रास्वपामा महामन्त्री ढकालले भित्र्याएको हलचल जारी, अनुशासनको कारबाहीको तयारी

रास्वपामा महामन्त्री ढकालले भित्र्याएको हलचल जारी, अनुशासनको कारबाहीको तयारी

काठमाडौँ : पार्टी बिरामी परेको र नसच्चिए विवेकशील साझा पार्टी हुने निष्कर्षसहितको प्रतिवेदनले राष्ट्रिय स्वतन्त्र पार्टीमा दिएको धक्काको कम्पन रोकिएको छैन।

महामन्त्री मुकुल ढकालको अप्रत्याशित स्वरूप सार्वजनिक भएपछि रास्वपाका नेताहरू सामाजिक सञ्जालमा लेख्दै' प्रेमिकालाई समानुपातिक सांसद बनाएको' तहको आरोपमा समेत उत्रिएर धक्काको मात्रा बढाइरहेका छन्।

३८ जिल्ला घुमेर तयार पारेको ३२ पाने प्रतिवेदनको सारांश सार्वजनिक गर्दै ढकालले आफूमाथि कारबाही हुनसक्ने भन्दै पार्टी गम्भीर बिरामी भएको अब धामीझाक्री र घरेलु उपचारले निको नहुने भन्दै अस्पतालमै लैजानुपर्ने साङ्केतिक टिप्पणी गरेका थिए।

यो कम्पनमा पार्टीले शुक्रवार अर्को पराकम्पन थप्यो ढकाललाई स्पष्टीकरण सोधेर।  पार्टीभित्र छलफल नभई प्रतिवेदन मिडियामा सार्वजनिक गरेको भन्दै पार्टीको अनुशासन आयोगले महामन्त्री ढकाललाई लिखित स्पष्टीकरण सोध्यो।


यसले पार्टीभित्रको विवाद समाधान हुनुको साटो थप बढ्ने देखिन्छ। पार्टीभित्र नीति निर्माण र निर्णयमा प्रभावशाली पकड बनाएका ढकाल एकाएक पार्टीभित्र कमजोर समेत देखिए।
इलाम उप निर्वाचनको परिणाम, सरकार सहभागी नहुने भन्दाभन्दै दोस्रो पटक सरकारमा सहभागी, मन्त्रीहरूको कमजोर प्रदर्शन, पार्टी सभापति रवि लामिछानेमाथि लागेको सहकारीको रकम अपचलनको विवाद र संसदीय समिति गठनले पार्टीको लोकप्रियता ओरालो लाग्नेक्रम तीव्र देखिएको छ।
महामन्त्री ढकालको दाबी अनुसार प्रतिवेदनमा यही उल्लेख छ। अहिलेको अवस्थामा निर्वाचन भए पार्टी राष्ट्रिय दल बने पनि अहिले कायम सिट जित्न नसक्ने र अलोकप्रियताको गति नरोके पार्टी अर्को चुनावमा राष्ट्रिय दल बन्न पनि गाह्रो हुने उनले बताएका थिए।

उनले स्वतन्त्र मेयर बालेन शाह अनि गोपी हमालसँग सहकार्यको प्रस्ताव गरे जुन रास्वपाभित्र भइरहेको बहस हो। तै पनि पार्टी उनलाई कारबाहीको चरणमा प्रवेश गर्यो।

अनि अहिले रास्वपा बाहिरको समूह ढकालको पक्षमा देखिएका छन्। तर पार्टीभित्रको माहौल उनको पक्षमा भन्दा विपक्षमा नेता बढी देखिन्छन्। केन्द्रीय सदस्य गणेश कार्कीले त सामाजिक सञ्जालबाट उनीमाथि गम्भीर आरोप नै लगाए।

रास्वपाको संरचनाबारे एक नेताले सभापति लामिछाने भन्दा पनि निर्णय तहमा ढकाल हाबी रहेको बताए। समानुपातिक सांसद छान्ने, प्रदेश नेतृत्व चयन, आन्तरिक जिम्मेवारी सबैमा रविमाथि ढकाल हाबी भइरहे। अधिकांश नेता ढकालसँग रिसाए।

यी दुवै एक अर्काको बलिया सहयोगी थिए। तर समीक्षा यात्रा प्रतिवेदन बुझाएपछिको अवस्था भने एकाएक बदलियो। अहिले सभापति लामिछाने नै ढकालको विपक्षमा देखिएका छन्। त्यसैको परिणाम शुक्रवार उनलाई प्रस्टीकरणको पत्रै काटियो।

असार १४, २०८१ शनिबार ००:४०:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।