भारतबाट ल्याइएको थियो बेचन र प्रतीक, एउटालाई सात दिन म्याद, अर्कोको सोमबारबाट थुनछेक

भारतबाट ल्याइएको थियो बेचन र प्रतीक, एउटालाई सात दिन म्याद, अर्कोको सोमबारबाट थुनछेक

काठमाडौँ : नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभनमा ठगी गरेको अभियोगमा फरार रहेका भारतीय नागरिक बेचन झा अनि पूर्व गृहमन्त्री तथा एमाले नेता रामबहादुर थापा बादलका छोरा प्रतीक थापा दुबैलाई प्रहरीले काठमाडौँभित्र पक्राउ गरेको दाबी गर्यो।

डेढ वर्षदेखि अनुसन्धान भइरहेको यो मुद्दामा प्रतीक प्रतिवादी बनिसकेका थिए भने बेचनको संलग्नता मुद्दा बुझाउने अन्तिम समयमा खुलेपछि उनी प्रतिवादी बनेनन्। प्रहरीले यी दुबैलाई एकै समय पारेर पक्राउ गर्दा केहीले संयोग भएको दाबी गरेका छन्।

तर उकेराले प्राप्त गरेको सूचनामा प्रतीक र बेचन दुवै भारतमा लुकेर बसेको र भारतीय सुरक्षा निकायको सहयोगमा पक्राउ गरेर नेपाल ल्याएको खुल्यो। नक्कली शरणार्थीमा नाम खुले लगत्तै यी दुवै सीमा कटेर भारत पुगेका थिए। भारतका विभिन्न शहर बदल्दै बसेका उनीहरूबारे प्रहरीको विशेष टिमले जानकारी पाएपछि भारतीय समकक्षीसँग सहयोग मागिएको थियो।

भारतमा पक्राउ गरेर नेपाल ल्याएको खुल्दा विवाद हुनसक्ने देखिएपछि प्रहरीले दुबैका हकमा पक्राउ स्थान नेपाल बतायो जुन असम्भव छ। कपनमा पक्राउ परेको दाबी गरिएका प्रतीकसँग प्रहरीको साटो सिधै अदालतमा गएर सरेन्डर गर्ने कानुनी बाटो खुल्ला थियो। बेचनको हकमा पक्राउ परेका बखत पूरक अभियोग पत्र पेश गर्ने भनिएकाले पक्राउ अनिवार्य थियो।

प्रतीकको हकमा नक्कली भुटानी शरणार्थी बनाउने समूहलाई सहजीकरण गरेर आफ्नी आमासम्म पैसा पूर्याएको आरोप लागेको थियो। यो प्रकरणमा प्रतीकको आमा नैनकला समेत प्रत्यक्ष जोडिए पनि उनी भने पक्राउ परेकी छैनन्।

रामबहादुर थापा गृहमन्त्रीहुँदा प्रतीक उनको स्वकीय सचिव थिए। केशव दुलालले बयानमा प्रतीकको निर्देशन अनुसार मन्त्री क्वार्टरमै गएर नैनकलालाई एक करोड बुझाएको र प्रतीकसँग निलगिरी थकाली रेस्टुरेन्टमा भेटेको खुलाएका थिए। दुलाल अहिले पुर्पक्षका लागि कारागारमै छन्। दुलालको बयानमा रामबहादुर थापा समेत जोडिएका छन्।

सानु भण्डारीको बयानमा समेत प्रतीक पोलिएका छन्। पैसा बुझाएपछि प्रतीकले आमालाई फोन गरेर पैसा पाए-नपाएकोबारे सोधेर पैसा पाएको पक्का भएपछि काम हुने आश्वासन दिएको खुलाएका थिए।

'अनुसन्धानमा नखुलेकाहरूलाई अनुसन्धानमा ल्याउन झाबाट महत्त्वपूर्ण सूचना आउन सक्छ,' अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले उकेरासँग भने'तर उनको स्वभाव र सम्पर्क जालो हेर्दा त्यति आशावादी हुने ठाउँ देखिन्न।'

मुद्दा बुझाउने अन्तिम समयतिर नाम खुलेका बेचनले विशेष गरेर नेपाली कांग्रेसका प्रभावशाली नेताहरूमार्फत नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने खेलमा लागेकाहरूको योजनामा सहजीकरण गरेको आरोप लाग्ने गरेको छ।

झाको सम्बन्ध धरौटीमा छुटेका पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण र तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसँग देखिन्छ। गिरोहका सदस्यहरूलाई खाँण र पाण्डेको सम्पर्कमा पूर्याउने मुख्य व्यक्ति नै झा देखिन्छन्।

पाण्डेले त बयानमा ‘राजनीतिक रूपमा सम्पर्कमा आएका बेचन झासँग बयान लिएपछि यस विषयमा थप गहिराइमा पुग्न सकिन्छ ’ भनेर दाबी नै गरेका थिए। बयानबाट नेपाली नागरिकलाई नक्कली भुटानी बनाउन सघाए बापत झालाई दुई करोड दिएको चेकको फोटो सबैभन्दा बलियो प्रमाण हो।

जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका झामाथि अनुसन्धानका लागि न्यायिक हिरासतमा राख्न आइतबार मात्र प्रहरीले जिल्ला अदालत काठमाडौँमा पेश गरेको थियो। अदालतबाट पहिलो चरणमा सात दिनको म्याद आइसकेको छ।

यस अगाडि पक्राउ परेकाहरूको बयान अनि पहिल्यै फेला परेको चेकको तस्बिरको आधारमा झालाई प्रतिवादी बनाउन सकिने प्रारम्भिक प्रमाण पहिल्यै छ। उनीबाट उच्च तहमा रहेका नेतृत्वसम्म पुग्न सकिने सम्भावना भने त्यति बलियो देखिन्न।

'अनुसन्धानमा नखुलेकाहरूलाई अनुसन्धानमा ल्याउन झाबाट महत्त्वपूर्ण सूचना आउन सक्छ,' अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले उकेरासँग भने'तर उनको स्वभाव र सम्पर्क जालो हेर्दा त्यति आशावादी हुने ठाउँ देखिन्न।'

असार १५, २०८१ आइतबार १९:४९:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।