'५०० र १००० को नोट प्रतिबन्ध लगाए ८० प्रतिशत भ्रष्टाचार रोकिन्छ'

'५०० र १००० को नोट प्रतिबन्ध लगाए ८० प्रतिशत भ्रष्टाचार रोकिन्छ'

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले ८० प्रतिशत भ्रष्टाचार रोकिने दाबी गर्दै ५०० र १००० रुपैयाँका नोट प्रतिबन्ध लगाउन माग गरेका छन्। 

बुधबार प्रतिनिधिसभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उपसभापति गुरुङले ती नोटहरू प्रतिबन्ध गरियो भने मुलुकमा ८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुने, सोही अनुपातमा गैरकानुनी कारोबार रोकिने, आर्थिक सुशासन कायम हुने र ८० प्रतिशत राजस्व चुहावट नियन्त्रण हुने दाबी गरे। 

उनले भने,  ‘आर्थिक सुशासनका लागि मेरो प्रस्ताव हो यो–५ सय र हजारको नोट क्वीट गर्न सक्नुपर्दछ। सरकारमा बसेका साथीहरूलाई म यो निवेदन गर्न चाहन्छु सभामुख महोदय। आजको दिनमा यदि आर्थिक सुशासन सुशासन कायम गर्ने हो भने हामीले ५ सय र हजारको नोट अब क्वीट गरेर जान आवश्यक छ। यदि यी नोटहरू क्वीट गर्यौं भने ८० प्रतिशत गैरकानुनी कारोबार रोकिन्छ। ८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुन्छ। र, ८० प्रतिशत राजस्व चुहावट नियन्त्रण हुन्छ।’

सिरानीमुनि, खाटमुनि, जमिनमुनि र  पानीमुनि भएका सबै पैसा बाहिर ल्याउनका लागि पनि सरकारले ५ सय र १००० को नोटमा तत्काल प्रतिबन्ध लगाएपछि बाहिर आउने उनको तर्क छ। 

असार ४, २०८१ बुधबार १६:०५:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।