फिल्म क्षेत्रमा नयाँ कलाकारको बाढी : डेब्युमा हतार, अभिनय लतरपतर

फिल्म क्षेत्रमा नयाँ कलाकारको बाढी : डेब्युमा हतार, अभिनय लतरपतर

काठमाडौं : एक दशकअघि नेपाली फिल्म क्षेत्रमा न्यून कलाकारले अवसर पाउँथे। राजेश हमाल, भुवन केसी, निखिल उप्रेती, बिराज भट्टको रजगज थियो। अन्य कलाकार फिल्म क्षेत्रमा प्रवेश गर्न र अवसर पाउनै मुस्किल थियो।

प्रवेश पाएका केही कलाकारहरूले पनि अडिसनबाट पास भएपछि मात्र फिल्ममा अभिनय गर्न पाउँथे। बडो माथापच्चीपछि मात्र निर्माताले नव कलाकारलाई ‘ओके’ गर्थे। लगानीको जोखिम मोल्न नचाहेका कारण निर्माताहरूले नयाँ कलाकारलाई खासै विश्वास नै गर्दैनथे।

त्यतिबेला साँघुरो रहेको नेपाली फिल्म क्षेत्रको द्वार अहिले फराकिलो बन्दै गएको छ। नयाँ कलाकार र फिल्ममेकर आउने क्रम बढेको छ। 

कुनै समय वर्षमा २/४ वटा मात्र फिल्म बन्ने नेपाली फिल्म क्षेत्रमा अहिले एकै दिन चारवटा सम्म नेपाली फिल्म रिलिज भइरहेका छन्। यसले पनि कलाकार र फिल्मकर्मीको उदयलाई पुष्टि गर्छ नै।

नायिकाहरूको उदय
एक वर्ष यताको आँकडा हेर्ने हो भने फिल्मको संख्या जस्तै नयाँ कलाकार पनि टन्नै भित्रिएका छन्। अभिनेता तथा अभिनेत्रीका अलावा बाल कलाकारको संख्या बढेको छ।

अघिल्लो वर्ष प्रदर्शनमा आएको फिल्म ‘बगान’मार्फत प्रमिला कार्कीको अभिनेत्रीमा डेब्यू भयो। गत वर्ष असार २९ गतेबाट प्रदर्शनमा आएको फिल्ममा उनको अभिनयलाई अधिकांश समीक्षकले ठिकै माने। अभिनयमा निखारता नआउँदा फिल्ममा पनि त्यसको अभाव देखिन्थ्यो।समीक्षकहरूले उनलाई ‘सम्भावना बोकेकी अभिनेत्री’ भन्न सकेनन्।

पहिलो फिल्मकै अभिनय खास नभएपछि अमेरिमा भासिइन् उनी। उतै बसेर अध्ययन गरिरहेकी उनको दोस्रो फिल्मको सम्भावना कम देखिन्छ।

फिल्म ‘दुई कदम’बाट डेब्यु गरेकी सिमोन गिरीको अवस्था पनि उस्तै देखियो। गत मंसिर २९ गते प्रदर्शनमा आएको फिल्म कतिबेला लाग्यो,कतिबेला उत्रियो दर्शकले पत्तै पाएनन्।

फिल्ममा गिरीको अभिनय नोटिस गर्न लाएक थिएन। अबका दिनमा उनको मेहनत कतिको हुन्छ, त्यसले नै उनको आगामी करिअर निर्धारण गर्छ।

गत वर्ष पुस २७ गते प्रदर्शनमा आएको फिल्म ‘पर्खी बसे तिमीलाई’बाट रक्षा बुढाथोकीले नेपाली फिल्म क्षेत्रमा डेब्यु गरिन्। तर उनको अभिनयमा दम देखिएन। ट्रेलरमै कमजोर देखिएको फिल्म हेर्न दर्शकले गोजीको पैसा खर्च गरेनन् र फिल्म पनि सुपरफ्लप भयो। सुनिए अनुसार अहिले बुढाथोकी मण्डला नाटकघरमा अभिनय सिकिरहेकी छन्।

‘पर्खी बसे तिमीलाई’सँगै प्रदर्शनमा आएको फिल्म ‘चित्रा’ले नयाँ बालकलाकारलाई नेपाली फिल्म क्षेत्रमा लिएर आयो तर पैसा कमाउन सकेन। बाल कलाकारको भूमिका निर्वाह गरेकी सिम्रन खड्काको अभिनयको तारिफ भयो। चित्राकै अभिनयकै आधारमा उनले त्यसपछि केही फिल्ममा समेत काम गरिसकेकी छन्। अभिनेता रमित ढुङ्गानाको निर्देशनमा बनेको फिल्म ‘नमेटिने घाउँ’मा समेत उनी देखिँदैछिन्।

