देउवासँगको भेटपछि बदलियो ओलीको टोन, प्रधानमन्त्रीलाई भने 'परिस्थितिलाई विचार गरेर अघि बढ्नु’

देउवासँगको भेटपछि बदलियो ओलीको टोन, प्रधानमन्त्रीलाई भने 'परिस्थितिलाई विचार गरेर अघि बढ्नु’

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री कार्यालय सिंहदरबारमा लामो छलफल गरेका एमालेका अध्यक्ष केपी ओलीले परिस्थितिलाई विचार गरेर अघि बढ्न प्रधानमन्त्रीलाई आग्रह गरेको बताए।

शनिवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग दुई घण्टा बढि छलफल गरेका उनले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर छलफल गरेका थिए।

आइतबार पार्टीको कृषि तथा सहकारी विभागले गरेको नीति संवाद कार्यक्रममा उनले प्रधानमन्त्री प्रचण्डसँगको भेटमा भएको छलफलबारे खुलाउँदै प्रधानमन्त्री प्रचण्डलाई सानातिना नियुक्तिहरूमा नअल्झिन भनेको बताए।

 ‘मैले प्रधानमन्त्रीज्यूलाई हामी सानातिना नियुक्ति सरुवा बढुवातिर अल्झियौँ। पोलिसी म्याटरमा छलफलमा जाऊँ भनेको छु। कुन क्षेत्रमा कस्ता सुधार ? कस्ता नीति र कस्ता कदम लिन आवश्यक छ, त्यसमा छलफल गरौँ’ उनले भने।

यथास्थितिमा देश अगाडि जानसक्ने अवस्था नरहेको र यथास्थितिमा देश अघि बढ्छ भन्नु जिद्दी मात्र हुने उनले बताए।

कांग्रेस सभापति देउवा र ओलीबीच सत्ता सहकार्यसँगै संविधान संशोधन गरेर निर्वाचन प्रणालीमा सुधार, २०८४ को निर्वाचनमा माओवादी केन्द्रसँग गठबन्धन नगर्ने र आलोपालो प्रधानमन्त्री बन्नेबारे छलफल भएको सार्वजनिक भए पनि आधिकारिक रूपमा दुवै दलका नेताहरूले छलफलको विषयबारे खुलाएका छैनन्।

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच पनि दुई घण्टा लामो छलफल भएको थियो। दुवै नेताहरूसँगको छलफललाई टिआरसी विधेयकको विषयमा लगेर जोडिएको छ। तर छलफल सत्ता समीकरण फेरबदलमा केन्द्रित भएको देखिन्छ।

ओलीसँगको भेटमा भएको छलफलबारे छलफल गर्न देउवाले सोमबार पार्टीका पूर्व र वर्तमान पदाधिकारीहरूको बैठक समेत बोलाएकाले ओली-देउवा अनि ओली-प्रचण्डबीचको छलफल टिआरसी र सरकार सञ्चालनमा सुधारमा मात्र केन्द्रित हैन भन्ने देखाउँछ नै।

पछिल्लो समय सरकारले गरेको राजदूत सिफारिस समेत विवादमा परेको छ। एमालेको कोटामा दक्षिण कोरियाका लागि सिफारिस सुशील प्याकुरेलले राजदूत पद अस्वीकार गरेका छन्। राजदूतमा सिफारिस अन्य समेत विवादमा आएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो कोटामा परेको दुई राजदूतमा नियुक्ति गर्न नाम सिफारिस गर्न सकेको छैन।

असार १५, २०८१ आइतबार १८:२५:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।