संसद्मा ‘हाजिर गरेर टाप नकस्न’ आफ्ना सांसदहरूलाई कांग्रेसको निर्देशन

संसद्मा ‘हाजिर गरेर टाप नकस्न’ आफ्ना सांसदहरूलाई कांग्रेसको निर्देशन

काठमाडौँ : संसद्मा विभिन्न दलका सांसदहरू हाजिर गर्ने अनि भागिहाल्ने प्रवृत्ति बढेसँगै नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई हाजिर गरेर टाप नकसी बजेट सम्बन्धी  छलफलमा सक्रिय सहभागी हुन निर्देशन दिएको छ।

शुक्रवार बसेको संसदीय दलको बैठकले बजेट पास नहुँदासम्म संसद्‌का सबै बैठकमा उपस्थित हुन र सक्रिय सहभागी हुन निर्देशन दिएका हुन्।

प्रमुख प्रतिपक्षी दलका हिसाबले संसद्को बैठकमा उठाउनुपर्ने आम नागरिकको सवालहरूलाई अझ प्रखर रूपमा उठाउन र सरकारमा दबाब बढाउनेबारे समेत बैठकमा छलफल भएको थियो।

वर्तमान सरकारले ल्याएको बजेटमाथि बैठकमा छलफल भए पनि प्रस्ट निर्णय भने गरेन। बजेट असन्तुलित र अपरिपक्व ढङ्गले विनियोजन गरेको र खर्च कटौतीका प्रस्तावहरूको पक्षमा उभिने बैठकले निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताएका थिए।

उनले बजेट पास नहुँदासम्म संसद्‌‌मा अनिवार्य उपस्थित हुन सांसदहरूलाई निर्देशन दिएको र अहिलेको बजेटमाथिको छलफल सकिएर निर्णयार्थ पेस हुने बेला भएकाले बजेटमा राखिएको खर्च कटौतीको प्रस्तावको पक्षमा उभिने उनले बताए।

असार ६, २०८१ शुक्रबार १९:४६:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।