संघीय संसदका दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्रीसहित नौ मन्त्रीले जवाफ दिने

संघीय संसदका दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्रीसहित नौ मन्त्रीले जवाफ दिने

काठमाडौं : संघीय संसद् अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ। प्रतिनिधि सभाको बैठक विहान ११ बजे बस्दा राष्ट्रिय सभा बैठक सवा १ बजे बस्दैछ।

विहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८०’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुने सम्भावित कार्यसूची छ।

त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले विनियोजन विधेयक, २०८१ अन्तर्गत आफ्नो मन्त्रालयका सम्बन्धमा सांसदहूले सोधेको प्रश्नको जवाफ दिनेछन्। विनियोजन विधेयक अन्तर्गत नै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विषयमा उठेका प्रश्नको जवाफ दिनेछन्।

यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय, राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्।

सभामुख देवराज घिमिरले ३० जना सांसदले पेश गरेको खचै कटौती प्रस्तावलाई निर्णयार्थ पेश गर्नेछन्। त्यसैगरी विनियोजन विधेयक २०८१ का दफाहरुलाई निर्णयार्थ प्रस्तुत गर्दैछन् भने अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक २०८१ लाई पारित गरियोस्’, ‘आर्थिक विधेयक २०८१ माथि विचार गरियोस्’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथि विचार गरियोस्’ र ‘भन्सार महशुल सम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्दैछन्।

त्यसैगरी राष्ट्रिय सभामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले ‘तिलगंङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ सभा समक्ष पेश गर्ने र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

असार ९, २०८१ सोमबार ०७:१९:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।