सञ्जिबकुमार शर्मा र निराजन पौडेल अवैतनिक वाणिज्यदूतमा नियुक्तसहित यी हुन् मन्त्रिपरिषद्का​​​​​​​ निर्णय

सञ्जिबकुमार शर्मा र निराजन पौडेल अवैतनिक वाणिज्यदूतमा नियुक्तसहित यी हुन् मन्त्रिपरिषद्का​​​​​​​ निर्णय

काठमाडौं : सरकारले अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्य कार्यक्षेत्र रहने गरी सञ्जिबकुमार शर्मा र भिक्टोरिया राज्य कार्यक्षेत्र रहने गरी निराजन पौडेललाई अवैतनिक वाणिज्यदूतमा नियुक्त गर्ने निर्णय गरेको छ। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। 

संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार सरकारले सोमबारदेखि बुधबारसम्म काठमाडौंमा हुने नेपाल र चीनबीच द्विपक्षीय परामर्श संयन्त्रको सोह्रौं बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गठन गरि उक्त बैठकको कार्यसूची स्विकृत गर्ने निर्णयसमेत गरेको छ। 

मन्त्री शर्माले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सिफारिसमा धादिङमा १५ सैय्याको अस्पतालको भवन निर्माण, यातायात व्यवस्था सेवा कार्यालय बर्दिबासको भवन निर्माण र सरावन गाउँपालिकाको वडा कार्यालय तथा प्रशासनिक भवन निर्माणका लागि सरकारी जग्गा उपयोग गर्न स्विकृती दिने निर्णय गरेको बताइन्। 

उनले युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठलाई वैदेशिक भ्रमणका लागि स्विकृती दिएको पनि जानकारी दिइन्। 

उनले भनिन्, ‘युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा असार १४ देखि २० गतेसम्म गणतन्त्र कोरियाको सियोलमा आयोजना हुने कार्यक्रमका लागि खेलकुदमन्त्रीको वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ।’

त्यस्तै, मन्त्रिपरिषद् बैठकले मुख्यसचिवबाट निलम्बित बैकुण्ठ अर्यालको राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ। 
अन्तःशुल्क स्टिकर खरिद प्रक्रियामा भ्रष्टाचार आरोपित निलम्बित मुख्य सचिव बैकुण्ठ अर्याललाई सरकारले आज राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरी सरुवा गर्ने निर्णय गरेको हो। 

‘मुख्यसचिवविरुद्ध मुद्दा दर्ता भएसँगै उहाँ स्वतः निलम्बनमा पर्नुभएको छ। हाललाई राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी उहाँलाई उक्त पदमा सरुवा गर्ने निर्णय भएको छ’, शर्माले भनिन्। 

असार ९, २०८१ सोमबार १८:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।