बाढी र पहिरोमा परी २४ घन्टामा ९ जनाको मृत्यु : कतै आमा-छोराले ज्यान गुमाए, कतै सिंगो परिवार गुम्यो

बाढी र पहिरोमा परी २४ घन्टामा ९ जनाको मृत्यु : कतै आमा-छोराले ज्यान गुमाए, कतै सिंगो परिवार गुम्यो
तस्बिरमा गुल्मीको पहिरो !

काठमाडौं : अविरल वर्षासँगै तराईमा बाढी र पहाडमा पहिरोको कहर सुरू भएको छ। बाढी र पहिरोको कारण बितेको २४ घण्टामा मात्र नौ जनाको मृत्यु भएको छ भने सयौं  विस्थापित भएका छन्। 

अविरल वर्षाका कारण गुल्मीको मालिका गाउँपालिका–६ कडेलपाटा बस्ने ५५ वर्षीय भेष बहादुर कामीको घर गएराति माथिबाट ढुङ्गा, माटोसहितको पहिरो आई पुरिँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ। 

पहिरोमा पुरिएर भेष बहादुर कामी, उनकै श्रीमती ४८ वर्षीया सुन्तली कामी, बुहारी २६ वर्षीया सिता बिक, नातिनीहरू ८ वर्षीया सपना बिक र ८ महिनाको बिपना बिकको मृत्यु भएको हो। 

पहिरोले घर पुरिँदा ५ जना बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी ईश्माबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा उद्दार एवम् खोजी गर्ने क्रममा उनीहरूको शव फेला परेको हो।

स्याङजामा अविरल वर्षाको कारण फेदीखोला गाउँपालिका–५ बाँगे बस्ने दुर्गा जिटीको घर र गोठ पहिरोले पुरिँदा एकै परिवारका आमा छोरीको शुक्रबार राति मृत्यु भएको छ। पहिरोले पुरिएर घरमा सुतिरहेकी ३१ वर्षीया दुर्गा जिटी र उनकै छोरी ३ वर्षीया निसिका जिटीको घटनास्थलमै मृत्यु भएको हो। 

त्यस्तै,  अविरल वर्षाको कारण बागलुङको गल्कोट नगरपालिका–८ बिसौना बस्ने ५५ वर्षीय प्रेम बिकको घर पहिरोले पुरिँदा बिक र उनकै श्रीमती ५० वर्षीया बसन्ती बिकको शनिबार बिहान मृत्यु भएको छ। 

पहिरोले घर पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हटिया र इलाका प्रहरी कार्यालय गल्कोटबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा दुवै जनाको शव फेला परेको हो। 

पहिरो गएका स्थानमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

असार १४, २०८१ शनिबार १९:०६:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।