स्वस्तिमा, साम्राज्ञी र ओसिनलाई जसिताको प्रश्न : कसैको व्यक्तिगत जीवनलाई सार्वजनिक रूपमा बदनाम गर्नुको कारण के हो?

स्वस्तिमा, साम्राज्ञी र ओसिनलाई जसिताको प्रश्न : कसैको व्यक्तिगत जीवनलाई सार्वजनिक रूपमा बदनाम गर्नुको कारण के हो?

काठमाडौँ : इट्स माई सो मार्फत टेलिभिजन टक सो सञ्चालनमा प्रवेश गरेकी ओसिन सिटौला अनि उनको पहिलो एपिसोडका दुई गेस्टको बेवकुफीले कार्यक्रम निकै विवादित भयो। सुरजसिंह ठकुरीको कार्यक्रमको सेगमेन्ट बदलेर र्यापिड फायर अनि बजर राउन्ड राख्नुसम्म ठिकै हो। तर नितान्त अर्काको व्यक्तिगत जीवनसँग जोडिएका प्रश्न अनि नहिच्किचाई अतिथि बनेका स्वस्तिमा खड्का र साम्राज्ञी आरएल राणाको उत्तरले अहिले अर्की अभिनेत्री जसिता गुरुङ पीडित भइन्।

र्यापिड राउन्डमा सेक्स कि फुड?  यस्ता प्रश्नमा बोल्ने कि नबोल्ने त्यो उनीहरूको इच्छाको कुरा। तर यस्ता प्रश्नलाई निजात्मक भन्दै पन्छाउने स्वस्तिमाका लागि ओसिनको प्रश्न निजात्मक लागेन। अब स्वस्तिमालाई त निजात्मक नलागेको प्रश्न साम्राज्ञीलाई के लागोस्। दुवैले उत्तर दिए। यो उनीहरूको व्यक्तिगत छनौटको विषय भयो।

बजर राउन्डमा राखिएका प्रश्न अतिथिको निजात्मक जीवनसँग मात्र जोडिएन। त्यो अन्य कलाकारहरूको निजात्मक गोपनीयतासँग समेत जोडिएको थियो जसको उत्तर दिन स्वस्तिमालाई कुनै अप्ठ्यारो लागेन। साम्राज्ञी त अझ हौसिइन्।

ओसिनको पहिला अनमोल केसीको व्यक्तिगत जीवनबारे प्रश्न गरिन् जुन प्राय उनले गोप्य राख्ने गरेका छन्। न उनले आफ्ना प्रेमिकाबारे खुलाएका छन् न त उनका प्रेमीहरूले। तर स्वस्तिमाले दुई जनाको नाम लिइन्।

दोस्रो प्रश्न’धिरज मगरसँग पहिला डेट गरेको र अहिले अनमोल केसीसँग डेट गरिरहेकी अभिनेत्री को हुन्? यसको उत्तर पनि स्वस्तिमाले नै दिइन्’जसिता।’

साम्राज्ञीले थपिन्’ प्रदीप, धिरज अहिले अनमोल।‘ तीनै जना मज्जाले हाँसे अर्काको निजी जीवन राष्ट्रिय टेलिभिजनबाट खुलासा गर्दै।

यसमा अन्य कलाकार मौन नै छन्। तर जसिताले सार्वजनिक रूपमा आपत्ति जनाइन् इन्ट्राग्राममा। उनले किन मानिसहरू जसले व्यक्तिगत रूपमा चिन्दैनन् उसको बारेमा राष्ट्रिय टेलिभिजनमा व्यक्तिगत जीवनबारे कुरा गर्छन् भन्दै आपत्ति जनाइन्।

उनले लेखिन् 'तपाईँलाई थाहा छ मैले मेरो विगतमा के भोगेको छु? के तपाईँलाई लाग्दैन कि मेरो परिवारले तपाईँको अन्तर्वार्ता र समाचार हेर्नेछन्? एक महिलाको रूपमा तपाईँ समुदायको लागि कस्तो उदाहरण प्रस्तुत गर्दै हुनुहुन्छ?’

उनले ‘कसैको व्यक्तिगत जीवनलाई सार्वजनिक रूपमा बदनाम गर्ने र छलफल गर्नुको कारण के हो?’ भन्ने थप प्रश्न गर्दै साम्राज्ञीले त आफूलाई ब्लक गरेको उल्लेख गरेकी छिन्।

यसबारे प्रसारण संस्था कान्तिपुर टिभीले कुनै प्रतिक्रिया जनाएको छैन। अनि युट्युबमा राखेको भिडियो समेत संशोधन गरेको छैन। कार्यक्रम सञ्चालिका ओसिन पनि मौन छन्। आफ्नाबारे सामान्य सामाग्री आउँदा पनि कोकोहोलो मच्याएर स्टन्ट गर्ने स्वस्तिमा पनि मौन छिन्।

जसिताको प्रतिक्रिया

मलाई यसबारे बोल्नै पर्यो। मैले कहिल्यै बुझ्न सकिनँ कि किन मानिसहरूले कसैको व्यक्तिगत जीवनको बारेमा राष्ट्रिय टेलिभिजनमा कुरा गर्नुपर्छ जब उनीहरूले तिनलाई व्यक्तिगत रूपमा राम्रोसँग चिन्दैनन्। यो अन्तर्वार्ता हेरेपछि म यी मानिसहरूबाट गहिरो रूपमा दुःखी भएको छु। के हामी साँच्चै महिलाले अर्को महिलालाई तल झार्ने कुराको विरुद्धमा छौँ?

मेरो उनीहरूसँग कुनै व्यक्तिगत समस्या छैन। सुरुदेखि नै मैले उनीहरूलाई अभिनेता र प्रस्तोताको रूपमा उच्च सम्मान र प्रशंसाका साथ हेरेको छु। के तपाईँलाई थाहा छ तपाईँ के भनिरहनुभएको छ र तपाईँको कार्यले कति जनाको जीवनमा असर पार्ने छ? के तपाईँलाई थाहा छ मैले मेरो विगतमा के भोगेको छु? के तपाईँलाई लाग्दैन कि मेरो परिवारले तपाईँको अन्तर्वार्ता र समाचार हेर्नेछन्? एक महिलाको रूपमा तपाईँ समुदायको लागि कस्तो उदाहरण प्रस्तुत गर्दै हुनुहुन्छ?

कसैको व्यक्तिगत जीवनलाई सार्वजनिक रूपमा बदनाम गर्ने र छलफल गर्नुको कारण के हो? 

असार १०, २०८१ मंगलबार १४:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।