प्रधानमन्त्री दाहालद्वारा आफ्नो र राष्ट्रपति पौडेलको विदेश भ्रमणबारे सदनलाई जानकारी

प्रधानमन्त्री दाहालद्वारा आफ्नो र राष्ट्रपति पौडेलको विदेश भ्रमणबारे सदनलाई जानकारी

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो र राष्ट्रपति रामचन्द्र पौडेलको वैदेशिक भ्रमणबारे संघीय संसदलाई जानकारी गराएका छन्।

बिहीबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले सांसदहरुले उठाएको प्रश्नहरुको सम्बोधन गर्ने क्रममा आफ्नो भारत भ्रमण र राष्ट्रपति पौडेलको स्वीट्जरल्यान्ड र जर्मनी भ्रमणबारे जानकारी गराएका हुन्।

भारत भ्रमणका क्रममा आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपती मूर्मू, संघीय मन्त्री एस जयशंकर लगायतका उच्च पदस्थ अधिकारीहरुसँग औपचारिक भेट भएको प्रधानमन्त्री दाहालले बताए।

उनीहरुसँग नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पुर्याउनका लागि साझा चासोका विषयमा छलफल भएको उनको भनाइ छ। साथै प्रधानमन्त्री दाहालले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो समेत दिएका थिए।

यस्तै राष्ट्रपति पौडेलले स्वीट्जरल्यान्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठनद्वारा आयोजित ‘फोरम अफ द ग्लोबल कोलिसन फर सोसल जस्टिस’ कार्यक्रममा मुख्य वक्ताको रूपमा सहभागी हुनुका साथै संघीय गणतन्त्र राष्ट्रपतिको जर्मनीको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा गएको जानकारी गराए।

प्रधानमन्त्री दाहालले राष्ट्रपति पौडेलले स्वीट्जरल्यान्ड र जर्मनीका राष्ट्रपतिसँग भेटवार्ता गरेको जानकारी दिए। राष्ट्रपति पौडेलले दुवै देशका राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।

असार ५, २०८१ बिहीबार १२:३८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।