पोखरा र भैरहवा विमानस्थल पूर्ण क्षमतामा चलाउन प्रधानमन्त्री प्रचण्ड सक्रिय

पोखरा र भैरहवा विमानस्थल पूर्ण क्षमतामा चलाउन प्रधानमन्त्री प्रचण्ड सक्रिय

काठमाडौं  : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवालाई पूर्ण क्षमतामा सञ्चालन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैँ सक्रिय भएका छन्।

शुक्रवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उनले सरोकारवाला सरकारी निकायका पदाधिकारीको बैठक राखेर विमानस्थल नचल्नुको कारणबारे विस्तृत छलफल गरे।

छलफलमा प्रधानमन्त्रीले २ वटै विमानस्थल राष्ट्रिय गौरवका आयोजना र देशका लागि रणनीतिक महत्वका परियोजना भएको भन्दै विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका निम्ति सरकारका सम्पूर्ण निकायले समन्वयकारी रूपमा समाधान खोज्नुपर्ने बताएका थिए।

'पोखरा र भैरहवा एयरपोर्ट राष्ट्रिय गौरवका परियोजना हुन्। यी परियोजना निर्माणमा राज्यको ठुलो लगानी भइसकेको छ। निजी क्षेत्रले समेत पर्यटन पूर्वाधारमा लगानी गरिसकेको छ। यस्तो परिस्थितिमा यी विमानस्थलहरू पूर्ण क्षमतामा सञ्चालन गर्नुको अर्को कुनै विकल्प छैन' उनले भने' पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणले गम्भीरतापूर्वक तयारी गर्नुस् र विमानस्थलहरू पूर्ण क्षमतामा सञ्चालनको ठोस प्रस्ताव छिटै ल्याउनु।'

छलफलमा प्रधानमन्त्रीले केही सहुलियत दिएर र सरकारी सेवाको विस्तार गरेर विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको खाका ल्याउन निर्देशन दिएका थिए।

काठमाडौँ एयरपोर्टमा एयर ट्राफिकको समस्या रहेको र यसको उचित समाधान दिनुपर्ने भन्दै उनले अर्कोतर्फ काठमाडौँ एयरपोर्टको सुधार र क्षमता बिस्तारको काम भएको बेलामा भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडान भर्ने गरी आवश्यक तयारी गर्नुपर्ने बताए।

'वैदेशिक रोजगारीमा जाने नेपाली यात्रुहरू र अन्य यात्रुहरूलाई भैरहवा र पोखराबाटै उडान गराउने गरी तयारी गर्नुपर्छ। त्यसका लागि मेडिकल, श्रम स्वीकृति, अध्यागमन लगायतका सरकारी सेवा पोखरा र भैरहवामा व्यवस्थित गर्नुपर्छ। भिसा सेन्टरका लागि कूटनीतिक पहल गर्नुपर्छ' उनले भने।

‘विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि केही सहुलियत दिनुपर्ने हुन्छ। हवाई टिकट, ग्राउन्ड ह्याण्डलिङ, हवाई इन्धनमा केही सहुलियत दिऊँ। निजी क्षेत्रसँग पनि समन्वय गरेर होटेल लगायतमा सहुलियत प्याकेजका निम्तिसमेत अनुरोध गरौँ। सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक कूटनीतिक पहल गरिन्छ। पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणले आवश्यक गृहकार्य गर्नुस्। अरू मन्त्रालय र निकायसँग पनि समन्वय गर्नुस्। अनि छिटै हामी एउटा निष्कर्षमा पुग्छौँ' उनले भने।

छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आफूहरूले आवश्यक गृहकार्य गरेर विमानस्थलहरू पूर्ण क्षमतामा सञ्चालन गर्ने सम्बन्धी ठोस प्रस्ताव प्रस्तुत गर्ने बताए।

पर्यटन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेले सहुलियतपूर्ण प्याकेजसहितका विकल्पमा छलफल गरेर ठोस प्रस्ताव प्रस्तुत गरिने बताउँदै दुवै विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका निम्ति मन्त्रालयको तर्फबाट विदेशी विमान कम्पनीहरूसँग पनि छलफल भइरहेको बताए।

प्रधानमन्त्रीले बोलाएको छलफलमा मन्त्री तामाङ, मुख्यसचिव डा. वैकुण्ठ अर्याल, पर्यटन सचिव डा. पाण्डे, वाणिज्य सचिव दिनेशकुमार घिमिरे, राजस्व सचिव डा. रामप्रसाद घिमिरे, श्रम सचिव घनश्याम उपाध्याय, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी समेत सहभागी थिए।

असार ६, २०८१ शुक्रबार २१:२९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।