सरकार ढल्ने पीरले आत्तिएका प्रचण्डले मन्त्रीहरूलाई भने- सरकार केही हुँदैन, हल्लाहरू सत्य होइनन्

सरकार ढल्ने पीरले आत्तिएका प्रचण्डले मन्त्रीहरूलाई भने- सरकार केही हुँदैन, हल्लाहरू सत्य होइनन्

काठमाडौं : गएको शनिबार एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा छट्पटाहट यथावत् छ। ओली-देउवाको भेटवार्तापछि तुरुन्त ओलीलाई टेलिफोन गरेर भेटबारे ब्रिफिङ लिएका प्रधानमन्त्री प्रचण्डको मनमा शान्ति छैन। 

भोलिपल्ट नै प्रधानमन्त्री प्रचण्डले ओलीसँग छलफल गरे। त्यस छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सहभागी थिए। त्यसपछि पनि प्रचण्डले सोमबार बिहान फेरि ओलीसँग २ घण्टा लामो भेट गरे। आफ्नो सरकार ढल्ने पीरले भित्रभित्रै गलिसकेका प्रचण्डले सार्वजनिक रूपमा भने केही नभएकोजस्तो अभिव्यक्ति दिइरहेका छन्। 

सोमबारको मन्त्रिपरिषद बैठकमा पनि उनले आफ्ना मन्त्रीहरूलाई ढुक्क हुन आग्रह गरे। सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार प्रधानमन्त्रीले आजको मन्त्रिपरिषदमा अहिलेको सहकार्य लामै समय जाने ब्रिफिङ गरे।

‘सत्ता परिवर्तनको छलफल केही भएको छैन। प्रधानमन्त्रीले केही ब्रिफिङ गर्नुभयो। बाहिर आएका कुरा र यथार्थ कुरा के हो भन्ने विषयमा ब्रिफिङ गर्नुभयो। असमझदारी भए भन्ने जुन खालको हल्ला भए त्यस्तो छैन। यही गठबन्धन लामै समय जाने उहाँले जानकारी दिनुभयो। सरकार तलमाथि हुने जुन भ्रम सिर्जना भएको छ। त्यस्तो केही होइन’, प्रवक्ता शर्माले भनिन्। 

मन्त्री शर्माले एमाले अध्यक्ष ओली र प्रधानमन्त्रीबीच राष्ट्रिय सहमतिको सरकार गठन गर्न भनेर गरिएको प्रचारमा समेत सत्यता नभएको बताइन्।  

असार १६, २०८१ सोमबार १९:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।