ललितपुर महानगरको बजेट ७ अर्ब ४६ करोड, विद्युतीय सवारी प्रयोगमा ५ प्रतिशत कर छुट

ललितपुर महानगरको बजेट ७ अर्ब ४६ करोड, विद्युतीय सवारी प्रयोगमा ५ प्रतिशत कर छुट

काठमाडौं : ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि गत वर्षको तुलनामा बजेटको आकार बढाएर ल्याएको छ।

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि सात अर्ब ४६ करोड रूपैयाँभन्दा बढीको बजेट प्रस्तुत गरेको छ।

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले सोमबार नगरसभाको पाँचौँ अधिवेशनको तेस्रो बैठकमा आगामी आर्थिक वर्षका लागि सात अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँ बराबरको बजेट वक्तव्य सार्वजनिक गरेकी हुन्। 

अगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्षको भन्दा १५ प्रतिशत बढी रहेको उप-मेयर शाक्यले बताइन्। चालू आर्थिक वर्षका लागि महानगरले ६ अर्ब ५० करोड पाँच लाख ८८ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो।

स्रोत व्यवस्थापनतर्फ संघीय सरकारबाट एक अर्ब ३२ करोड ८० लाख र बागमती प्रदेश सरकारबाट २२ करोड ९२ लाख ९२ हजार प्राप्त हुने अनुमान गरिएको उपप्रमुख बज्राचार्यले बताइन्। 

महानगरले विश्व सम्पदा क्षेत्रभित्र भवन सम्पदा नियम पालना गरी निर्माण गरिएका घरहरूको सम्पति कर मिनाहा गर्ने भएको छ। विद्युतीय सवारी प्रयोग गर्ने ललितपुरबासीले सम्पत्ति कर छुट मागेमा सम्पत्ति करमा ५ प्रतिशत कर छुट दिने उल्लेख छ।  

असार ९, २०८१ सोमबार २१:५३:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।