आफैं समानुपातिक प्रणालीबाट सांसद बनेका महतले भने- सबै प्रत्यक्ष निर्वाचनबाटै सांसद बन्नुपर्छ

आफैं समानुपातिक प्रणालीबाट सांसद बनेका महतले भने- सबै प्रत्यक्ष निर्वाचनबाटै सांसद बन्नुपर्छ

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले अव संविधान संशोधनको विषयमा प्रवेश गर्नुपर्ने बताएका छन्। 

बिहीबार लैंगिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्वोधन गर्दै उनले समावेशीता, समानुपातिकता प्रत्यक्ष निर्वाचनबाट मात्र सम्भव भएको भन्दै त्यसको लागि संविधान संशोधनको विषयमा प्रवेश गर्नुपर्ने बताए। 

उनले भने, ‘हाम्रो संविधानमा समानुपातिक र प्रत्यक्ष निर्वाचन प्रणाली छ। अहिले सभापतिले अधिवेशनमा त्यसलाई प्रवेश पनि गराइसक्नुभएको छ। अब हामीले संविधान संशोधनको विषयमा प्रवेश गर्नुपर्छ। समावेशीता, समानुपातिकता प्रत्यक्ष निर्वाचनबाटै हुनसक्छ। अब त्यस बाटोमा नेपाली काँग्रेसले अभियान छेड्नुपर्छ। राष्ट्रिय सहमति जुटाउनुपर्छ।’

उनले राजनीतिक क्षेत्रमा मात्र होइन अन्य क्षेत्रको सम्पूर्ण महिलाको अधिकारको लागि पनि लड्नुपर्ने बताए। 

समानुपातिक निर्वाचन प्रणालीमाथि प्रश्न गरेका महत गएको निर्वाचनमा आफैं समानुपातिक प्रणालीबाट सांसद बनेका नेता हुन्। कांग्रेसभित्र सभापति शेरबहादुर देउवा निकट मानिने महतले समानुपातिकमा नाम दर्ता गराउँदा समावेशीताको मर्ममाथि नै प्रहार भएको भन्दै आलोचनासमेत भएको थियो।  

असार ५, २०८१ बिहीबार १८:४१:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।