एकीकृत समाजवादी अध्यक्षमा रस्साकस्सी, एकदिन पनि टिकेन खनाल-भुसाल सहमति

एकीकृत समाजवादी अध्यक्षमा रस्साकस्सी, एकदिन पनि टिकेन खनाल-भुसाल सहमति

काठमाडौं : एकीकृत समाजवादी पार्टी आफ्नो महाधिवेशनको तयारीमा छ। विशेषगरी माधव नेपालपछि अबको अध्यक्ष को भन्ने विषय पेचिलो बन्दै गइरहेको छ। अध्यक्षमा भइरहेको रस्साकस्सीबीच झलनाथ खनाल र घनश्याम भुसालबीच सहमति भयो भन्ने चर्चा व्यापक थियो।

तर दुई नेताबीच भएको भनिएको सहमति एक दिन पनि टिक्न नसकेको भनेर पार्टीपंक्तीमा नयाँ बहस सिर्जना भएको छ। सम्मानित नेता खनालले भुसाललाई अघि सारेर आफू व्याक भएको भनिएको एक दिन नबित्दै नेता खनालको पक्षबाट त्यस्तो नभएको भन्दै विज्ञप्ति सार्वजनिक भएपछि खनाल र भुसाल पक्षबीच दरार सृजना भएको बुझिएको छ।

दुई नेताहरूको भेटघाटलाई लिएर भएका गतिविधिलाई अनावश्यक उचालेर पक्ष विपक्ष बनाउने कार्यले स्वयं दुई नेताहरु बीच नै दरार सृजना गर्ने कार्य गलत भएको नेताहरूको बुझाइ छ। हुन पनि दुईमध्ये भुसाललाई अध्यक्षमा अघि सार्ने भन्ने विषयमा दुई नेताबीच भएको भनिएको सहमति एक दिन नपुग्दै कमजोर भइसकेको आकलन गरिएको छ।

माधव नेपालको विकल्पमा आफू अध्यक्ष हुने भनेर दाबी गरेका दुई नेता खनाल र भुसालबीच एक दिन सहमति हुने र अर्को दिन सहमति नै नभएको भन्दै खनाल सचिवालयको तर्फबाट सार्वजनिक गरिएको विज्ञप्तिले संशय उत्पन्न गराएको छ। 

अध्यक्ष नेपालविरुद्ध तयारी भएका खनाल र भुसालबीच छोटो समयमै यसरी दरार उत्पन्न भएपछि स्वयं पक्षधर कार्यकर्ताहरू नै अलमलमा परेको नेताहरु बताउँछन्। 

यसैबीच एकीकृत समाजवादीका सम्मानित नेता खनालले आफूले भुसाललाई अध्यक्षमा सघाउने सहमति नभएको स्पष्ट गरेका छन्। त्यतिमात्र होइन, खनालको सचिवालयको तर्फबाट विज्ञप्ति नै सार्वजनिक भएपछि दुई नेताबीच थप खटपट सुरु भएको नेताहरु बताउने गर्छन्। 

बिहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकपछि प्रतिक्रिया दिँदै नेता खनालले आफ्नो दाबी जारी रहेको बताउँदै भुसालसँग सहमति नभएको स्पष्ट गरे। 

नेता खनालले आफ्नो नाममा सहमति नहुनुपर्ने कारण के छ भन्दै सहमति बन्ने बताए। बिहीबार मात्रैपनि सबै प्रदेशका अध्यक्षहरू खनाल निवासमै पुगेर भेटघाट गरी अधिकारसहितको सम्मानित नेताका रुपमा एकताबध्द भएर सर्वसहमत नेतृत्व चयन गर्न अनुरोध गरेका थिए।

नेतृत्व छनोट प्रकृया पेचिलो बन्ने भएपछि आसन्न १० औँ राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत अध्यक्ष चयन गर्न, पार्टीको आन्तरिक एकता बलियो बनाउन, वैचारिक तथा सैद्धान्तिक कार्यदिशाका हिसाबले पार्टीको नेतृत्व साथै देश र जनताको हितमा काम गर्नसक्ने स्वच्छ छवि भएको नेतालाई नेतृत्वमा लैजानुपर्ने पार्टीका सातै प्रदेशका अध्यक्षले सुझाव समेत दिएका थिए।

कोशीबाट बलदेव चौधरी, मधेस प्रदेशका रामचन्द्र यादव, बागमतीका सावित्रा भुसाल, गण्डकीका श्रीनाथ बराल, लुम्बिनीका सोमप्रसाद पाण्डे, कर्णालीका अम्बर थापा र सुदूरपश्चिमका हर्कबहादुर सिंह छलफलमा सहभागी भएका थिए।

पार्टीका अध्यक्ष नेपाल, सम्मानित नेता खनाल र महासचिव भुसालबीच समझदारीका साथ सर्वसम्मत नेतृत्व चयनका लागि छलफल गरिएको थियो। महाधिवेशन असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुँदैछ।

असार १३, २०८१ शुक्रबार १५:३९:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।