पत्रकार महासंघले सार्वजनिक गरेको मतदाता नामावलीप्रति अनलाइन पत्रकार संघको आपत्ति

पत्रकार महासंघले सार्वजनिक गरेको मतदाता नामावलीप्रति अनलाइन पत्रकार संघको आपत्ति

काठमाडौं : अनलाइन पत्रकार संघले नेपाल पत्रकार महासंघद्वारा सार्वजनिक गरिएको मतदाता नामावलीप्रति आपत्ति जनाएको छ। महासंघले शुक्रबार राति असार २२ गते मतदान हुनेगरी निर्वाचन कार्यतालिका सँगै मतदाता नामावलीसमेत सार्वजनिक गरेको थियो।

आइतबार संघले विज्ञप्ति जारी गर्दै आफूहरूले सिफारिस गरेका क्रियाशील पत्रकारलाई सदस्यता नदिने र जानकारीसमेत नगराई मनोमानी ढंगले सदस्यता दिने निर्णय महासंघले गरेको भन्दै आपत्ति जनाएको हो। संघले यसलाई तत्काल सच्याउन पनि माग गरेको छ। 

विज्ञप्तिमा भनिएको छ, ‘अनलाइन पत्रकार संघको २०८०।०३।०१ गते बसेको बैठकले ५१ जना सदस्यको नवीकरण, २३ जना नयाँ सदस्यको स्वीकृत, ७ जनाको स्थानान्तरण र एक जनालाई मानार्थ सदस्यको लागि एसोसियट प्रदेश समितिमार्फत नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा पठाएको थियो। तर, केन्द्रीय निर्वाचन समितिले सार्बजनिक गरेको मतदाता नामावलीमा नयाँ सदस्य उल्लेख नभएको, कतिपय नवीकरण नगरेका भनी उल्लेख गरेर पठाएका सदस्यलाई महासंघले संघलाई जानकारी नगराई नवीकरण गर्नु अत्यन्त गैरजिम्मेवारी कार्य हो।'
 
संघले विधान अनुसार सम्पूर्ण प्रक्रिया पुरा गरेर पत्रकारितामा क्रियाशील पत्रकारहरूलाई नयाँ सदस्यको स्वीकृति दिएको भन्दै केन्द्रीय निर्वाचन समितिको ध्यानाकर्षण पनि गराएको छ। 

आफूहरूले उठाएका जायज र विधानसम्मतका मागलाई सम्बोधन गरी पत्रकार महासंघले हामीलाई चुनावमा भाग लिन उपयुक्त वातावरण निर्माण गर्न संघले विज्ञप्तिमार्फत् आग्रह गरेको छ। 

असार ८, २०८१ आइतबार १३:४३:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।