'जबसम्म समाजमा जात व्यवस्था रहिरहन्छ, तबसम्म दलित समुदायले पीडा खेपिरहनु पर्छ'

'जबसम्म समाजमा जात व्यवस्था रहिरहन्छ, तबसम्म दलित समुदायले पीडा खेपिरहनु पर्छ'

काठमाडौं : सप्तरीमा भएको दलित परिवारमाथि यादव समूहको सांघातिक आक्रमणको बचाउमा जनमत पार्टीका मधेश प्रदेश संसदिय दलका नेता महेश यादव लागेको परिवारले आरोप लगाएको छ। 

क्रान्तिकारी दलित राजनीतिक संगठनले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा पीडित रञ्जित कुमार पासवानले हरिसुदन यादवको नेतृत्वमा १०–१२ जनाको हतियारधारी समूहले आक्रमण गरेर आफूसहित छ जनाको परिवारलाई गम्भीर घाइते बनाएको आरोप लगाए। 

टाउकोमा १४ टाँका लगाएर पत्रकार सम्मेलनमा उपस्थित भएका पासवानले प्रश्न गरे, ‘हामी दलितको कोखबाट जन्मनु अपराध हो सरकार, हामी गरिब र होचा-निमुखाको कहिल्यै दिन आउँदैन?’ 

आक्रमण भएलगत्तै प्रहरीकहाँ पुग्दा पनि प्रहरीले कुनै प्रतिक्रिया नदिएको बताउँदै ९ दिनसम्म जाहेरी नलिएको र उल्टै आफूहरूलाई फसाउन जनमत पार्टी नेता महेस यादव लागेको पासवानले आरोप लगाए। पासवानले न्यायका लागि काठमाडौं पुगेर हल्ला गरे थप आक्रमण गर्ने धम्कि आउन थालेको बताए।

उनले भने, 'प्रहरी, सिडिओदेखि सबैले यादव समूहको मुद्दा लिन्छन् तर हामी पीडितको कुरो सुन्दैनन्, अनि के गर्ने?'

एकीकृत दलित मुक्ति मोर्चा नेपालका संयोजक दर्शन कुमार नेपालीले सप्तरीमा दलित पासवान परिवारमाथि सांघातिक आक्रमण गर्ने यादव समूहमाथि हदैसम्मको कारबाही गर्न माग गरे। संयोजक नेपालीले घरेलु हात-हतियार प्रयोग गरेर घाते पीडितहरू प्रहरीकहाँ जाँदा उजुरी नलिनु पनि घोर अपराध भएको जिकिर गरे। 

उनले जनमत पार्टी मात्रै नभएर ठूला भनिएका पार्टीहरूले पनि दलित समुदायमाथि अन्याय गरेको आरोप लगाउँदै प्रश्न गरे, 'के नेपाली काँग्रेस जन्मजात अपराधीको संरक्षक हो, के एमाले बलात्कारी र हत्याराको अभिभावक हो, के माओवादी सत्तामा रहेर अपराधी संरक्षण गर्ने ठेकेदार हो?'

निरन्तर दलित समुदायमाथि अन्याय हुँदा सबै चुप लागेर न्याय नदिनु ठूलो अपराध भएको नेपालीको जिकिर छ। 

नेपाल राष्ट्रिय दलित केन्द्रका अध्यक्ष उपेन्द्र कुमार छटुन्जेलले कानुनी राज भनिएको देशमा दलितमाथि अझै पनि पासविक व्यवहार भएको बताए। 

उनले भने, '९ दिनसम्म पनि प्रहरी प्रशासनले उजुरी लिँदैन, बरू पावर र पहुँचको बलमा ‘होचाको मुखमा घोचो’ भनेजस्तै उल्टै पीडितलाई नै फसाउने षड्यन्त्र भएको छ, के यो देशमा कानुन छ त?' 

त्यस्तै, नेपाल राष्ट्रिय दलित केन्द्रका महासचिव राजकुमार पासवानले जनमत पार्टी मधेश प्रदेशको संसदीय दलको नेता महेस यादवको दबाबमा ९ दिनदेखि जाहेरी दर्ता गर्न नदिएको आरोप लगाए। 

पासवानले पीडित परिवारका ६ जना मध्ये ४ जना गम्भीर घाइते भएको र उनीहरूको आर्थिक अवस्था कमजोर भएको कारण उपचारको व्यवस्था पनि नभएको बताए।

मधेशमा नेता यादवको दबदबाहट भएकोले पीडितले न्याय नपाउने निश्चित भएकोले केन्द्र सरकारले हस्तक्षेप गरेर पीडकलाई हदैसम्मको कारबाही गर्न माग गर्दै पासवानले भने, 'दलित र गरिबको पक्षमा लड्ने प्रचण्ड सरकारले पीडितको सुरक्षा, क्षतिपूर्ति र उपचारको व्यवस्था गर्नुपर्छ।'

संयुक्त दलित अधिकार मञ्च–नेपालका कार्यवहाक संयोजक सुजन साहशंकरले जात व्यवस्थाको आवरणमा निरन्तर नेपाली समाजमा घटना घटिरहेको दाबी गरे। 

'जबसम्म समाजमा जात व्यवस्था रहिरहन्छ तबसम्म दलित समुदायले पीडा खेपिरहनु पर्छ, जुन दुर्भाग्य हो,' उनले भने। 

के हो सप्तरीमा पासवान परिवारमाथि सांघातिक आक्रमणको घटना?
सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ फत्तेपुर टोलमा गत असार १ गते दिउँसो २ बजे पृतम पासवान परिवार बसिरहेको स्थानबाट विस्थापन गर्ने योजनासहित पूर्व क्षेत्रपाल हरिसुद यादव समूहले घरेलु हातहतियार प्रयोग गरेर आक्रमण गरेको थियो।

करिब २० वर्षदेखि सो ठाउँमा बस्दै आएको पासवान परिवारलाई हरि सुदन यादव रोशन यादव, निरज यादव, राम यादव, विवेक यादव, ऋषि यादव, रोहित यादव लगायत ११/१२ जनाको समूहले खुकुरी, लाठी, चिर्पट, हँसिया, फलामका रड लगायत घरेलु हतियारसहित आई घरमा बसिरहेका प्रितम पासवान, मुसनी देवी पासवान, रञ्जित पासवान, सरिता देवि पासवान, रितु पासवान, राखि पासवान लगायतलाई एक्कासि अन्धाधुन्ध ज्यानै लिनेगरि कुटपिट गरि घरसमेत भत्काइएको थियो। सो लगत्तै प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यले सप्तरी पुगेका पासवान परिवारको ९ दिनसम्म उजुरी लिइएको छैन।

घटनामा पासवान परिवारका ६ जनामध्यै ४ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको उपचारका लागि राजविराज लगिएको बताइएको छ।

असार ९, २०८१ सोमबार १४:०१:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।