संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न समिति गठन

संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न समिति गठन

काठमाडौं : संघीय संसद् सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न समिति गठन भएको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको हो। 

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कानुनमन्त्री गिरी, संसद्का महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधु कुमार मरासिनी सहितको समिति गठन गरेको छ। समितिलाई सचिवालयका कर्मचारीका माग सम्बोधन गर्न जिम्मा दिइएको छ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल समेतको उपस्थितिमा बसेको बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल,  एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, मुख्य सचिव बैकुण्ठ अर्याल लगायत उपस्थित थिए। 

यसअघि यही असार ३ गते सभामुख घिमिरे, राष्ट्रिय सभा अध्यक्ष दाहालले दलका प्रमुख सचेतकहरूसँग गरेको छलफलमा कर्मचारीहरूले राखेको माग सम्बोधन गर्न पहल गर्ने सहमति भएको थियो।

संसद सचिवालयका कर्मचारीहरू विभिन्न ११ बुँदे मागसहित जेठ अन्तिमदेखि आन्दोलनरत छन्।

असार ८, २०८१ आइतबार ११:१८:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।