गेटाको टेन्डरमा मिलेमतो : ५ करोडको मोडुलर ओटी ८ करोडमा किन्न स्पेशिफिकेशनमा भारतीय कम्पनीको क्याटलग नै कपिपेष्ट

गेटाको टेन्डरमा मिलेमतो : ५ करोडको मोडुलर ओटी ८ करोडमा किन्न स्पेशिफिकेशनमा भारतीय कम्पनीको क्याटलग नै कपिपेष्ट

काठमाडौँ : कैलालीको गेटा अस्पतालले २०८० चैत ३० (अप्रिल १२, २०२४) मा करिब आठ करोड २४ लाखमा मोडुलर अपरेटिङ थिएटर (मोडुलर ओटी) खरिद गर्ने गरी आह्वान गरेको टेन्डरको स्पेशिफिकेशन शाल्य ब्रान्डको क्याटलग नै कपि गरेर राखेको पुष्टि भएको छ।

उकेराको खोजमा अस्पताल प्रशासनले मोडुलर ओटीको ठेक्का भारतीय शाल्य ब्रान्डको नेपाली एजेन्टलाई दिन कम्पनीको क्याटलग जस्ताको त्यस्तै टेन्डरको स्पेशिफिकेशनमा राखेको खुलेको छ। 

गेटामा अहिले ८० करोड बराबरको स्वास्थ्य सामाग्री र उपकरण खरिदको प्रक्रिया अगाडि बढिरहेको छ। त्यसमध्ये खरिद प्रक्रियामा रहेको मोडुलर ओटीको प्राविधिक स्पेशिफिकेशन हेर्दा मुख्य बुँदाहरू भारतीय उत्पादक कम्पनी ‘एक्सेलेन्स मेडिकल टेक्नोलोजिज् प्रालि’ को ‘शाल्य’ ब्रान्डसँग हुबहु मिल्नेगरी लक्ड गरिएको पुष्टि भयो।

शाल्य ब्रान्डको नेपाल सप्लायर्स कम्पनी ‘बालाजी सर्जीकल’ सप्लायर्सले मोडुलर ओटीको टेन्डरमा आवेदन दिएको थियो। पहिल्यै मिलेमतोमा स्पेशिफिकेशन लक्ड गरिएकाले यो टेन्डर उसैले पाउने पक्कापक्की छ। 

गेटाको निर्देशक डा विप्लव सापकोटा हुन् भने बायोमेडिकल इन्जिनियर हरेन्द्र चटौत छन्। चटौतलाई अस्पतालले करारमा राखेको हो। यो मिलेमतोमा चटौतको प्रत्यक्ष मिलेमतो देखिन्छ। सापकोटाले चटौतलाई बदमासीमा साथ दिएको देखियो।

चटौतले सुदूरपश्चिम प्रदेशको कन्चनपुरस्थित अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयमा समेत बायोमेडिकलको रूपमा परामर्शदाताको रूपमा काम गरेका थिए। उनले उकेरासँगको कुराकानीमा अख्तियारमा कहिलेकाहीँ काम गरेको बताए। तर के काम प्रस्ट खुलाएनन्। केही व्यवसायीले टेन्डरबारे अख्तियारमा मुद्दा परे आफूले मिलाउने दाबी गर्ने गरेको उकेरासँग बताए। तर उनले यो आरोप अस्वीकार गरे।

‘...अख्तियारमा केही विशेष रूपमा कतै बोलाउनुहुन्थ्यो। केही कामहरूचाहिँ हेरेको थिएँ’ उनले भने’ अख्तियारमा मुद्दा मिलाउँछु भनेकोमा सत्यता छैन।‘

चटौतले मोडुलर ओटीको टेन्डरका लागि प्राविधिक मूल्याङ्कनको चरणमा धनगढीको बालाजी सर्जिकल सप्लायर्स कम्पनी छनोट गरिसकेको समेत पुष्टि गरे। तर त्यसबारे सार्वजनिक सूचना सार्वजनिक नगरेको उनले नै बताए।

