भावुकहुँदै विपिनले भने' मलाई एनिमल खेल्न नदिनेको ब्रान्डमा काम गर्दिन

भावुकहुँदै विपिनले भने' मलाई एनिमल खेल्न नदिनेको ब्रान्डमा काम गर्दिन

काठमाडौँ : अभिनेता विपिन कार्की भारतीय फिल्म एनिमलमा अनुबन्धित भएको विषय जति तात्यो त्यो त्यति सहजै सेलायो पनि। विपिनको अभिनय हेर्न प्रतीक्षारत उनको प्रशंसक निराश हुने नै भए। जुन रूपमा फिल्म ब्लकबस्टर हिट भयो त्यसमा विपिनलाई पनि अभिनय गर्न नपाएकोमा चित्त दुख्ने नै भयो।

उनी फिल्ममा अनुबन्ध भएका पनि हुन्। उनी पटक-पटक मुम्बई गएका पनि हुन्। यति हुँदा पनि उनले अभिनय गर्न पाएनन्। उनले अभिनय गर्न मन नलागेर एनिमल छाडेका भने हैनन्।

उनलाई एनिमल फिल्ममा अभिनय गर्न नदिने मुख्य कारण देखियो फिल्म प्रसाद-२ को समूह। उनले फाट्टफुट्ट यसबारे बोले पनि त्यति प्रस्ट कारण खुलाएका थिएनन्। फिल्म तेल भिसामा अभिनय गर्न अमेरिकामा रहेका उनले त्यतैको एक पडकास्ट च्यानलसँगको कुराकानीमा भने एनिमल खेल्न नपाउनुको कारण अनि फिल्म प्रसाद-२ को निर्माण टिमले दिएको दुख सबै खुलाए।

विपिनका अनुसार उनले एनिमल फिल्म गुमाउनुको एक मात्र कारण फिल्म प्रसाद-२ को निर्माण टिम नै हो। उनले फूलबारी लगायतका फिल्ममा अभिनय गर्दा उता मुम्बईबाट बोलावट आए निर्माण टिमले यता सुटिङ नै स्थगित गरेर पनि सघाएका थिए।

फिल्म प्रसाद-२ को सुटिङको सेड्युल पहिल्यै थियो। सेड्युल अनुसार विपिनसहितका कलाकार सुटिङ हुने कास्कीको गाउँमा पुगेका पनि हुन्। तर निर्माण टिमबिचको लगानीको विवादले टिम सुटिङ नगरी फर्कियो।

लफडै लफडा भएपछि नम्रता श्रेष्ठले फिल्म छाडिन्। विपिनले पनि अभिनय गर्न चाहेनन्। तर निर्माण टिमले विपिनले अभिनय गर्ने सहमति गरेर पनि अस्वीकार गरेको भन्दै निर्माता सङ्घ अनि कलाकार सङ्घमा उजुरी गरेपछि उनी डराएर फिल्म खेल्न राजी भए।

कहिल्यै मुद्दामा नपरेकाले आफू डराएर एनिमल फिल्म छाडेर यता प्रसाद-२ मा अभिनय गरेको उनले बताए। फिल्म प्रसाद-२ फ्लप भयो। निर्माताहरुबीचको विवादले एक निर्माता भागेर अष्ट्रेलिया पुगेका छन्। निर्देशकसहितविरुद्ध अदालतमा डेढ करोडको ठगी मुद्दा परेको छ।

यता प्रसाद-२ को सुटिङ सेड्युल र उता एनिमलको सुटिङ सेड्युल जुध्यो। निर्माण टिमले असहयोग गर्दा उनी मुम्बई जान सकेनन् र एनिमलको टिमबाट आउट भए। एनिमलको सिक्वेल त बन्दैछ। तर उनले मौका पाउँछन् या पाउँदैनन् थाहा छैन।

त्यति सानो भूमिकामा अभिनय गर्दा बबी देवलको डुबी सकेको अभिनय यात्रा पुरै फर्कियो। विपिनले अभिनयको मौका पाएको भए उनका लागि पनि यो गजबको अवसर हुनसक्थ्यो। कलाकारका रूपमा विपिनले यो ठुलै अवसर गुमाएका हुन्।

आफूले गरेको ब्रान्डमध्ये कुनमा चैँ काम नगर्ने भनेर कार्यक्रममा सोधिएको प्रश्नमा उनले बढो चित्त दुखाउँदै भने' प्रसाद-२'। कारण खुलाए 'उनीहरूले गर्दा एनिमलमा अभिनय नि गर्न पाइन अनि धेरै दुख दिए।'

असार १२, २०८१ बिहीबार ००:००:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।