कल्कीको क्रेजले नेपाली फिल्मको व्यापार चौपट

कल्कीको क्रेजले नेपाली फिल्मको व्यापार चौपट

काठमाडौँ : मिश्रित प्रतिक्रिया पाइरहेको फिल्म कल्कीको क्रेजले नेपाली फिल्मको शो सङ्ख्या निकै खुम्चियो। 

कल्कीको भयले शुक्रवार नयाँ नेपाली फिल्म नै रिलिज भएनन्। हलमा अहिले नेपाली फिल्म दान्भी, बाटो, गाउँ आएको बाटो, फर्की फर्की अनि पुजार सार्की चलिरहेका छन्। गाउँ आएको बाटो बाहेक अन्यको अवस्था नाजुक छ।

रिलिज भएदेखि नै कमजोर ओपनिङ गरेको दान्भीको व्यापार त चौपटै भयो। पूजा शर्माले पुरानै सूत्र रोइदिने प्रयोग गरे पनि यो पटक दर्शकको मन नपग्लिँदा फिल्म फ्लप भयो। अहिले असार ७ मा रिलिज भएको दान्भी अहिले नेपालगन्जमा एक शोको भरमा हलबाट उत्रिन जोगिएर बसेको छ।

क्राइम सस्पेन्स थ्रिलर जनारामा प्रशंसा पाएको फिल्म बाटो पनि रिलिजको दिनदेखि नै सुस्त सुस्त चलिरहेको थियो।

फिल्म हेरेका दर्शकहरूको सकारात्मक प्रतिक्रियाले हलमा शो सङ्ख्या बढिरहेको बेलामा कल्कीको क्रेजको बाढीमा पर्दा यो पनि एक शोमा हलमा अड्किएको छ। यो रञ्जनामा एक शो चलिरहेको छ।

जेठ २५ मा रिलिज भएको गाउँ आएको बाटो नौ शोसहित हलमा टिकिरहेको छ। कमजोर फिल्म भए पनि नवीन सुब्बाको गुड्विलले प्रशंसा पाएको फिल्मले धरान, भक्तपुर र काठमाडौँका हलमा नौ सो पाएको छ।

निर्माताको अराजक व्यवहारले रिलिज लगत्तै विवादमा परेको फिल्म फर्की फर्की र प्रदीप खड्काको अभिनयको प्रशंसा भएको फिल्म पुजार सार्की एकै दिन रिलिज भए। व्यापारिक रूपमा फर्की फर्कीको तुलनामा पुजार सार्की सफल भयो। कार्यक्रम सञ्चालकलाई पारिश्रमिक नदिने, समीक्षा प्रकाशित गर्दा धम्क्याउने निर्माताको शैलीले अनमोल केसीको मिहेनतपछि पनि फर्की फर्कीले आशा अनुसार व्यापार गर्न सकेन। 

जेठ १० मा रिलिज भएको फर्की फर्कीलाई रञ्जनाले एक शो दिएर हलबाट उत्रिनबाट जोगाइरहेको छ। उता पुजार सार्की पनि रञ्जनामा एक शो बोकेर जोगिइरहेको छ।

थ्रिडी भर्सन र नर्मल भर्सनमा रिलिज भएको कल्लीको दुवै क्याटोगरीमा टन्न शो दिएका छन् हल सञ्चालकहरूले।

नर्मल क्टोगरीको कल्कीले ७० माथिको शो पाएको छ। थ्रिडीले एक सय ८० बढी शो सङ्ख्या पाइरहेको छ।

दर्शकहरूबाट कल्कीबारे मिश्रित प्रतिक्रिया आइरहेको छ। पहिलो हाफसम्म धान्न गाह्रो र दोस्रो हाफ केही सुधारिएको फिल्मको नेपालमा दर्शकमाझ उत्सुकता भने देखिन्छ।

असार १६, २०८१ सोमबार १२:०२:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।