प्रधान र सुवेदीको संयुक्त इजलासले हेर्दाहेर्दैमा परेको गृहमन्त्रीको सुनुवाइ असार १८ मा पुर्‍याए

प्रधान र सुवेदीको संयुक्त इजलासले हेर्दाहेर्दैमा परेको गृहमन्त्रीको सुनुवाइ असार १८ मा पुर्‍याए

काठमाडौँ : महान्यायाधिवक्ता कार्यालयले दिएको सफाइ पत्र र सहकारीको रकम अपचलनको मुद्दाको अनुसन्धान प्रभावित पारेको दाबीसहित गृहमन्त्री रवि लामिछानेसहितविरुद्ध परेको रिट हेर्दाहेर्दैमा सकियो शुक्रवार। न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको २ नम्बर इजलासमा भएको बहसमा सुनुवाइ नसकिएपछि इजलासले १८ गतेलाई अर्को पेशी तोक्यो।

प्राय हेर्दाहेर्दैमा सकिने सुनुवाइ लगत्तै भोलीका लागि पेशी तोकिन्छ। भोली शनिवार सार्वजनिक बिदा भए पनि आइतबार पेशी तोक्न सकिने थियो नै। तर सिधै १२ दिन पर सुनुवाइ सारियो। रिटकर्ता अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा सहकारी ठगी घटनामा गृहमन्त्री रविमाथि छानबिन र छानबिनको समयसम्म उनलाई निलम्बनको माग गरेका छन्।

उनको रिट जेठ १४ गते दर्ता भएको थियो। हेर्न नभ्याइने अनि पटक-पटक हेर्न नभ्याइने सूचीमा परेर रिटको सुनुवाइको समय तन्किरहेको बेलामा शुक्रवारको इजलासबाट लम्ब्याइको सुनुवाइको मितिले समेत शङ्का बढाउने नै भयो।

यस अगाडि जेठ २० मा न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सुनुवाइ गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीबाट दायर भएको जाहेरी कागजात झिकाउन आदेश भएको थियो। तर अदालती आदेशमा भएको त्रुटिमा टेकेर प्रहरीले त्यो सम्बन्धी जाहेरी नै दर्ता नभएको भन्दै गृहमन्त्रीको पक्षमा बढ्याइ गरेको थियो।

जेठ २८ गते न्यायाधीश श्रेष्ठ र डा.मनोज शर्माको संयुत इजलासले बुटवलमा रहेको सुप्रिम सहकारीको ठगी सम्बन्धी अदालतमा दायर भएको मुद्दाको मिसिल मगाउन आदेश दिएका थिए। त्यसयता स्वार्थ बाझिने जोखिम भएर सुनुवाइ सरेकोमा शुक्रवार संयुक्त इजलासमा सुनुवाइ सुरु भयो। रिटकर्ताको पक्ष र विपक्षमा बहस भए पनि बहस सकिएन। मुद्दा हेर्दाहेर्दैमा जाँदा ६ गतेको सुनुवाइ १८ गते पुर्यायो इजलासले।

असार ६, २०८१ शुक्रबार १९:११:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।