फिल्म ‘जेरी अनटप’ निर्माण नहुँदै विवादमा, निर्माता र आनाबीच आरोप-प्रत्यारोप

फिल्म ‘जेरी अनटप’ निर्माण नहुँदै विवादमा, निर्माता र आनाबीच आरोप-प्रत्यारोप

काठमाडौं :  झण्डै दुई वर्ष अघिबाट निर्माण हुने भनिएको फिल्म ‘जेरी अनटप’मा निर्माण टिमले अभिनेत्रीका रुपमा आना शर्मालाई अनुबन्ध गर्यो। फिल्मका आनाका अलावा अनमोल केसी र आँचल शर्मा अनुबन्ध भएका थिए। तर, आइतबार अचानक निर्माण टिमले आनालाई हटाएर उनको ठाउँमा जसिता गुरुङलाई अनुबन्ध गर्यो। फिल्म ‘फर्की फर्की’मा सँगै काम गरेका अनमोल र जसिताको जोडीलाई निर्माता सरोज न्यौपानेले अनुबन्ध गरेका थिए। 

आनालाई आउट गरेर जसिता गुरुङलाई भित्र्याएपछि निर्माता र आनाबीच विवाद चर्किएको छ। आनाले आफूलाई थाहै नदिइन निर्माण टिमले फिल्मबाट निकालेको आरोप लगाएकी छन्। उनले आफू निकालिएको कुरा निर्माण पक्षबाट नभई समाचार पढेर थाहा पाएको दाबी गरेकी छन्। 

यता निर्माता न्यौपानेले आफुहरूलाई आनाले फोन नउठाउने, म्यासेजको रिप्लाई नदिने र कलाकारको फोटो सुटमा समेत नआएको हुनाले बाध्यता निकाल्नु परेको दाबी गरे। 
 
के थियो विवादको कारण ?
विवादको कारणबारे निर्माता र आनाको आ-आफ्नै तर्क छ। अभिनेत्री शर्माले फिल्मको दोस्रो लुक टेस्ट र फोटो सुटको दिनभन्दा अघि नै  आफूलाई सन्चो नभएकोबारे निर्माण टिमलाई जानकारी गराएको भएपनि त्यही दिन आफ्नो ठाउँमा अरू कसैलाई अनुबन्ध गरेको कुरा जानकारी पाएको बताइन्। उनले आफूमाथि व्यवसायीक उत्तरदायित्त्व निभाउन नसकेको हो की भन्ने कुराले आफूलाई चोट पुगेको तर्क गरेकी छन्। 

उनले भनिन्, ‘फिल्म टोलीले म लुक टेस्टमा नगएको र मैले व्यावसायिक उत्तरदायित्त्व निभाउन नसकेको भन्दै मिडियाहरूमा ‘कोट’ दिएको देखें। उनीहरूले मेरो बदनाम गरिरहेको थाहा पाएँ। यसले मलाई ठूलो चोट दियो।’

यता उकेरासँगको कुराकानीमा निर्माता सरोज न्यौपानेले आना शर्माले पटकपटक धोका दिएको कारण आफूहरूले निकाल्न बाध्य भएको बताए। उनले वर्कसपदेखि फोटो सुटमासमेत नआउनु र आफूलाई जतिबेलै विरामी छु भन्ने बहाना बनाएको कारण आफूहरूले आनालाई मन नलागी नलागी निकाल्नु परेको दाबी गरे। 

‘निकाल्न चाही निकालेको हो,’ उनले भने, ‘सुटिङ सुरू हुनुभन्दा १० दश दिनअघि मलाई कुनै रहर लागेर निकालेका होइन होला। मैले उहाँलाई एडभान्स पनि दिइसकेको छु। पैसा पनि उहाँले लगिसक्नुभएको छ। अन्तिम अवस्थामा आएर मैले यस्तो निर्णय किन लिए होला, तपाई आफै बुझ्नु।’

उनले थपे, ‘दुई वर्षदेखि फिल्म निर्माण गर्ने भनेर लागि रहेको छु। उहाँसँग गरेको कुराकानी सबैसँग सुरक्षित छ। उहाँले चौथो पटक धोका दिएपछि निकाल्न बाध्य भएको हो।’ 

यता अभिनेत्री शर्माले भने आफू विरामी भएको दिन फोटोसुट गरेको र आफूलाई नराम्रो कुरा बकिरहेको निर्माण पक्षलाई आरोप लगाएकी छन्। 

उनी भन्छिन्, ‘त्यही भरोसाको आडमा म झन्डै २ वर्षदेखि यो फिल्ममा जोडिएकी थिएँ। मेरो स्थानमा अरू कलाकारलाई लिएपछि आफ्नो नाक जोगाउन उनीहरूले मेरो बारेमा तथानाम बकिरहेका छन्। मैले सुनिरहेकी छु। लुक टेस्ट र फोटोसुट हुँदैमा म नै फिल्ममा हुनुपर्छ भन्दिनँ। कलाकार फेरबदल संसारभरि चलिरहने प्रक्रिया हो। यो मेरो मुद्दा पनि होइन। तर, जसरी मेरो मानमर्दन गरियो, मेरो प्रतिष्ठामा हिलो छ्यापियो, त्यो सरासर गलत हो।’

उनले आफ्नो नाम लिएर यो फिल्मको निर्माण टोलीले प्रचार गरेको तर आफूलाई हटाउँदा जानकारी नदिएको भन्दै निर्माण पक्षलाई प्रश्न गरिन्। 

‘फिल्म टोलीले महिनौंसम्म मेरो नाम लिएर फिल्मबारे प्रचार गरे। तर, मलाई हटाइँदा एक शब्द जानकारी दिइएन। यो कहाँको व्यावसायिक धर्म हो?’ उनले प्रश्न गरेकी छन्। 

सुयोग गुरुङको निर्देशनमा तयार हुन लागेको यो फिल्मको प्रदर्शन मिति अब फागुनको २ गतेलाई तोकिएको छ। 

असार १३, २०८१ शुक्रबार २०:३०:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।