'तरिका मिल्यो भने पूरै कार्यकाल सरकारको नेतृत्व गर्ने हो, माओवादीलाई हटाउन सजिलो छैन'

'तरिका मिल्यो भने पूरै कार्यकाल सरकारको नेतृत्व गर्ने हो, माओवादीलाई हटाउन सजिलो छैन'

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको दल माओवादी केन्द्रलाई सरकारबाट हटाउन सजिलो नभएको दाबी गरेका छन्।  

काठमाडौंमा शनिबार तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले सरकार पुरा अवधि चलाउने दाबी गरे। तरिका मिल्यो भने साढे तीन वर्ष नै सरकारको नेतृत्व आफैंले गर्ने उनको भनाइ छ। 

उनले भने, ‘म प्रधानमन्त्री पदमा धेरै दिन बस्दैन होला भन्ने धेरै हल्लाहरू सुनिएको थियो, यो भन्दाभन्दै आज डेढ वर्ष भइसकेको छ, म बसिरहेकै छु। मैले जे अवस्थाहरू देखेको छु, तरिका मिल्यो भने पूरै अवधि बसिन्छ। ढुक्क भएर काम गरे हुन्छ। हामीलाई हटाउन सजिलो छैन। हामीले गरेका समझदारीहरू इमानदार भएर निभाएका छौ, त्यसकारण आज केही हुन्छ भोलि के हुन्छ भन्ने कुरा बेकार हो। त्यतातिर दिमाग लानै पर्दैन।’

देशको विविधताको अवस्था सबैलाई विचार गरेर नै नयाँ राष्ट्रिय एकताको परिकल्पना गरेको भन्दै उनले त्यसका लागि उत्पीडनमा परेका दलित, महिला र मुस्लिमहरूलाई विशेष अधिकारको व्यवस्था हुनुपर्ने बताए। 

उनले भने, ‘देशको विविधताको अवस्था सबैलाई विचार गरेर नै यो देशको नयाँ राष्ट्रिय एकताको परिकल्पना भएको हो। नयाँ राष्ट्रिय एकताको लागि सबै उत्पीडित जातिहरूलाई अधिकार दिन तयार हुनुपर्छ भन्ने मान्यता हामीले अगाडि सारेको हो। त्यसमा पनि सबैभन्दा बढी सामन्ती राज्यबाट विभेदमा पारिएका दलित, महिला र मुस्लिमहरूलाई विशेष अधिकारको व्यवस्था हुनुपर्छ भन्ने मान्यता पनि हामीले अघि सारेको हो। ती मान्यताहरुलाई तीव्र रुपमा अगाडि बढाउन नसकेको अवस्था थियो तर, अब त्यसलाई अगाडि बढाउने अवस्था आएको छ।’ 

उनले जनवादी क्रान्ति जस्तो लामो अवधि नभए पनि तुलनात्मक रुपले छोटो अवधिमा समाजवादी क्रान्तिको यात्रा नेपालमा प्रारम्भ हुने विश्वास लिएको बताए। 

सरकार, सदन र सडकको तर्फबाट फेरि नयाँ उचाइमा आन्दोलन अगाडि बढाउन आवश्यक रहेको भन्दै उनले मोर्चाहरूलाई बलियो बनाएर अभियानको रुपमा अगाडि लाने क्रममा रहेको बताए। 

असार ७, २०८१ शनिबार १६:४९:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।