'सहकारीको रकम हिनामिना गर्नेलाई प्रधानमन्त्रीले सहयोग गरेर गृहमन्त्री बनाए'

'सहकारीको रकम हिनामिना गर्नेलाई प्रधानमन्त्रीले सहयोग गरेर गृहमन्त्री बनाए'

काठमाडौं : राष्ट्रिय जनमोर्चा पार्टीले आन्दोलनरत सहकारी पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ। 

सोमबार माइतीघरमण्डलतामा गएर पार्टीका अध्यक्ष चित्रबहादुर केसीले लाखौं बचतकर्ताको अर्बौँ रकम अपचलन गरिएको भन्दै लामो समयदेखि आन्दोलनरत सहकारी पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जाहेर गरेका हुन्। 

उनले भने, ‘मैले यो आन्दोलनमा ऐक्यबद्धता जनाउन चाहन्छु। सहकारीबाट देशको अर्थतन्त्र राम्रो हुन्छ भनेर बैंक राख्नु भन्दा सहकारीमा खाइ नखाइ राखेको पैसा हिनामिना भएको छ।’

उनले सरकारको आड र शक्तिको भरमा सहकारीको अर्बौँ पैसा हिनामिना गरेर जनताको पसिनामाथि पनि  हिनामिना भएको भन्दै आक्रोश पोखे। 

उनले भने, ‘सहकारीको अर्बौँ पैसा हिनामिना भएको छ, त्यो सरकार बाहिरको मान्छेले भन्दा सरकारको आडमा, शक्तिको भरमा लाखौं लाख जनताको पसिनामा सहकारी ठगहरूले हिनामिना गरेका छन्।’

सहकारी ऐनमा नै समस्या रहेको कारण ऐनमा संशोधन गरेर, नीति बनाएर ठगहरूलाई कडा कारबाही गर्दै जानुपर्ने पनि उनको भनाइ छ। 
 
उनले भने, ‘हाम्रो सहकारी ऐनमा नै समस्या छ। ४८ सालको ऐन छ, सहकारी ऐन, त्यो अधुरो पनि छ। त्यसकारण सबैभन्दा पहिलो कुरा ऐनमा संशोधन गरेर, सहकारीको नीति बनाएर ठगहरूलाई कडा कारबाही गर्दै जानुपर्छ।’

अध्यक्ष केसीले सहकारीको रकम हिनामिना गर्नेलाई प्रधानमन्त्रीले सहयोग गरेर गृहमन्त्री बनाएको आरोप समेत लगाए। 

असार ९, २०८१ सोमबार १५:२०:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।