'प्रधानमन्त्री, उप-प्रधानमन्त्री र मन्त्रीको पद पनि जाने डरले गिरीबन्धु टी-इस्टेटको फाइल खोलिएन'

'प्रधानमन्त्री, उप-प्रधानमन्त्री र मन्त्रीको पद पनि जाने डरले गिरीबन्धु टी-इस्टेटको फाइल खोलिएन'

काठमाडौं : नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सत्ता नै समाप्त हुने डरले गिरीबन्धु टी–इस्टेट फाइल खोल्न नसकेको आरोप लगाएका छन्।

कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति काठमाडौं ६ को दोस्रो सम्मेलनमा उनले गिरीबन्धु टी–इस्टेट फाइल खोल्ने खोल्यो भने गठबन्धनको सबैभन्दा ठूलो पार्टीले सरकार प्रतिको समर्थन फिर्ता लिने र प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री पद पनि जाने कारण सत्ता नै समाप्त हुने गरी भ्रष्टाचारको फाइल खोल्न नसकेको बताए। 

उनले भने, ‘भ्रष्टाचारको फाइल खोल्ने हो भनेर अरू विषयका छानबिन हुन बाँकी छ। बिभिन्न विषयहरू उठेका छन्। तर गिरीबन्धु टी–इस्टेटलाई त अदालतले फैसला गरिसकेको छ नि। भ्रष्टाचारको फाइल खोल्छु भन्नेहरूलाई अब गिरीबन्धु टी–इस्टेटे फाइल खोल्न के गाह्रो भयो त? अब त्यो फाइल खोल्ने होइन, त्यो खोल्यो भने त अहिलेको गठबन्धनको सबैभन्दा ठूलो पार्टीले सरकार प्रतिको समर्थन फिर्ता लिन्छ। त्यो भयो भने प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री पनि जान्छ। त्यसैले भ्रष्टाचारको फाइल खोल्नु पर्छ भनेको सत्तामा जानका लागि हो, सत्तामा गएपछि सत्ता नै समाप्त हुने गरी यहाँ भ्रष्टाचारको फाइल खोल्नेवाला छैन।’

उनले गृहमन्त्रीले संसदभित्र विदेशीलाई सूचना बेच्ने मान्छे छ भनेर आफ्नो पदको मर्यादाको समेत ख्याल नराखेको बताए। सरकारमा बसेर मनलाग्दी ढङ्गबाट जे पनि बोल्न नमिल्ने उनको भनाइ छ। 

उनले भने, ‘आज सरकारको उपप्रधानमन्त्रीले रोष्ट्रममा उभिएर म उपप्रधानमन्त्री हुँ मर्यादा राख्नुपर्छ भन्ने सम्म पनि ख्याल नराखेको स्थिति छ। संसदभित्र विदेशीलाई सूचना बेच्ने मान्छे छ भनिसकेपछि गृह मन्त्रालयले यो देशबाट कसले सूचना बेचेको छ भन्ने कुरा थाहा पाउनसक्छ, त्यसको नेतृत्वले भनेपछि त्यो नभएको कुरा हुँदैन, भएको कुरा हुनुपर्छ। सडकको जस्तो जिम्मेवारी नभए जस्तो मनलाग्दी ढंगबाट जे पनि बोल्न सरकारमा बसेर मिल्दैन।’ 

असार ७, २०८१ शनिबार १८:४६:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।