अघिल्लो वर्ष मात्रै होइन, यहि वर्ष पनि केहि अभिनेता तथा अभिनेत्रीको नेपाली फिल्ममा डेब्यु भयो। गत वैशाख १० गते प्रदर्शनमा आएको फिल्म ‘बोक्सीको घर’बाट बाल कलाकार सुपला सापकोटाको डेब्यु गरिन्। फिल्ममा उनले गरेको अभिनयको कलाकार सहित समीक्षकहरूले पनि खुलेर तारिफ गरे। पहिलो फिल्मबाट नै उनको अभिनयले दर्शकमाझ राम्रो छाप छोड्न सफल भयो।

वैशाख २८ गतेबाट रिलिज भएको फिल्म ‘खजुरे ब्रो’मार्फत मोडल नीति शाहले अभिनेत्रीको रूपमा डेब्यु गरिन्। तर, फिल्ममा उनको अभिनय खास थिएन।

लुक्सकै कारण फिल्म पाएकी उनको अभिनय भने बिर्सनलायक रह्यो। उनले आफ्नो अभिनय नसुधारे फिल्म क्षेत्रमा टिक्न मुस्किल पर्ने देखिन्छ। पहिलो फिल्मबाट दर्शकलाई रिझाउन नसकेकी उनी अहिले ‘ज्वाइँ साब’मा काम गर्दैछिन्।

गत जेठ १० गते प्रदर्शनमा आएको फिल्म ‘फर्की फर्की’बाट अभिनेत्रीको रूपमा समृद्धि अर्यालको आगमन भयो। अहिले पनि फिल्म केही हलहरुमा लागिरहेको छ। अनमोल केसी र जसिताको अघि उनी मिडियामा छाउन नसके पनि अभिनयमा भने समृद्धि कम देखिएकी छैनन्।

ठ्याक्कै भन्दा उनको अभिनय अनमोल र जसिता सरह नै थियो। पहिलो फिल्ममा गरेको अभिनयको आधारमा उनलाई ग्रुम गर्ने हो भने सम्भावना भने देखिन्छ। फिल्ममा उनले आफ्नो भूमिका अनुसारको अभिनय गरेकी छन्।

जेठ २५ गते प्रदर्शनमा आएको फिल्म ‘लण्डन टु पेरिस’मार्फत गरिमा शर्माले फिल्ममा डेब्यु गरिन्। टिकटकबाट उदाएर म्युजिक भिडियोमा काम गर्दै आएकी उनले फिल्ममा पनि राम्रै अभिनय गर्ने दर्शकको अपेक्षा थियो। तर, दर्शकको अपेक्षाअनुसार उनको अभिनयले मेल खाएन। यद्यपि अभिनय सिकेको र मिहिनेत गरेमा उनमा सम्भावना भने देखिन्छ।

हिरो बन्न आएकाहरू
लोक तथा दोहोरी गीतमा चर्चा कमाएमा गायक प्रकाश सपुत गतवर्ष असोजमा रिलिज भएको फिल्म ‘परदेशी ३’बाट फिल्म क्षेत्रमा डेब्यु गरे। फिल्ममा रहेका अन्य कलाकारलाई समेत ओझेलमा पार्ने गरी उनको चर्चा भए पनि अभिनय भने फितलो देखियो।

म्युजिक भिडियोमा झुल्किनु र फिल्ममा अभिनय गर्नुको फरक उनले बुझ्न जरुरी रहेको फिल्म हेर्दा प्रष्टै झक्न्थ्यिो। उनै सपुत यतिबेला अर्को फिल्म ‘पूर्ण बहादुरको सारंगी’मा अनुबन्ध भएका छन् भने आफैँ पनि नयाँ फिल्म बनाउने भन्दै तयारीमा जुटेका छन्।

अभिनय सुधारेको खण्डमा आगामी फिल्ममा भने उनले आफूलाई स्थापित गर्नसक्छन्। म्युजिक भिडियोहरूमा गरिरहेको अभिनयका कारण पनि उनलाई फिल्मम हात हाल्न केही सहज भएको हुनुपर्छ। यद्यपि अभिनय सुधार्नु अपरिहार्य छ।

फिल्म ‘चित्रा’ले अभिनेताको उदय गरायो। यहि फिल्ममार्फत सन्तोष अधिकारीले निर्माताबाट अभिनेताका रूपमा डेब्यु गरेका थिए। उनी आफैँले लगानी गरेको यो फिल्मबाट उनको अभिनेता बन्ने रहर मात्रै देखियो। फिल्ममा उनको अभिनय खास मात्र नभएर साधारण भन्दा पनि तल थियो।

