भागबन्डामा परेको दुई राजदूत सिफारिस गर्न रास्वपाले माग्यो आवेदन, हित नबाझिने र पिआर नलिएका मात्र योग्य हुने

भागबन्डामा परेको दुई राजदूत सिफारिस गर्न रास्वपाले माग्यो आवेदन, हित नबाझिने र पिआर नलिएका मात्र योग्य हुने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीले सत्ता भागबन्डामा आफ्नो भागमा परेको दुई देशको राजदूतको नाम सिफारिस गर्न पार्टीगत आठ बुँदे मापदण्ड बनाएको छ।  पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालको संयोजकत्वमा बनेको समितिले ‘राजदूत सिफारिस मापदण्ड २०८१’ तयार गरेर पार्टी सभापति रवि लामिछानेलाई बुझाएको छ।

सोविता गौतम र प्रा.डा. अतिन्द्र दाहाल सदस्य रहेको कार्यदलले बुझाएको मापदण्डमा नियुक्त हुने मुलुकमा कुनै प्रकारको हित बाझिने अवस्था नरहेको, विदेशी मुलुकको स्थायी/अस्थायी आवासीय अनुमति पत्र वा सुविधा प्राप्त नगरेको, नियुक्ति हुँदाको बखत कुनै अन्तर्राष्ट्रिय वा विदेशी सहायता‌द्वारा सञ्चालित गैरसरकारी संस्थामा कार्यरत नरहेको लगायतका अनिवार्य मापदण्ड तोकिएको छ।

रास्वपाको मापदण्डमा लाभको पद धारण गरी वा नगरी विदेशी राष्ट्रले नियुक्त गरेको जिम्मेवारीमा कार्यरत व्यक्ति भए सो बाट अवकाश लिएको १० वर्ष पूरा भएको समेत राखिएको छ।

मन्त्रिपरिषद्ले ११ देशमा रहेका राजदूत फिर्ता बोलाउने निर्णय गरेसँगै सत्तामा रहेका दलहरुबीच देश भाग लगाएको थियो। एमाले र जनता समाजवादी पार्टीको भागमा परेको आठ जनाको नाम सिफारिस भएकोमा दक्षिण कोरियाका लागि सिफारिस भएका सुशील प्याकुरेलले पद अस्वीकार गरेका छन्। अन्यको हकमा संसदीय सुनुवाइपछि नाम अनुमोदन हुनेछ।

रास्वपाको भागमा रहेको दुई र माओवादीको भागमा रहेको एक देशका लागि राजदूत सिफारिस भएको छैन।  इजरायल, कतार र पोर्चुगलको लागि राजदूत सिफारिस हुन बाँकी भए पनि रास्वपाको भागमा कुन-कुन देशको राजदूत परेको हो त्यो खुलिसकेको छैन।

रास्वपाले बनाएको मापदण्ड

१-नेपालको संविधान, प्रचलित कानुन, तथा "राजदूत नियुक्ति सम्बन्धी निर्देशिका” ले तोकेको अनिवार्य योग्यता

२-न्यूनतम ३५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक

३-भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त नभएको

४-भ्रष्टाचार वा नैतिक पतनदेखि नै फौजदारी कसुरमा अदालतबाट सजाय नपाएको

५-नियुक्त हुने मुलुकमा कुनै प्रकारको हित बाझिने अवस्था नरहेको

६- नियुक्ति हुँदाको बखत कुनै अन्तर्राष्ट्रिय वा विदेशी सहायता‌द्वारा सञ्चालित गैरसरकारी संस्थामा कार्यरत नरहेको

७- कालोसूचीमा नपरेको

८-लाभको पद धारण गरी वा नगरी विदेशी राष्ट्रले नियुक्त गरेको जिम्मेवारीमा कार्यरत व्यक्ति भए सो बाट अवकाश लिएको १० वर्ष पूरा भएको

असार ९, २०८१ सोमबार १३:३६:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।