प्रतिनिधि सभाको बैठक आज पनि, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले जवाफ दिने

प्रतिनिधि सभाको बैठक आज पनि, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले जवाफ दिने

काठमाडौं : संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बैठक विहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

उनका अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८१ अन्तर्गत परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची छ।

यस्तै विभिन्न मन्त्रालयअन्तर्गत सांसदहरूले राखेका खर्च कटौती प्रस्तावहरूलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्नेछन्। विनियोजन विधेयकका दफाहरूलाई निर्णयार्थ प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महशुल सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि आजै छ।

यसका साथै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदार भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री हितबहादुर तामाङले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदन सहितको अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८ माथि छलफल गरियोस्’ भनी आजै प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यसैगरी उनैले ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

असार १०, २०८१ मंगलबार ०७:१७:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।