अपूरो संविधान बन्नुको दोषी को? बाबुरामलाई लाग्छ- माओवादी सरकार

अपूरो संविधान बन्नुको दोषी को? बाबुरामलाई लाग्छ- माओवादी सरकार

काठमाडौं : नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले तत्कालीन माओवादी सरकारले संविधान बनाउन नसक्दा संविधान अपूरो भएको बताएका छन्। 

शनिबार एन्टिथेसिस पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले अपूरो संविधान बनेकै कारण कार्यान्वयनमा जटिलता आएको बताए। 

उनले भने, ‘माओवादीले संविधान बनाउन पाएको भए योभन्दा राम्रो बन्थ्यो। तत्कालीन माओवादी सरकारले संविधान निर्माण गर्न नसक्दा संविधान अपूरा बन्यो। अपूरो संविधान छ। संविधान अनुसारका कानून बनेका छैनन्।’

अपूरो संविधान बनेकै कारण पर्याप्त कानून बनाउन नसकिएको उनको भनाइ छ। उनले कम्युनिष्ट पार्टीहरूले लामो समय सरकार चलाएको भएपनि परराष्ट्र नीति र शिक्षा नीति बनाउन नसकेको आरोप लगाए। 

उनले भने, ‘हामीले परराष्ट्र नीति परिवर्तन गर्न सकेका छैनौं। शिक्षा नीति बनिसकेको छैन। त्यसो हुँदा संविधान कार्यान्वयन गर्न सकिरहेको छैन। आर्थिकका सवालमा खुला सिमाना भएको भारतसँग कुरै गर्दैनौं, उद्योगधन्दाहरू उहिल्यै चौपट भइसकेका छन्। पहिले उद्योग क्षेत्र मर्यो, अहिले कृषि क्षेत्र चौपट हुँदैछ। त्यसैले अहिले युवाहरू पलायन भइरहेका छन्। अनि सरकारले यो देशमा यति कर्मचारी पठाए भनेर समाचार छाप्न लगाउँछ। यही हो बामपन्थी सरकार, यही हो माओवादी सरकार?’ 

संविधान निर्माणताका माओवादी पार्टीमै रहेका भट्टराईले संविधान बनिसकेपछि 'यो संविधान अधुरो छ' भन्दै माओवादी परित्याग गरेका थिए।  

असार १४, २०८१ शनिबार १९:४८:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।