पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा जोशी नियुक्त

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा जोशी नियुक्त

काठमाडौं : पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाष चन्द्र जोशी नियुक्त भएका छन्। 

सोमबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हित बहादुर तामाङको अध्यक्षतामा बसेको पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को बैठकले जोशीलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो। 

शिक्षा क्षेत्रको नेतृत्वदायी भुमिकामा रहेर झन्डै दुई दशकको अनुभव बटुलेका जोशीले आजै सपथ लिएका छन्। 

नवनियुक्त कार्यकारी निर्देशक जोशीले पछिल्लो कार्यविधि अनुसार आफू छनौट हुन सफल भएको भन्दै आफूले अब सबै पक्षसँग समन्वय गरेर आफूले सिकेका, जानेका कुराहरू अनुसार त्यहाँको बस्तुस्थिति अनुसार अगाडि बढ्ने प्रतिवद्धता जनाए। 

पछिल्लो समय पशुपति विकास कोशको कार्यकारी निर्देशक नियुक्ति प्रक्रियालाई लिएर आलोचना हुने गरेकोमा यो पटक मन्त्री तामाङको निर्देशनमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गरिएको हो। केही समयदेखि रिक्त रहेको कार्यकारी निर्देशक पदमा यहीँ जेठ २३ गते  कोषको कार्यकारी निर्देशकमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्नेगरी कोशले आवेदन माग गरेको थियो। 

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकको पद नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी वा सचिव सरहको पद हो। 

असार १६, २०८१ सोमबार १९:४८:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।