आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट खन्याएको भनिएपछि सांसदलाई के जवाफ दिए भौतिकमन्त्रीले ?

आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट खन्याएको भनिएपछि सांसदलाई के जवाफ दिए भौतिकमन्त्रीले ?

काठमाडौं : आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट खन्याएको भन्दै सांसदहरूको तारो बनेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले आफूमाथि लागेको आरोप सत्य नभएको दाबी गरेका छन्। 

सोमबार प्रतिनिधिसभामा विनियोजन शिर्षकअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले आठ अर्ब ७७ करोड रुपैयाँ बजेट धनुषामा मात्रै लगेको भन्ने आरोप सही नभएको जिकिर गरे। उनले विगतमा अगाडि बढेका आयोजनामा बजेट राख्दा कुनै जिल्लामा बढी बजेट गएको भन्दै आफ्नो बचाउ गरे। 

संसदमा आफ्नो बचाउ गर्दै उनले सम्पूर्ण मधेश प्रदेशमा ७ अर्ब ८२ करोड ५० लाख बजेट विनियोजन गरेको बताए। २८ वटा निर्वाचन क्षेत्र भएको कोशी प्रदेशमा १० अर्ब ८४ करोड ४० लाख बजेट गएको उनको भनाइ छ। 

उनले भने, 'एउटा नाम नै नसुनेको पत्रिकाको भरमा जुन पत्रिकाले सबै बजेट, आठ अर्ब ७७ करोड धनुषामा लग्यो भनेर भनेको छ। त्यही पत्रिकालाई आधार मानेर मान्यज्यूहरूले प्रश्न उठाउनुभयो। वास्तवमा त्यो सही होइन। २८ निर्वाचन क्षेत्र भएको कोशी प्रदेशमा एक हजार ८४ करोड ४० लाख बजेट गएको छ। मधेश प्रदेशमा ७८२ करोड ५० लाख बजेट छ। 

उनले आवधिक योजना, राष्ट्रिय नीति तथा अन्य क्षेत्रगत नीति र योजनाले अंगीकार गरेअनुरूप बजेट आएको दाबी गरे।

मंगलबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन,  राप्रपाकै प्रमुख सचेतक ज्ञानेन्द्र शाही, नेपाली कांग्रेसका सांसद हृदयराम थानी, जनमत पार्टीका सांसद अब्दुल खान, कांग्रेसकी सांसद चन्दा चौधरी, एमालेका सांसद रघुजी पन्त, एमालेकै सांसद सूर्यबहादुर थापा, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, रास्वपाकै सांसद शिशिर खनाल लगायत सांसदहरूले मन्त्री महासेठमाथि  आक्रोश पोखेका थिए। 

असार ९, २०८१ सोमबार २०:५७:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।