टेक्निकलमा दुई वटा पास हुनेमा एउटाले सर्टिफिकेट एक्सपायर हाल्दा एउटा मात्रै कम्पनी छनौट भएको उनले दाबी गरे।

उनका अनुसार टेन्डरमा बालाजी सर्जिकल, आरोग्य मेडिकल, द मेडिकल सोलुसन र डीबी मेडिसिन सेन्टरले टेन्डर प्रस्ताव गरेका थिए। प्राविधिक स्पेशिफिकेशनमा बालाजी मात्रै छनोट भएको बायोमेडिकल इन्जिनियर चटौतले नै बताए।

प्राविधिक र आर्थिक दुवै मूल्याङ्कनको चरणमा छनोट हुने सप्लायर्स कम्पनीले नै टेन्डर पाउँछ। प्राविधिक रूपमा बालाजी छनोट भएकाले अब आर्थिक मूल्याङ्कनको चरणमा पनि बजेटको सिलिङ भित्र रहेर टेन्डर प्रस्ताव गरेको भए जति महँगोमा टेन्डर हाले पनि बालाजीले नै मोडुलर ओटीको टेन्डर पाउने करिब निश्चित छ।

तर, प्राविधिक मूल्याङ्कन गरी बालाजीलाई छनोट गरेर टेन्डर प्रस्तावकहरूलाई जानकारी दिए पनि सार्वजनिक रूपमा प्राविधिक छनोट भएको विषयको सूचना सम्प्रेषण किन नगरेको ?

उनले भने ‘त्यो (प्राविधिक छनोट भएको विषय) पब्लिष्ड गर्नै पर्छ भन्ने छैन। फाइनल (सूचना प्रकाशित) गर्छौँ। बिडरहरुलाई चाहिँ तपाईँहरूको यो यो कारणले पास भएन भनेर पठाइदिन्छौ।’

तर, सामान्यतया प्राविधिक रूपमा छनोट भएको विषय प्रकाशित गरी आर्थिक प्रस्ताव खोलिन्छ। त्यसपछि आर्थिक रूपमा छनोट गरी टेन्डर स्वीकृतिको आशय निकालेर निश्चित प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। यो टेन्डरको असार १४ गते आर्थिक प्रस्ताव खोल्ने तयारी रहेको पनि चटौतले जानकारी दिए।

गेटा अस्पतालका निर्देशक डा सापकोटाले खरिद प्रक्रिया विधीसम्मत रहेको दाबी गरे।

पछिल्लो समय गेटाले ८० करोडभन्दा बढी रकमको टेन्डर गरिसकेको छ। अधिकांश टेन्डरको मापदण्ड विवादमा आइरहेका छन्।

सार्वजनिक भएका टेन्डरमध्ये उकेराले यसअघि ल्याबको मेसिन सम्बन्धी ३ करोड ९८ लाख को टेन्डरको अध्ययन गर्दा सिधै निश्चित कम्पनीले उत्पादन गरेको मेसिनको मापदण्डसँग मात्र मिल्ने गरी खरिद प्रक्रिया अगाडि बढाएको देखिएको थियो।

 यसरी भयो खरिद सेटिङ

गेटाले मोडुलर अपरेटिङ थिएटर (मोडुलर ओटी) खरिद तथा जडान (सप्लाई, इन्टलेशन र कमिशनिङ अफ मोडुलर अप्रेसन थिएटर) गर्नेगरी टेन्डर गरेको देखिन्छ।

गेटा अस्पतालले गरेको टेन्डर आह्वानको सूचनामा सो मोडुलर ओटी खरिदका लागि ‘प्रि–बिड मिटिङ’ हुने मिति २०८१ वैशाख २३ गते (मे ०५, २०२४)लाई तोकेको थियो। ‘प्रि–बिड मिटिङ’मा सप्लायर्स कम्पनीहरूलाई चित्त नबुझेको खण्डमा स्पेशिफिकेशन संशोधनको माग गर्न सक्छन्।

