२५ वर्षदेखि न्युरोडमा कम्मरपेटी बेचिरहेका रामपुकारलाई महानगर प्रहरीले लखेटेपछि लाग्यो- '...नभए भारतै फर्किने'

२५ वर्षदेखि न्युरोडमा कम्मरपेटी बेचिरहेका रामपुकारलाई महानगर प्रहरीले लखेटेपछि लाग्यो- '...नभए भारतै फर्किने'

करिब चार महिनाअघि एकाबिहानै एक हुल नगरप्रहरी न्युरोडको गल्ली-गल्ली चाहर्न पुगे। त्यसक्रममा उनीहरूले सडकपेटीमा सामान राखिएको पसलहरूलाई हटाउन लगाए। त्यसबखत मखनगल्लीको करिब एक दर्जन पसललाई उनीहरुले तुरुन्त ठाउँ खाली गर्न आदेश दिए। तानाशाही शैलीमा आएका उनीहरूले आफूहरूको आदेश मान्नैपर्ने अर्को आदेश दिए। राम पुकार साहको पनि त्यहीँनेर पसल थियो। 

उनी त्यस गल्लीमा २५ वर्षदेखि कम्मरपेटी बेच्दै आएका थिए। उनले त्यहाँ जम्मा दुई फिटको कोठामा व्यापार गर्दै आइरहेका थिए। उनको पसल पनि गल्लीको दुवैतर्फी थियो। वर्षौंदेखि व्यापार गर्दै आएका उनी नगर प्रहरीको त्यो आदेशपछि आत्तिएका थिए नै। त्यसै पनि त्यसबेला महानगर प्रहरीको ज्यादती सहिनसक्नु थियो, कमसेकम फुटपाथ र सडक व्यापारीहरूका लागि। त्यही डरले पनि रामपुकारले तत्काल घरबेटीसँग कुरा गरे। घरबेटीले पनि उनलाई त्यहाँबाट सर्न नै सल्लाह दिए। तर, आफ्नो जीवनको आधाजसो समय त्यहीँ गुजारेका उनले यसरी अचानक त्यहाँबाट सर्नुपर्नेछ भनेर सोचेका पनि थिएनन्। 

'घरबेटीलाई भनें। उनीहरुको घर हो। छोड भनेपछि अर्को ठाउँमा जानुपर्यो,' उनी भन्छन्, 'म पछि त्यहाँबाट गएँ। तर बाँकी लगभग सबै पसल त त्यतै बसिरहेको छ। मलाई मात्र त्यहाँबाट हटाएको जस्तो भयो नि। मेरो लक्की ठाउँ थियो त्यो।' 

व्यापार गर्नको लागि ठाउँ सँगै वरपरको वातावरणले पनि ठुलो महत्व राख्छ। अझ लामो समय बसेको ठाउँमा त झन् भावना नै जोडिएको हुन्छ। त्यसबेला आफ्नो लागि लक्की ठानेको ठाउँलाई छोड्न परेकोमा उनको चित्त दुख्यो। 

उनको लागि त्यो ठाउँ यति फापेको रहेछ कि बाटोमा हिँड्ने हरेक बटुवाले हेरेर भए पनि जाने अनि पछि त्यहीबाट सामान किन्ने गरेका रहेछन्। न्युरोडको साँघुरो गल्लीमा भएको पसलहरू मध्ये उनको पसल पनि ग्राहकहरू माझ निकै प्रचलित थियो। कोठा सानो भए पनि उनले त्यहाँको २५ हजार भाडा तिरिरहेका थिए। उनको त्यस गल्लीमा भएको पसलको ढोकामा अहिले कागज टाँसिएको देख्न सकिन्छ। जसमा उनको नयाँ पसलको ठेगाना लेखिएको छ। 