गत वैशाख २१ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘मनसरा’मा अभिनेत्री मिरुना मगरको छोराको भूमिका निर्वाह गरे बाल कलाकार नैनाहाङ राईले। उनले आफ्नो भूमिकालाई न्याय गरेपछि अभिनयको धेरै कलाकार र समीक्षकले तारिफ गरे। कतिपयले उनलाई उदयमान कलाकार समेत भन्न भ्याइसके। पछिको कुरा कसलाई के थाहा र, बाल कलाकारको भूमिकामा उनी फिट देखिन्छन्।

फिल्म ‘फर्की फर्की’बाट अभिनेताका रूपमा रवि काफ्ले आए। फिल्ममा उनको अभिनय खास छैन। साधारण अभिनय र अनमोल हावी हुँदा फिल्ममा उनी त्यति नोटिस पनि हुन सकेका छैनन्।

यता, ‘लण्डन टु पेरिस’बाट पनि अभिनेताका रुपमा निश्चल खड्का आएका छन्। अन्य नव कलाकारको तुलनामा यो फिल्ममा उनको अभिनय ठिकै रहेको छ। फिल्ममा उनको लुक्सको बढी चर्चा भयो। तर अभिनयमा पनि उनले निखारता ल्याउन सके अर्को बाटो हेर्नु नपर्ने देखिन्छ।

जेठ २५ मै आएको फिल्म ‘गाउँ आएको बाटो’बाट बाल कलाकार प्रसन्न राईको उदय भयो। फिल्म क्षेत्रमा उनको अभिनय ‘टक अफ दि टाउन’ भएको छ। फिल्ममा उनले पाएको भूमिका सुहाउँदो छ भने अभिनयमा पनि खोट लगाउने ठाउँ छैन। बाल कलाकारका रूपमा उनले राम्रै छाप छोड्नसक्ने देखिन्छ।

अघिल्ला वर्ष नै प्रदर्शनमा आएको फिल्म ‘दुई कदम’बाट अभिनेताका रुपमा इओन लिम्बूको उदय भयो। अभिनयकै कारण इओनले तत्काल फिल्म क्षेत्रमा खास अवसर पाउने र काम पाउने सम्भावना देखिँदैन।

फिल्म ‘पर्खिबसे तिमीलाई’बाट किरण श्रेष्ठले डेब्यु गरे पनि दमदार अभिनय नहुँदा उनको करिअर उदाउनुअघि नै अस्तायो। फिल्म फ्लप भयो भने उनको अभिनयलाई पनि कसैले नोटिस गर्न सकेनन्। पहिलो फिल्म फ्लप भए पनि उनले दोस्रो फिल्ममा काम पाए। दोस्रो फिल्ममा भने उनको अभिनय केही सुध्रिएको छ।

लभ स्टोरी फिल्मबाट एक्सन जनरामा प्रवेश गरेका किरणको एक्सनको तारिफ भएको छ। मण्डला नाटकघरमा ११ वर्ष अभिनय सिकेका किरणले दोस्रो फिल्मबाट पाएको चर्चालाई ध्यान नदिई अझै मिहिनेतमा ध्यान दिनुपर्ने देखिन्छ।

फिल्म ‘दान्भी’बाटै डेब्यु गरेका कुन्साङ बोम्जनको अभिनय ठिक ठिकै छ। निर्देशकीय पक्ष कमजोर हुँदा उनले अभिनयबाट आफ्नो काम देखाउन सकेका छैनन्। उनलाई लभस्टोरी फिल्ममा ठिकै देखिन्छ। अभिनय सुधारेको खण्डमा केही नेपाली फिल्ममा उनी मुख्य भूमिकामा देखिनसक्छन्।

दुई नयाँ निर्देशक  
अघिल्लो वर्षको पहिलो महिना अर्थात वैशाख १ गते प्रदर्शनमा आएको फिल्म ‘जारी’ नेपाली फिल्मकै सर्वाधिक कमाउने फिल्ममा पर्यो। यहि फिल्मबाट निर्देशक उपेन्द्र सुब्बाको निर्देशनमा डेब्यु भयो। कवि तथा लेखकका रूपमा परिचित सुब्बाले पहिलो पटक निर्देशनमा हात हालेका थिए।

उनको पहिलो फिल्म नै सफल भयो। पहिलो फिल्मले हिट निर्देशकको सूचीमा राखेपछि उनले यहि वर्ष दोस्रो फिल्म ‘मनसरा’ बनाए। तर, दोस्रो फिल्म व्यावसायिक रुपमा पहिलो जत्ति सफल हुन सकेन। यद्यपि फिल्म भने राम्रै बनेको छ।

