फिल्मसिटीको गेट देखाएर चलचित्र विकास बोर्डले मनायो २४औं वार्षिकोत्सव

फिल्मसिटीको गेट देखाएर चलचित्र विकास बोर्डले मनायो २४औं वार्षिकोत्सव

काठमाडौं : नेपाललाई अन्तर्राष्ट्रिय छायांकनको थलोको रुपमा चिनाउन दोलखामा फिल्म सिटी निर्माण गर्ने चर्चा चलेको सात वर्ष भयो।

नेपाली चलचित्रको छायांकन र अन्तर्राष्ट्रिय फिल्कमेकरलाई आकर्षण गर्न भन्दै फिल्म सिटीको घोषणा गरिए पनि गेट बनाउने बाहेक अन्य काम भएको छैन। पूरा काम सकिँदा १४ सय करोड लागत लाग्ने चलचित्र विकास बोर्डको अनुमान छ।

फिल्म सिटी निर्माणलाई बोर्डले प्राथमिकतामा राखे पनि मन्त्रालयले बजेट नदिँदा अलपत्र पर्दै आएको छ। बजेट नआउँदा फिल्म सिटीको संयोजक तोकिएका मदनदास श्रेष्ठले दिक्क भइसके। केही समयअघि कुरासँगको कुराकानीको क्रममा उनले आफ्नो पालाम फिल्म सिटी बन्ने आशा नरहेको बताएका थिए।

संयोजक तोकिएका श्रेष्ठले समेत आश मारिसकेको फिल्म सिटीलाई अगाडी बढाउन भन्दै आइतबार चलचित्र विकास बोर्डको २४औं वार्षिकोत्सवमा बोर्डले अहिलेसम्मको कार्यप्रगति भन्दै प्रवेशद्वार देखायो। सात वर्षको प्रगति भन्दै बोर्डले गेट र केही कच्ची सडकको भिडियो देखाउँदा हलमा खासखुस चलेको थियो।

सोही अवसरमा फिल्मकर्मीलाई बधाई दिनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा निर्धारित समयभन्दा एक घण्टा ढिला बोर्डको कार्यालय पुगिन्। बोर्डका उत्कृष्ट कर्मचारीलाई पुरस्कार वितरणपछि आफ्नो भनाइ राखेकी उनले फिल्म क्षेत्रको उत्थानका लागि सामुहिक चिन्ता व्यक्त गर्दै समाधानका लागि पहल गरिरहेको बताइन्।

उनले थपिन्, ‘तपाईंहरूसँग धेरै पटक भेट भएको छ। छलफल भएको छ। कसरी अगाडि बढ्ने भन्ने विषयमा हामीले सामुहिक चिन्ता पनि गरेका छौँ र समाधानको निम्ती हामीले प्रयत्न गरेका छौँ।’

प्रमुख अतिथि शर्माले बोलेपछि बोलेका बोर्ड अध्यक्ष भुवन केसीले देखिने गरी काम गर्न नसकिएको स्वीकार्दै आफूले गरेका केही कामको फेहरिस्त सुनाए।

असार १६, २०८१ सोमबार १३:०७:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।