ठाउँको सकस 
रामलाई त्यहाँबाट सर्न भनिएपछि उनले वरपर धेरै ठाउँ खोजे। तर न्युरोडमा व्यापारको लागि कम मूल्यमा ठाउँ पाउनु चानचुने कुरा होइन। जे भए पनि व्यापार गर्नु नै थियो, त्यसको लागि उनलाई नयाँ ठाउँ खोज्नु नै थियो। त्यही खोज्ने क्रममा उनले इन्द्रचोक नजिकैको एउटा घरमा ठाउँ खालि भएको चाल पाए। उनलाई त्यो ठाउँ खासै चित्त बुझेको त होइन। तर केही नहुनु भन्दा त्यसैमा बस्नु उनलाई उचित लागेछ। 

अहिले न्युरोडबाट इन्द्रचोक नपुग्दै दुई घर अघि उनको पसल छ। तर, माथिल्लो तल्लामा। 

‘यहाँ पसल माथिल्लो तलामा छ। मान्छे माथि ल्याउन गाह्रो हुन्छ। यहाँ स्पेस ठुलो भए पनि व्यापार भएन,’ उनले आफ्नो नयाँ पसल वरपर हेर्दै सुनाए, 'अहिले यो व्यापारिक एरियामा भीडभाड नै कम छ। त्यसमाथि तल बसेर मान्छेलाई माथि पसल हो भनिरहन निकै गाह्रो छ। ग्राहकहरू अप्ठ्यारो मान्छन्। उता (मखनगल्ली)मा भए बाटै त्यही भएको कारण ग्राहकहरू हिँड्दा पनि हेर्दै जान्थ्यो।'

अहिले उनको पसलमा कम्मरपेटी बाहेक पर्स, ब्याग, सुटकेस लगायतको सामान छन्। तुलनात्मक रुपमा उनको पसल पनि निकै ठुलो देखिन्छ। तर यसलाई बाध्यता भन्ने गर्छन् उनी। 

‘हामी सानो पसल राख्नेलाई यति आँट्ने सोच कहाँबाट आउनु! यो त बाध्यताले गर्न परिरहेको छ। छोराले राखौँ भनेर नयाँ सामान पनि हालेको नि,’ नजिकै बसेको छोरालाई हेर्दै उनले भने। 

उनले आफ्नो जीवनकालमा अहिले जस्तो व्यापार कम भएको याद गरेका छैनन्। मखनगल्लीमा काम गर्दा उनले दैनिक पाँच हजार सम्मको व्यापार गर्थे। यहाँ मुस्किलले दिनमा हजार सम्मको व्यापार हुने उनले बताए। 

पढाइ छोडेर काम गर्न काठमाडौँमा 
रामपुकारको घर भारत हो। उनको घर नेपाल र भारत सिमानाको धेरै नजिक छ। गाउँमा उनीहरुको धेरै ठेलागाडा थियो। उनका बुवाले खेती सँगै ठेलागाडा चलाउने काम गर्थे। सिमाना नजिक भएको कारण धेरैजसो भन्सारको सामान ओहोरदोहोर गरिदिने काममै उनको बुवा व्यस्त रहन्थे। उनी पनि बुवालाई पछ्याउँदै जान्थे। 

यसबीचमा उनको पढाइ पनि चलिरहेकै थियो। तर, यही क्रममा एक व्यापारीले उनलाई नेपाल लगेर काम दिने आश्वासन दिए। गाउँमा खासै पढ्ने माहोल थिएन। उनले पनि काम गर्ने इच्छा देखाए। अनि बुवाको स्वीकृतिमा उनी त्यस व्यापारीसँग काठमाडौँ आइपुगे। 

'त्यसबेला पढ्न पर्छ भनेर मात्र पनि भएन। मैले तीन कक्षा भन्दा बढी पढिन। काम गर्न सानैमा आएको अहिलेसम्म यतै छु,' उनले भने। 

उनले त्यस व्यापारीकोमा दश वर्ष काम गरे। महिनाको चार सय रुपैयाँ तलब र खान बस्नको व्यवस्था थियो। त्यै भएर उनी यतै रम्दै काम गर्न थाले।