सप्लायर्सले स्पेशिफिकेशन संशोधनको माग गरेको खण्डमा आवश्यकता अनुसार मेसिन खरिद गर्ने संस्था (गेटा अस्पताल)ले स्पेशिफिकेशन संशोधन गर्न सक्थ्यो। तर, गेटा अस्पतालले निश्चित कम्पनीसँगमात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन बनाएको उकेराले प्राप्त गरेको तथ्यहरूले पुष्टि गर्छ।

अस्पतालले ‘प्रि–बिड मिटिङ’ गरेपछि सप्लायर्सले कम्पनीहरूले निश्चित कम्पनीलाई मात्रै मिल्नेगरी स्पेशिफिकेशन बनाएर सेटिङमा चाहेकै कम्पनीलाई टेन्डर दिनेगरी स्पेशिफिकेशन संशोधनको माग गर्ने नै भए।

त्यसपछि गेटाले २०८१ जेठ दुई (मे १५, २०२४) मा मोडुलर अपरेटिङ थिएटर (ओटी)को खरिदको स्पेशिफिकेशनमा भएका केही बुँदा संशोधन पनि गर्यो।

संशोधित टेन्डर कागजातमा गेटा अस्पतालका निर्देशकको नै हस्ताक्षर छ। तर, अस्पतालले मोडुलर ओटीको कागजातमा भएको मुख्य बुँदा भने संशोधन नै गरेन।

संशोधन भएका बुँदा पनि थप सप्लायर्सलाई नै फाइदा पुग्नेगरी संशोधन भएको देखिन्छ। अस्पतालले प्रि–बिड मिटिङपछि सो टेन्डरको स्पेशिफिकेशनको संशोधनको कर्मकाण्डी मात्रै पूरा गरेको देखिन्छ।

गेटा अस्पतालले २०८१ जेठ १४ गते (मे २७, २०२४) दिउँसो १२ बजेसम्ममा टेन्डर प्रस्ताव गरिसक्नुपर्ने मिति तोकेको थियो भने सोही दिन दुई बजेलाई नै टेन्डर खुल्ने मिति तोकेको थियो।

मोडुलर ओटीको टेन्डरको ‘आइसिबी नम्बर-०३’ को टेन्डर (आइएफबी) नम्बर ‘जीएच-जी-आइसिबी-०३-२०८०-८१’ रहेको छ। सो टेन्डरमा मोडुलर ओटीको विषयमा लेखिएको छ,‘सप्लाई, इन्स्टलेशन एन्ड कमिशनिङ अफ मोडुलर अप्रेसन थिएटर।’

शाल्य’ ब्रान्डको क्याटलग कपिपेस्ट

गेटामा खरिद प्रक्रियामा रहेको मोडुलर अपरेटिङ थिएटर (मोडुलर ओटी) को स्पेशिफिकेशनको मुख्य बुँदाहरू भारतीय उत्पादक कम्पनी ‘एक्सेलेन्स मेडिकल टेक्नोलोजिज् प्रालि’ को ‘शाल्य’ ब्रान्डसँग मात्रै मिल्नेगरी लक्ड गरिएको देखिन्छ।

अस्पतालले २०८० चैत ३० (अप्रिल १२, २०२४) मा मोडुलर ओटी खरिदका लागि आह्वान गरेको टेन्डर कागजात (बिड डकुमेन्ट)को प्राविधिक स्पेशिफिकेशनको नम्बर ‘बी’ मा मोडुलर ओटीको प्राविधिक स्पेशिफिकेशनको बारेमा उल्लेख छ।