सुब्बाको निर्देशकीय कलाका कारण केही फिल्म समीक्षकहरूले नेपाली फिल्म क्षेत्रमा नयाँ सफल निर्देशकको उदय भएको भन्न भ्याइसकेका छन्। उनको निर्देशकीय कलाले मजाले कथा भन्नसक्ने देखिएको छ।

अघिल्लै वर्ष प्रदर्शनमा आएको फिल्म ‘बगान’बाट अभिनेता सरोज खनालले पनि निर्देशनमा डेब्यु गरे। उनले पहिलो फिल्म नै कमजोर निर्देशकीय पक्षमा गनियो। फिल्ममा उनले एक्सन कट बाहेक अर्को नयाँपन दिन सकेनन्। ‘बगान’ले लगानी उठाएको दाबी गरे पनि त्यसको आधार भने देखिएको छैन।

यो फिल्म हलमा चलेको एक वर्ष बितिसक्दा पनि न डेब्यु निर्देशकले अर्को फिल्ममा काम गर्ने अग्रसरता देखाएका छन् न यो फिल्मबाट अभिनेत्रीमा डेब्यु गरेकी कार्कीले।

हेरौं के हुन्छ? 
बिराज भट्टको निर्देशनमा बनेको फिल्म ‘१२ गाउँ’ मार्फत तीन जना अभिनेता तथा नेत्रीले डेब्यु गरेका छन्। फिल्ममा विराजकै छोरा समिर र उनका अलवा २०२२ की मिस नेपाल इन्टरनेशनल विजेता न्यान्सी खड्काका साथै अर्की मोडल सनिशा भट्टराई रहेका छन्।

सनिशाले केहि म्युजिक भिडियोमा आफ्नो काम देखाइसकेकी छन् भने न्यान्सीको दर्शकले अभिनय हेर्न पाएका छैनन्। पहिलो पटक एक्सन फिल्ममार्फत डेब्यु गर्न लागेका समिरको पनि काम हेर्न बाँकी छ। उनीहरूको पहिलो फिल्मको अभिनयले नै उनीहरूको करिअर निर्धारण गर्नेछ।

निर्देशकको नजरमा डेब्यु कलाकार
नेपाली फिल्म क्षेत्रमा केही सम्भावना बोकेका कलाकारहरूको आगमन भएको लेखक तथा निर्देशक नवल नेपाल बताउँछन्। यद्यपि केही भने हचुवाकै भर प्रवेश गरेको उनी बताउँछन्।

पछिल्लो समय फिल्ममा देखिएका कलाकारहरू कलाकारितामै केही गर्छु भन्ने प्रतिबद्धताका साथ नआएको उनी दाबी गर्छन्। अहिलेका कलाकारहरूले क्रमशः नाम, दाम अनि पैसालाई महत्व दिएको उनको बुझाइ छ।

‘जति पनि कलाकारहरू भित्रिनुभएको छ, उहाँहरूले पहिला नाम खोज्नुहुन्छ, दाम खोज्नु हुन्छ अनि मात्र उहाँ कला खोजिरहनुभएको छ। यसमा पहिलो स्थानमा आउने कला हो। पहिला कला सिक्नु पर्यो। कलाकारिताले कतिको प्रभाव पार्न सकिन्छ भनेर राम्रो अध्ययन गरेर आउनुभयो भने नयाँ कलाकारहरूको भविष्य देख्छु। नत्र मैले उहाँहरूबाट अपेक्षा गरेको छैन।’

कलाकारहरूको स्कुलिङले पनि उनीहरूको सम्भावना र करिअर निर्धारण गर्ने उनले बताए।

‘अहिले आएका कलाकारहरूको स्कुलिङमा पनि भर पर्छ,’ उनले भने, ‘कुन नाटकघरमा सिकेका छन् या कसले सिकाइरहेको छ र कुन निर्देशकले फिल्ममा अवसर दिएको छ त्यसमा पनि निर्भर हुन्छ।’

‘नयाँ कलाकारहरूको ट्यालेन्ट आफूमा मात्रै सीमित भएको छ। कला क्षेत्रमा प्रवेश गर्नुअघि गनुपर्ने साधन र कलालाई गर्ने सम्मान नभएका कारण उहाँहरूले बाहिर ल्याउनै सक्नुभएको छैन।’

बसुन्धरा भुसाल, मिथिला शर्मा, गौरी मल्लको उदाहरण दिँदै उनले कलाप्रतिको लगाव भएकै कारण उनीहरू यहाँसम्म आइपुगेको उनको भनाइ छ। अहिले आएका कलाकारले कति समयसम्म फिल्ममा काम गर्छन् भन्नेमा आफू यकिन नभएको उनी बताउँछन्।

असार १४, २०८१ शनिबार १३:१४:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।