धर्मको आडमा जोगिएका बम्जन बाल यौन दुराचारी ठहर, सजाय १७ गते तोकिने

धर्मको आडमा जोगिएका बम्जन बाल यौन दुराचारी ठहर, सजाय १७ गते तोकिने

काठमाडौँ : धर्मको आवरणमा अनुयायीहरूको बलात्कार, यौन दुराचार र हत्यासम्म गरेको अभियोग खेपेका रामबहादुर बम्जन बाल यौन दुराचारको अभियोगमा अदालतबाट दोषी ठहर भएका छन्।

जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार उनलाई बाल यौन दुराचारमा दोषी ठहर गरे पनि सजाय भने निर्धारण भएन। उनी दोषी ठहर भएकाले सजाय निर्धारण भने असार १७ को इजलासले गर्नेछ।

आफूलाई तपस्वी दाबी गर्ने बम्जनसँगै अदालतले तोप्चेङ महात्मा गुरु भनिने ज्ञानकुमार बम्जन र जेबी गुरु भनिने जितबहादुर तामाङलाई समेत दोषी ठहर गरेको छ। यी दुबैमाथि मतियारको अभियोग थियो।

लिटिल बुद्धको रूपमा ख्याती पाउन सफल भएका बम्जनले धर्मको आडमा आफ्ना अनुयायीहरूमाथि गरेको अपराधका फेहरिस्त सार्वजनिक भएपछि उनी भूमिगत हुन बाध्य भएका थिए।

नाबालिगहरूमाथि यौन दुर्व्यवहार गर्ने, बलात्कार गरेर अनुयायीहरूलाई बेपत्ता बनाउने अनि केहीको त हत्यासम्म गरेको आरोपमा उनी अनुसन्धानको दायरामा आएपछि उनी फरार भएका थिए।

चार वर्ष प्रहरीलाई छक्क्याउँदै बसेका उनी एकाएक २०८० पुस २४ मा काठमाडौँको बुढानीलकण्ठको एक घरमा पक्राउ परे। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेर सर्लाही पठाएको थियो।

प्रारम्भिक थुनछेकमा सर्लाही अदालतले २०८० पुस २७ मा मुद्दाको अन्तिम किनारा नलागेसम्म उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनी कारागारमा बस्दै आएका छन्।

बाल यौन दुराचारमा दोषी, हत्यामा के ?

बम्जनमाथि नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान वाइबा बेपत्ता पारेको आरोपसँगै सर्लाहीको आश्रममा बाल यौन दुराचार गरेको आरोप लागेको थियो।

सोमबार फैसला आएको सर्लाहीस्थित आश्रममा बाल यौन दुराचार गरेको अभियोगको मात्र हो। २०७६ मा पीडित नाबालिगले बम्जनले आफूमाथि गरेको यौन दुर्व्यवहारको घटना सार्वजनिक गरेकी थिइन्।

सञ्चमानको हत्याको आशङ्कामा प्रहरीले २०७६ मा सिन्धुपाल्चोकको इन्द्रावती–६, बाँडेगाउँको दुर्गम स्थानमा रहेको तोड्के जङ्गलमा रहेको उनको आश्रममा छापा मारेको थियो। सञ्चलालको हत्या गरेर आश्रमभित्रकै जङ्गलमा गाडेको शंकामा प्रहरीले शंका लागेको स्थानमा खन्दा नुनका पोकाको खोलहरू फेला परेपछि गाडेर शव चाँडो गलाउन नुन हालेको आशङ्का गरेका थिए।

खाल्डो फेला परेको केही पर जङ्गलमा काठको अंगारहरु समेत फेला परेपछि पहिला खाल्डोमा पुरेर नुन हालेर शव गलाएर पछि हड्डी निकालेर जलाएको शंका गरे पनि त्यसको पुष्टि लायक प्रमाण भने फेला परेन। प्रहरीले खाल्डोको माटो सङ्कलन गरेर परीक्षण गर्दा शव पुगेर गलाएको हो या हैन भन्ने प्रमाण फेला पर्न सक्थ्यो। तर तत्काल प्रमाण सङ्कलन गरेन।

असार ९, २०८१ सोमबार १९:४२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।