टेन्डर कागजातमा प्राविधिक स्पेशिफिकेशनको नम्बर ‘बी’ मा मोडुलर ओटीका तीन वटा छुट्टाछुट्टै प्राविधिक स्पेशिफिकेशन छन्। यो प्याकेजको टेन्डर हो।

तीनमध्ये प्राविधिक स्पेशिफिकेशनको पहिलो नम्बरमा मोडुलर ओटीको प्राविधिक स्पेशिफिकेशनका बारेमा उल्लेख छ।

दोस्रोमा ओटी लाइट (हाइ इण्ड) को प्राविधिक स्पेशिफिकेशन छ भने तेस्रोमा इलेक्ट्रो–हाइड्रोलिक ओटी टेबल (हाइ इण्ड) को प्राविधिक स्पेशिफिकेशन छ।

मोडुलर ओटीका यी तीनवटै प्राविधिक स्पेशिफिकेशन भारतीय उत्पादक कम्पनी ‘एक्सेलेन्स मेडिकल टेक्नोलोजिज् प्रालि’द्वारा उत्पादित ‘शाल्य’ ब्रान्डसँग मात्रै  मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन बनाएर यसको नेपाली सप्लायर्स बालाजीलाई मोडुलर ओटीको टेन्डर दिन मिलेमतो गरेको देखिन्छ।

मोडुलर ओटीको टेन्डर कागजातमा भएको पहिलो नम्बरको प्राविधिक स्पेशिफिकेशनमा भएका विभिन्न मुख्य बुँदाहरू ‘शाल्य’ ब्रान्डसँग मात्रै मिल्नेगरी लक्ड गरिएको प्रस्टै देखिन्छ।

गेटा अस्पतालले मोडुलर ओटीको टेन्डर कागजातमा दोस्रो नम्बरमा भएको ओटी लाइट (हाइ इण्ड) को प्राविधिक स्पेशिफिकेशनका मुख्य बुँदाहरू ‘शाल्य आइलक्स सिरिज’ लिड ओटी लाईटसँग मात्रै मिल्नेगरी लक्ड गरेर नेपाली सप्लायर्स बालाजीलाई टेन्डर दिने अन्तिम तयारी गरेको छ।

ओटी लाइट (हाइ इण्ड)को सो टेन्डरको प्राविधिक स्पेशिफिकेशनको विशेषगरी ‘३.२२’, ‘३.२३’, ‘३.२४’, ‘३.२५’, ‘३.२६’, ‘३.२७’, ‘३.३०’, ‘३.३५’, ‘३.४४’ र ‘३.५६’ लगायतका मुख्य बुँदाहरू ‘शाल्य’ ब्रान्डसँग मात्रै मिल्नेगरी लक्ड छन्।

गेटा अस्पतालले ओटी लाइट (हाइ इण्ड)को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘३.८’, ‘३.१४’ र ‘३.३०’ भने संशोधन गर्यो। तर, टेन्डर दिन लागिएकै सप्लायर्स कम्पनीलाई थप फाइदा पुग्नेगरी संशोधन गरेको देखिन्छ।

गेटाले ओटी लाइटको बुँदा नम्बर ‘३.१४’ मा भएको ‘दी थिकनेश अफ दी लाइट हेड स्याल बी नो मोर द्यान ७०एमएम’ भन्ने प्रावधान संशोधन गरेर हटाएको छ।

ओटी लाइट (हाइ इण्ड) को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘३.२२’ मा ‘सुड ह्याभ फोर (४) कलर लिड ल्याम्प्स वीथ इन्डोस्कोपिक मोड’ उल्लेख छ। जुन ‘शाल्य आइलक्स सिरिज’सँग मात्रै मिल्नेगरी लक्ड गरेर प्राविधिक स्पेशिफिकेशन बनाएको देखिन्छ।

