रुपन्देहीका सामुदायिक विद्यालयबाट ४ जीपीए ल्याउने एक्लो विद्यार्थी कृतिम

रुपन्देहीका सामुदायिक विद्यालयबाट ४ जीपीए ल्याउने एक्लो विद्यार्थी कृतिम

बुटवल : रुपन्देहीको सैनामैना-६ का कृष्णप्रसाद भट्टराईलाई यतिबेला बधाई थाप्न भ्याइनभ्याई छ। कृष्णप्रसादको मुहारमा छुट्टै चमक छ। उज्यालो, हसिलो र फुर्तिलो पनि देखिन्छन् उनी।

नदेखिउन् पनि कसरी। छोरा कृतिम भट्टराईले राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा उनले ४ जीपीए ल्याएका छन्। यो खुसीले उनी फुरुङ्ग छन्।

रुपन्देहीको सैनामैनास्थित रामापुर माविका कृतिम सामुदायिक विद्यालयतर्फ रुपन्देहीमा ४ जीपीए ल्याउने एक्लो विद्यार्थी हुन्।

सामुदायिक विद्यालय तर्फबाट जिल्लामै प्रथम भएपछि कृतिमका बुवा कृष्णप्रसाद खुसी साट्दै हिँडेका छन्। शिक्षक र छोराको मिहिनेत अनि परिवारको सहयोगले छोराले उत्कृष्टता हासिल गरेको उनी बताउँछन्।

४२ वर्षीय कृष्णप्रसाद १५ वर्षदेखि सवारी चलाइरहेका छन्। १२ वर्ष साउदी अरबमा सवारी चलाएका उनले पछिल्लो दुई वर्षदेखि नेपालमै सवारी चलाइरहेका छन्।

सैनामैनाकै मलमला ड्राइभिङ इनिष्टच्यूटमा उनी सवारी चलाउन सिकाउँछन्।

‘हामीले बावुलाई पढ्नका लागि शान्त वातावरण बनायौँ। जबरजस्ती पढ्न लगाएनौँ। उसले कसरी सहज मानेर पढ्छ हामीले त्यो वातावरण तयार गरिदियौँ। त्यसैले पनि यो नजिता आएको हो’, उनले भने।

पारिवारिक मेलमिलाप र बच्चालाई अनावश्यक दबाब दिँदा नजिता राम्रो नआउनेतर्फ आफू सचेत भएकाले खुला छाडिदिएको उनको भनाइ छ।

कृतिमकी आमा रमा, छोराको सफलताले मख्ख छिन्। छोराले अझै धेरै गर्न बाँकी रहेको रमा बताउँछिन्।

त्यसो त कृतिम पढाइमा मात्र अब्बल विद्यार्थी हैनन्। विद्यालयका प्रधानाध्यापक कृष्ण पौडेलका अनुसार उनी क्रिकेट र हाजिरी जवाफ प्रतियोगितामा पनि अब्बल छन्।

लगनशील, मेहनती भएकैले कृतिमले उत्कृष्ट नजिता ल्याएको भन्दै नतिजाले सिंगो विद्यालय परिवार खुसी भएको उनले बताए।

रामापुर माविबाट १८० जनाले एसईई दिएकामा कृतिमले मात्रै जीपीए ४ नतिजा ल्याएको उनले बताए।

कृतिम सानैदेखि पढाइमा मेधावी थिए। विज्ञान विषय लिएर अध्ययन गर्ने लक्ष्य राखेका कृतिम निरन्तरको मेहनत र परिश्रमले सफलता प्राप्त गरेको बताए।

‘पढ्ने समय र तरिकाको व्यवस्थापन गरेँ। पढि राख्ने मात्र गरिन। सेड्युल बनाएर पढेँ। शिक्षकको मेहनत, मेरो परिश्रम र लगनशिलताले ४ जीपीए ल्याएको हुँ’, उनले भने।

जिल्लाभर रहेका कुल १७३ सामुदायिक विद्यालयबाट ४ जीपीए ल्याउने कृतिम एक्लो हुन्। संस्थागत तर्फ १६६ विद्यालयमध्ये न्यू होराइजनका प्रवेश खनालले ४ जीपीए ल्याएका छन्। जिल्लाबाट ०८० को एसईई परीक्षमा कुल १८ हजार ८६७ विद्यार्थी सहभागि थिए। 

असार १३, २०८१ शुक्रबार १३:१९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।