काठमाडौंका विभिन्न स्थानमा शनिबार र आइतबार विद्युत् आपूर्ति बन्द हुने

काठमाडौंका विभिन्न स्थानमा शनिबार र आइतबार विद्युत् आपूर्ति बन्द हुने

काठमाडौं : काठमाडौंका विभिन्न स्थानमा शनिबार र आइतबार विद्युत् आपूर्ति बन्द भएको छ।

नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत मर्स्याङ्दी-काठमाडौं २२० केभी आयोजनाले शनिबार सूचना निकालेर शनिबार र आइतबार विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने जनाएको हो।

मातातीर्थ २२० केभीको नयाँ कन्ट्रोल रुममा जडित सबस्टेशन अटोमेसन सिस्टममा पुरानो मातातीर्थ १३२/३३/११ केभी सबस्टेशनभित्रका ११ केभी इन्कमर तथा लाइन फिडरहरूको मर्मतका लागि सटडाउन गर्न लागिएको हो।

आयोजना अनुसार शनिबार ११ केभी इन्कमर शनिबार विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सडडाउन हुनेछ। यसबाट मातातीर्थ, सतुङ्गल, मच्छेगाउँ र फर्पिङ फिडरबाट आपूर्ति हुने विद्युत् लाइन प्रभावित हुनेछन्।

त्यसैगरी आइतबार विहान १० देखि १२ बजे मातातीर्थ फिडर, दिउँसो १२ देखि २ बजेसम्म सतुङ्गल फिडर, २ देखि ४ बजेसम्म मच्छेगाउँ फिडर र ४ देखि ६ बजेसम्म फर्पिङ फिडरमा विद्युत् आपूर्ति बन्द हुनेछ। यी सबै फिडर ११ केभीका हुन्।

प्राधिकरणले वैकल्पिक व्यवस्थाबाट विद्युत् आपूर्ति कम प्रभावित हुने गरी सबै फिडरमा नियमित विद्युत् आपूर्ति गर्ने प्रयास गर्ने र निर्धारित समयअगावै काम सम्पन्न भए लाइन सुचारु हुने जनाएको छ।

असार ७, २०८१ शनिबार ०९:१२:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।