'जागिर हुँदा बिहानै चार बजे उठेर राति १२ बजेसम्म काम गर्न पर्थ्यो। दुख धेरै थियो। सबै बाहिरको पसलमा जाने, सामान बोक्ने पनि म आफैले गर्ने पर्थ्यो,’ उनले भन्दै गए, 'आफ्नो पसल खोलेपछि पनि गाह्रो त भयो। सबै आफैले गर्नुपरे पनि म खुस छु।’

साहुकोमा काम गर्दा उनले होलसेलका धेरै व्यापारी चिनिसकेका थिए। सामान र बजार पनि राम्रोसँग चिनेका थिए। त्यै भएर उनले दश वर्ष पछि आफ्नै पसल खोल्ने सोचे। उनले त्यसबखत जम्मा दश/बाह्र हजारको लगानीमा आफ्नो पसल खोलेका रहेछन्। सुरुमा कम्मरपेटी मात्र राखेका उनले बिस्तारै पर्सहरू पनि बेच्न थाले। त्यसबेला नै उनले दैनिक पाँच हजार बराबरको व्यापार गर्थे। 

काममा तल्लीन भएको कारण उनले न्युरोड खासै घुमेका पनि थिएनन्। उनलाई सबेरै उठेदेखि पसलकै मात्र चिन्ता हुन्थ्यो रे। त्यै भएर उनले २५ वर्षअघि देखेको न्युरोड र अहिलेको न्युरोडमा ठुलो घर र भीडभाड कम भएको बाहेक खासै नौलो महसुस गरेका छैनन्। तर, बजारमा प्रतिस्पर्धा भने दिनदिनै बढ्दै गरेको उनको अनुभव छ। 

‘न्युरोडमा चहलपहल नै घट्यो’
‘व्यापारी मान्छे त्यस्तै त हो नि। नाफाघाटा भइनै रहेको हुन्छ। ऋण लिनै पर्यो। धन्न मान्छेले मेरो इमान्दारी हेरेर ऋण दिन्छ। नत्र व्यापारमा अहिले धेरै सकस छ,’ उनले भने, 'ग्राहकहरू पनि झन् बढी बार्गेनिङ गर्न थालेको छ। पाँच रुपैयाँ भए पनि घटाउनै खोज्छ।’ 

अहिले उनी भीमसेनथानमा परिवारसँग बस्छन्। उनको परिवार यहाँ आएको पनि धेरै भएको छैन। चाडबाडको समय बाहेक उनी प्राय यतै हुन्छन्। त्यही भएर यहीको परिवेश उनलाई मन पर्छ रे। केही समय अझै हिम्मत नहारी यतै बस्ने सोचमा रहेको उनले सुनाए। 

'पसल माथि भएर व्यापार राम्रो हुनेमा मलाई अझै शंका छ। हेरम न छोराहरूले पनि मद्दत गर्छ। उनीहरुको आइडियाले केही बढ्ला कि !,’ उनले भने। 

न्युरोडमा पहिला जस्तो चहलपहल भयो भने चाहि उनको तत्काल घर फर्किने सोच छैन। पार्किङको व्यवस्था हटेपछि पनि अहिले यहाँको व्यापारिक क्षेत्रमा धेरै भीडभाड घटेको उनले बताए। लकडाउनको समयमा चार महिना पसल बन्द गरेर बसे पनि धेरै घाटा महसुस नगरेका  उनले पछिल्लो समय ठाउँ परिवर्तन गरेर त्यो भन्दा बढी घाटा भएको महसुस गरेका छन्। त्यै भएर पसल ठुलो बनाए पनि उनको अनुहारमा खुसी देखिन सकिरहेको छैन। 

‘व्यापारिक क्षेत्रमा चहलपहल घटिरहेको छ। सम्बन्धित मान्छेले यसबारेमा सोचेकै होला। हामी त साधारण, आफ्नै काम गरेर खाने मान्छे हो। एक छाक आफ्नो मिहिनेतको खान पाए पनि खुसी हुन्छौं,’ उनी भन्छन्, 'अब यो समयमा आएर अगाडि बढ्न सकेन भने घर फर्किने त छँदैछ। उपर्वालाले जे गर्छ ठिक गर्छ।'

असार ९, २०८१ सोमबार १६:५५:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।