प्रधानमन्त्रीले सम्झिएका पहिलो नेपाल आइडल करण, जसको जीतमा कोही पनि छैनन् दुखी

प्रधानमन्त्रीले सम्झिएका पहिलो नेपाल आइडल करण, जसको जीतमा कोही पनि छैनन् दुखी

काठमाडौं : नेपालमा पछिल्लो समयता रियालिटी शोहरू च्याउसरी उम्रिरहेका छन् अनि त्यही संख्यामा राजनीतिक दलका नेताहरू पनि। त्यसैले पनि होला, प्रतिस्पर्धाहरूलाई रियालिटी शोको भोट मागी दिनका लागि नयाँ पुस्ताका राजनीतिज्ञदेखि पूर्वप्रधानमन्त्रीसम्म प्रयोग गराइएको पाइन्छ। अथवा उनीहरू आफैं प्रयोग हुन चाहिरहेका छन्।

'द पोएट आइडल' को सिजन २ का लागि इलामकी विपना अधिकारीलाई जिताउन भर्खरै प्रतिनिधि सभा सदस्य जितेका सुहाङ नेम्वाङले भोट मागिदिए। केही समयअघि 'कमेडी च्याम्पियन'को सिजन २ का लागि गोरखाका सन्तोष थापालाई जिताउन भन्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नै भोट अपिल गरे।  

यस हिसाबले पनि रियालिटी शोका प्रतिस्पर्धाहरूलाई नेताहरूले भोट माग्नु सामान्यजस्तै हो। अझ त्यसमा पनि शोको विजेता बनिसकेपछि सामाजिक संजालबाट बधाई दिनु त झन् सामान्य नै हो। 

यसअघि रियालिटी शो नेपाल आइडलका विजेतालाई बहालवाला प्रधानमन्त्रीले कार्यकक्षमै बोलाएर बधाई दिएको भने पाइँदैन। तर, नेपाल आइडल सिजन ५ का विजेता करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई दिए। बुधबार प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर कारणलाई बधाई सँगै उपहारमा गितारसमेत दिए। 

त्यसक्रममा उनले आफूले करणको गीत सुनेको भन्दै सांगीतिक भविष्य लामो रहेको बताए। 'यसो हेर्दाखेरी धेरै नै प्रगति हुनेसक्ने सम्भावना देखिएको छ। मैले सुनेको छु गीतहरू। बधाई छ,' प्रधानमन्त्री प्रचण्डले भने। 

कारण प्रधानमन्त्रीले सम्झिएका नेपाल आइडल मात्रै होइनन्, उनी विवादरहित पनि हुन्। त्यसो त रियालिटी शोहरू विवादरहित कमप्राय छन्। दर्शकहरूलेसमेत आफूले मन पराएको प्रतिष्पर्धीले नजितेपछि सार्वजनिक रूपमा प्रश्न उठाउने गर्छन्। ठ्याक्कै, यस्तै भएको थियो- आइडलको पहिलो सिजनमा।  प्रतिष्पर्धी निशान भट्टराईले नजितेको भन्दै उनका समर्थकले आइडलमाथि नै प्रश्न गर्दै आलोचना गरेका थिए। 

तर, यसपटक भने त्यस्तो भएन। करणको जीतमा प्रायले सहजताका साथ स्वीकारे। करणको निर्दोषपना र संगीतप्रतिको लगावको कारण उनलाई धेरैले समर्थन गरेर भोट गरेकै कारण उनले आइडल जितेको आँकलन भइरहेको छ। 

असार ११, २०८१ बुधबार २०:२३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।