ओटी लाइट (हाइ इण्ड) को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘३.२३’ मा भनिएको छ,‘सेन्ट्रल इल्युमिनेन्स सुड बी १६०००० लुक्स अर मोर।’ जुन बुँदा ‘शाल्य आइलक्स सिरिज’को आइलक्स–‘४०’ सिरिजसँग हुबहु मिल्छ।

ओटी लाइटको प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘३.२४’ मा ‘लाइट फिल्ड डायमिटर सुड बी एडजस्टेबल फ्रम १५०एमएम टु ३००एमएम’ उल्लेख छ। यो बुँदा पनि ‘शाल्य आइलक्स सिरिज’को आइलक्स–‘४०’, ‘२०’, ‘१०’ र ‘१२’ सिरिजसँग हुबहु मिल्छ।

त्यसैले सप्लायर्स कम्पनीले दिएको शाल्य आइलक्स सिरिजको क्याटलगमा भएको प्राविधिक स्पेशिफिकेशनका बुँदा नै सर्लक्कै ‘कपी’ गरेर ‘पेष्ट’ गरी उसैको नेपाली सप्लायर्स बालाजीलाई टेन्डर दिनेगरी गेटाले मोडुलर ओटीको लागि ओटीलाईटको प्राविधिक स्पेशिफिकेशन लक्ड गरेको देखिन्छ।

ओटी लाइट (हाइ इण्ड) को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘३.२५’ मा ‘कलर टेम्प्रेचर (के), एटजस्टेबल ३५००–५०००के’ उल्लेख छ। यो बुँदा पनि ‘शाल्य आइलक्स सिरिज’को आइलक्स–‘४०’ र ‘२०’ सिरिजसँग हुबहु मिल्छ।

बुँदा नम्बर ‘३.२६’ पनि लक्ड नै गरिएको छ।  बुँदा नम्बर ‘३.२६’ लेखिएको छ,‘डेफ्थ अफ इलुमिनेशन (एल१+एल२) एज पर आइइसी ६०६०१–२–४१ (भेर २००३) सुड बी ६५०एमएम एन्ड एज पर आइइसी ६०६०१–२–४१ (भेर २००८) सुड बी १२००एमएम।’ यो बुँदा ‘शाल्य आइलक्स सिरिज’को क्याटलगमा उल्लेख भएको आइलक्स–‘४०’ र ‘२०’ सिरिजसँग हुबहु मिल्छ।

ओटी लाइट (हाइ इण्ड)को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘३.२७’ मा ‘कलर रेन्डरिङ इन्डेक्स आरए सुडबी ९५ अर मोर एन्ड आर९ सुड बी ९८ अर मोर’ उल्लेख छ। जुन बुँदा ‘शाल्य आइलक्स सिरिज’को क्याटलगमा उल्लेख भएको आइलक्स–‘४०’ र ‘२०’ सिरिजसँग लक्ड गरिएको प्रस्टै देखिन्छ।

बुँदा नम्बर ‘३.२७’ को ‘कलर रेन्डरिङ इन्डेक्स आरए सुडबी ९५ अर मोर’ लेखिएको मापदण्ड बुँदा ‘शाल्य आइलक्स सिरिज’को क्याटलगमा उल्लेख भएको  आइलक्स–‘४०’ र ‘२०’ सिरिजसँग लक्ड गरिएको छ भने ‘आर९ सुड बी ९८ अर मोर’ लेखिएको मापदण्ड ‘शाल्य आइलक्स सिरिज’को क्याटलगमा उल्लेख भएको आइलक्स–‘४०’ सिरिजसँग लक्ड गरिएको प्रस्टै देखिन्छ।

ओटी लाइट (हाइ इण्ड)को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘३.३०’ मा ‘लिड सर्भिस लाइट सुड बी एटलिष्ट ६००००आवर अर मोर टोटल युजेज आवर सुड बी डिस्प्ले अन स्क्रिन’ थियो।

