाँ नागरिक हुन्। तर उनले मुस्ताङबाट ४८-०१-६९-०३४६२ नम्बरको नागरिकता लिएका छन्। 

यो पनि 

असार १६, २०८१ सोमबार २०:२१:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।