जन्ती आएका २३ वर्षीय युवकको चक्कु प्रहारबाट ज्यान गयो, भारततर्फ भाग्न खोज्दै गर्दा एक पक्राउ

जन्ती आएका २३ वर्षीय युवकको चक्कु प्रहारबाट ज्यान गयो, भारततर्फ भाग्न खोज्दै गर्दा एक पक्राउ

काठमाडौं : सुनसरीमा २३ वर्षीय युवाको हत्या आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–४ का २४ वर्षीय गणेश यादव रहेको प्रहरीले जनाएको छ।

बुधबार दुहबी नगरपालिका–१२ का अक्लेशकुमार यादवको हत्या भएको थियाे। 

पक्राउ परेका गणेशले बहिनीको विवाहमा पाहुना भएर आएका अक्लेशलाई छुरा प्रहार गरी हत्या गरेकाे प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए।

उनले भने, ‘चक्कुबाट घाइते भएका अक्लेशको उपचार क्रममा मृत्यु भयो। सामान्य विवाद र भनाभनको विषयलाई लिएर गणेशले बुधबार राति १० बजेतिर अक्लेशमाथि चक्कु प्रहार गरी फरार भएका थिए। फरार भएपछि व्यापक खोजी गर्ने क्रममा भारततर्फ भाग्न खोज्दै गर्दा सुनसरीको लौकहीबाट बिहीबार पक्राउ गर्न सफल भयौं।’

अक्लेश आफ्ना ठूलो बुवाको छोरीको विवाहमा पाहुना भई आएका थिए। बिहे सकिएपछि गणेश र अक्लेशबीच सामान्य विवाद भएको थियो। दुवै जनाको विवादपछि मोटरसाइकल चढेर आफ्नो घरतर्फ जाने तयारी गरिरहेका अक्लेशलाई गणेशले बायाँ कोखामा चक्कु प्रहार गरेको खुल्न आएको प्रहरीले जनाएको छ। 

अक्लेशलाई तत्कालै उपचारका लागि नजिकै रहेको नोबेल शिक्षण अस्पताल लगिएकोमा उपचारकै क्रममा बिहीबार उनको मृत्यु भएको एसपी कार्कीले बताए।

पक्राउ परेका गणेशविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइने र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

असार ५, २०८१ बिहीबार २०:३९:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।