तर, यो बुँदालाई गेटा अस्पतालले संशोधन गर्यो। संशोधन गरेर ‘लिड सर्भिस लाइट सुड बी एटलिष्ट ६००००आवर अर मोर’ बनायो। जुन कर्मकाण्डी संशोधन मात्रै देखियो। यो बुँदा ‘शाल्य आइलक्स सिरिज’को आइलक्स–‘४०’, ‘२०’, ‘१०’ र ‘१२’ सिरिजसँग हुबहु मिल्छ। यो बुँदा हेर्दा पनि सप्लायर्स कम्पनीले दिएको शल्य आइलक्स सिरिजको क्याटलगमा भएको बुँदा नै सर्लक्कै ‘कपी’ गरेर ‘पेष्ट’ गरी उसैको नेपाली सप्लायर्स बालाजीलाई टेन्डर दिनेगरी गेटाले मोडुलर ओटीको लागि ओटी लाइटको प्राविधिक स्पेशिफिकेशन लक्ड गरेर बनाएको देखिन्छ।

ओटी लाइट (हाइ इण्ड)को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘३.३५’ मा भएको ‘दी रेडियन्ट इनर्जी मस्ट बी लेस द्यान ३.५ एमडब्लु÷वानएमटु सो द्याट लाइफ अफ दी लिड इन्कृज्ड’ भन्ने मापदण्ड पनि लक्ड नै गरेको देखिन्छ।

त्यसैगरी बुँदा नम्बर ‘३.४४’ मा ‘डेफ्थ अफ इलुमिनेशन (एल१+एल२) एज पर आइइसी ६०६०१–२–४१ (भेर २००३) सुड बी ६५०एमएम एन्ड एज पर आइइसी ६०६०१–२–४१ (भेर २००८) सुड बी १२००एमएम’ उल्लेख छ। जुन बुँदा नम्बर ‘३.२६’ बुँदामा उल्लेख भएको भाषासँग हुबहु मिल्छ।

त्यसैले बुँदा नम्बर ‘३.४४’ पनि ‘शाल्य आइलक्स सिरिज’को क्याटलगमा उल्लेख भएको आइलक्स–‘४०’ र ‘२०’ सिरिजको प्राविधिक स्पेशिफिकेशनसँग लक्ड छ।

ओटी लाइट (हाइ इण्ड)को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘३.५६’ र त्यसपछिका मुख्य बुँदाहरू पनि लक्ड गरिएको देखिन्छ। बुँदा नम्बर ‘३.५६’ मा ‘फुल एचडी बाइफाई÷वायर्ड क्यामेरा’उल्लेख छ।

इलेक्ट्रो–हाइड्रोलिक ओटी टेबलमा यसरी गरियो लक्ड

गेटा अस्पतालले मोडुलर ओटीको तेस्रो नम्बरमा रहेको इलेक्ट्रो–हाइड्रोलिक ओटी टेबल (हाइ इण्ड) को प्राविधिक स्पेशिफिकेशनका मुख्य बुँदाहरू पनि भारतीय उत्पादक कम्पनीको ‘शाल्य’ ब्रान्डसँग मात्रै मिल्नेगरी लक्ड गरेर नेपाली सप्लायर्स बालाजीलाई टेन्डर दिने तयारी गरेको प्रस्टै देखिन्छ।

टेन्डर भएको इलेक्ट्रो–हाइड्रोलिक ओटी टेबल (हाइ इण्ड)मा भारतीय उत्पादक कम्पनी शाल्य ब्रान्डको विशेष गरेर ‘फ्लेक्स–५००’ र ‘फ्लेक्स–५०० प्रो’ सिरिज’सँग हुबहु मिल्नेगरी प्रविधि स्पेशिफिकेशनको बुँदा नम्बर ‘३.२२’ लक्ड गरिएको छ। बुँदा नं. ‘३.२२’ मा ‘डाइमेन्शन्स (एप्रोक्स)’ उल्लेख छ।

