गृहमन्त्रीलाई विश्वप्रकाशको प्रश्न : जीबी राईको लोकेशन पत्ता लागेपछि पनि ४ दिन लाग्छ पक्राउ गर्न?

गृहमन्त्रीलाई विश्वप्रकाशको प्रश्न : जीबी राईको लोकेशन पत्ता लागेपछि पनि ४ दिन लाग्छ पक्राउ गर्न?

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई पक्राउ गर्नुभन्दा स्टन्टबाजी बढी भएको आरोप लगाएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले गृहमन्त्री लामिछानेले व्यावसायिक साझेदार राईको लोकेशन पत्ता लाग्यो भनेर राजपत्रमा प्रकाशित गर्नबाहेक बाँकी के छ र भन्दै कटाक्ष गरे। 

उनले भने, 'एउटा देशको फरार अभियुक्त कहाँ छन् भनेर खोजिरहेको बेलामा अर्को देशको गृहमन्त्रीले हामीले लोकेट गरिसक्यौँ भन्छ। सामाजिक सञ्जाल चलाउन उनलाई पनि आउँछ। सामाजिक सञ्जालमा नेपालको गृहमन्त्रीसँग कुरा भएको भनेर लेख्छन् तर गोपनीयता खोल्दैनन्। तर हाम्रो गृहमन्त्रीले गोप्य सूचनाको राजपत्रमा प्रकाशित गरिनुबाहेक मिडियामा बिस्कुन सुकाउनुहुन्छ।'

उनले गृहमन्त्री लामिछानेको केटाकेटीपनको कारण सहकारी ठगी प्रकरणमा फरार जीबी राई पक्राउन पर्ने आशंका गरे। 

गोर्खा मिडियाका तत्कालीन दुई जना मालिकमध्ये एक जना फरार रहेको र अर्का गृहमन्त्री रहेको भन्दै महामन्त्री शर्माले भने, ‘सहकारी ठगीमा फरार भएको व्यवसायीक साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेका गृहमन्त्रीजीले गिरफ्तार गर्नुछ। त्यसैले लोकेशन पत्ता लागिसक्यो भनेर माइकबाट फुक्नुको अर्थ के हुन्छ? अभियुक्त पक्रिने नयाँ शैली हो कि भगाउने नियत हो ?’

जीबी राईको लोकेशन भन्दा पनि जीबी राई नै चाहिएको भन्दै उनलाई सकेसम्म चाँडो पक्राउ गर्नुपर्ने महामन्त्री शर्माको माग छ। 

उनले थपे, 'जीबी राईको लोकेशन हैन, जीबी राई चाहिएको हो। लोकेशन पत्ता लागेको चार दिन भयो, लोकेशन पत्ता लागेपछि पनि चार दिन किन लाग्छ पक्राउ गर्न?'

असार ८, २०८१ आइतबार १३:०२:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।