मुगुमा ६ महिनामा १२ वटा मानवअधिकार उल्लंघनका घटना, सबैभन्दा बढी महिला हिंसा

मुगुमा ६ महिनामा १२ वटा मानवअधिकार उल्लंघनका घटना, सबैभन्दा बढी महिला हिंसा

मुगु : मुगुमा ६ महिनाको अवधिमा १२ वटा मानवअधिकार उल्लंघनका घटना भएका छन्। 

आइतबार नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सङ्कलन गरिएका जिल्लाका विवरणमाथि गरिएको अर्ध-वार्षिक समीक्षामा मुगुमा २०८० मंसिर ३१ गते देखि २०८१ जेठ १९ गतेसम्म १२ वटा घटनाका उजुरी परेको इन्सेक जिल्ला प्रतिनिधि सर्जन कुमार शाहीले जानकारी गराए।

शाहीले प्रस्तुत गरेको विवरणमा महिला हिंसाका घटना बढी छन्। जसमा महिला हिंसाको ७ वटा, कुटपिट सम्बन्धी ४ वटा र दुर्व्यवहार सम्बन्धी एउटा घटना भएको छ।   

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख नायब उपरीक्षक बिरेन्द्र थापाले जिल्लामा हुने मानव अधिकार उल्लंघनका घटनाहरुमध्ये सबै प्रहरी समक्ष नपुग्ने र पुगेका घटना पनि दर्ता नभएर मेलमिलापमा टुङ्ग्याउने गरेको भन्ने इन्सेक प्रतिनिधिले गरेको गुनासोप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरे। थापाले आगामी दिनहरूमा सबै विवरण स्पष्ट राख्ने प्रतिबद्धता समेत जनाए।  

असार ८, २०८१ आइतबार १३:२६:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।