त्यसैगरी ओटी टेबलको बुँदा नम्बर ‘३.२२’, त्यसपछिको ‘३.१३.१’ देखि ‘३.१३.१०’सम्मका सबै मुख्य बुँदाहरू ‘शाल्य’ ब्रान्डको ‘फ्लेक्स–५००’ र ‘फ्लेक्स–५०० प्रो’ सिरिजसँग हुबहु मिल्नेगरी लक्ड गरेर बालाजीलाई टेन्डर दिने रणनीति अनुसार नै अस्पतालले टेन्डर स्वीकृत गर्ने अन्तिम तयारी गरेको छ।

ओटी टेबलको ‘३.२३’ मा भएको ‘मेकानिकल फंशन’ भन्ने बुँदा पनि ‘शाल्य’ ब्रान्डको फ्लेक्श सिरिजको विभिन्न बुँदासँग हुबहु लक्ड गरेको देखिन्छ।

‘मेकानिकल फंशन’ को बुँदा नं. ‘३.१४.१’ मा ‘म्यान्युअल किड्नी इलेभेटरः १२०एमएम अर मोर’उल्लेख छ। जुन बुँदा ‘शाल्य’ ब्रान्डको ‘फ्लेक्स–५०० प्रो’ सिरिजसँग हुबहु मिल्छ।

ओटी टेबलको प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘५.३’ पनि ‘शाल्य’ ब्रान्डसँग मात्रै मिल्नेगरी लक्ड गरिएको छ।

बुँदा नम्बर ‘५.३’ मा भनिएको छ,‘दी इन्टरनल ब्याट्री ब्याकअप मस्ट बी एट लिस्ट ५०–८० अप्रेशन्स अर एबाउट वान–विक नर्मल अप्रेशन्स इन् केस अफ एक्टर्नल इलेक्ट्रिसिटी फेलियर।’ सो बुँदामा भएको ५०–८० को ब्याट्री ब्याकअप ‘शाल्य’ ब्रान्डको ‘फ्लेक्स–२००’, ‘फ्लेक्स–५००’ र ‘फ्लेक्स–५०० प्रो’ सिरिसजमा उपलब्ध छन्। जुन लक्ड गरेरै टेन्डर गरिएको बुँदा हो।

गेटाले ओटी टेबलको टेन्डर आह्वान गर्दा सार्वजनिक गरेको प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘३.१८’ मा ‘इट सुड ह्याभ म्याक्सिमम लिफ्टिङ क्यापसिटी अफ ३००केजी अर मोर’ भन्ने वाक्य राखेको थियो।

तर, त्यसलाई संशोधन गर्दै गेटाले ‘इट सुड ह्याभ म्याक्सिमम लिफ्टिङ क्यापसिटी अफ २००केजी अर मोर’ भनेर सप्लायर्सलाई नै फाइदा पुग्नेगरी लिफ्टिङ क्यापसिटीको तौल घटाएर २००मा झार्यो। संशोधित बुँदामा सिरियल नं. ‘३.१८’ हुनुपर्नेमा गेटाले त्रृटी गर्दै ‘३.८’ लेखेको छ।

सो बुँदा ‘शाल्य’ ब्रान्डको ‘फ्लेक्स–२००’ सिरिजसँग हुबहु मिल्छ। हुन त ‘शाल्य’ ब्रान्डको ‘फ्लेक्स–५००’ सिरिजमा लिफ्टिङ क्यापसिटीको तौल ३००केजी नभएको हैन। तर, गेटाले ओटी टेबलको सो बुँदा सप्लायर्सको थप नाफाका लागि ‘शाल्य’ ब्रान्डको ‘फ्लेक्स–२००’ सिरिजमा भएको  लिफ्टिङ क्यापसिटीको तौल २००केजी राख्नेगरी स्पेशिफिकेशन बनाएर लक्ड गरिदियो।

असार ९, २०८१ सोमबार २१:४३:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।